जनकपुरधाम । जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहोत्सवको आज मुख्यदिन विवाहपञ्चमी परेकोे छ । यसै दिनमा त्रेता युगमा अयोध्याका राजकुमार रामचन्द्र र जनकपुरकी राजकुमारी सीताको विवाह भएको मानिन्छ ।
सोही पौराणिक मान्यताका आधारमा मार्गशीर्ष शुक्ल पञ्चमीलाई विवाह पञ्चमी भनिदै आएको हो । राम, सीताको विवाह भएको सम्झनामा आज देशभर राम र सीताको पूजा आराधना गरी यो पर्व मनाइन्छ ।
धनुषाको जनकपुरधाममा आजको दिनलाई विशेष दिनका रुपमा मनाइन्छ । आज जनकपुरधाममा भगवान राम र सीताको विवाह महोत्सव आयोजना गरिन्छ । रामायण कथामा वर्णन गरिए अनुसार त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।
रामायणअनुसार जनकपुरधामको रंगभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई चेलीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।
महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रंगभूमिमा पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ ।
रंगभूमिमा स्वयंवर भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको डोला शोभायात्रामा मिथिला क्षेत्रसँगै विभिन्न स्थानलगायत भारतीय श्रद्धालुहरु समेत सहभागी हुने गर्छन् । प्रत्येक वर्ष झै जन्तीको रुपमा भारतबाट विशिष्ट पाहुना आउने कार्यक्रम यसवर्ष स्थगीत गरिएको छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दासले विवाहपञ्चमीमा विशिष्ट व्यक्ति आएपछि आम श्रद्धालु भक्तजनलाई सीतारामको वैवाहिक कार्यक्रमको सदृश्य हेर्न समस्या पर्ने भएकोले यस वर्ष विशिष्ट व्यक्तिलाई निमन्त्रणा नगरिएको बताए । यद्यपी यसवर्ष बागेश्वर धामबाट बागेश्वर बाबा आउने हल्ला चलेको थियो ।
सुरक्षा व्यवस्था कडा, सिसिटिभी र ड्रोनबाट निगरानी : जनकपुरधाममा आज विवाहपञ्चमी अन्तर्गत सीतारामको वैवाहिक हुँदैछ । यसै विवाहपञ्चमीलाई लक्षित गर्दै धनुषा प्रहरीले जनकपुरधाम नगरको सुरक्षा व्यवस्थालाई कडा गरेको छ ।
साताव्यापीदेखि नै विवाहको विभिन्न विधि भएसँगै भारत तथा नेपालका श्रद्धालु भक्तजनहरु आउने क्रम जारीछ । जसकारणले जनकपुरधाममा सीतारामको विवाह तथा दर्शनका लागि भक्तजनहरुको भिड बढ्ने क्रम जारी नै रहेको छ ।
यस विवाहपञ्चमी अवसरमा हुने समारोहमा सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउनका लागि सिसिटिभी र ड्रोन क्यामेराद्वारा जनकपुरधाम नगरका विभिन्न क्षेत्रमा निगरानी बढाइएको छ । धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले यस वर्ष घटनालाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई कडा पारिएको जानकारी दिए ।
विवाहपञ्चमीमा अत्यधिक संख्यामा भक्तजनको भिड हुने हुँदा चोरी र पाकेटमारीका घटनामा वृद्धि हुने सम्भावना रहेकाले जानकी मन्दिरदेखि रंगभुमि मैदानसम्म सिसिटिभी क्यामेरा, रंगभुमि मैदानमा ड्रोनका साथसाथै जानकी मन्दिरको प्रांगणमा पनि सिसीटिभि क्यामरा र ड्रोनले निगरानी गरिरहेको उनले बताए ।
उनले चोरी, पाकेटमारी, महिलामाथी हुने दुव्र्यवहारलगायतका घटना नियन्त्रण गर्ने उद्देश्यले सुरक्षा व्यवस्था कडा गरिएको बताए । सादा पोसाकमा महिला र पुरुष प्रहरी अत्यधिक संख्यामा परिचालन गरिएको छ ।
त्यस्तै राम मन्दिर, जानकी मन्दिरदेखि रंगभुमि मैदानसम्मका क्षेत्रलाई विशेष ध्यानमा राख्दै शिवचोक, गंगासागर, जनक चोक, जानकी चोक, राम चोक, सोनारपट्टी, महावीर चोक, रामानन्द चोक, अस्पताल रोड, पेठिया बजार क्षेत्र, संकटमोचन मन्दिरलगायतका क्षेत्रमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । भने प्रहरीले विभिन्न स्थानमा हेल्प डेस्कको समेत स्थापना गरिएको छ ।
यस्तो छ ट्राफिक व्यवस्थापनः विवाहपञ्चमी महामहोत्सवमा सहभागी हुन जनकपुरधाम आउने बाह्य तथा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । जनकपुरधामका प्रायः चोक भरिभराउ भएका छन् ।
यसैबीच, विवाहपञ्चमी महामहोत्सवमा हुने भीडभाडलाई दृष्टिगत गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले बाहिर जिल्लाबाटसमेत ट्राफिक जनशक्ति मगाएर व्यवस्थित गर्ने योजना बनाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक शेखर साहले जानकारी दिए ।
उनले ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउने योजना रहेको बताए । प्रहरी निरीक्षक साहले जनकपुरधाम नगरभित्र आइतबार ठुला सवारी साधनहरुलाई प्रवेश निषेध गरिएको बताए ।
साहले पूर्वबाट जनकपुरधाम आउने सवारी साधनहरुलाई कपिलेश्वर बसपार्क र पूलचोकमा रोकेर पैदलयात्रीलाई मात्र नगरमा प्रवेश गराइने जानकारी दिए । त्यस्तै, पश्चिमबाट आउने सवारी साधनलाई बलवा प्रहरी चौकी र आखाँ अस्पतालको अगाडिको एरियामा, दक्षिणबाट आउने सवारी साधनहरुलाई नयाँ बसपार्कभित्र र नअटेको खण्डमा बसहियाको सिक्सलेन सडक खण्डमा पार्किंगको व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।
जटहीबाट आउने सवारी साधनहरुलाई कुवा रामपुर बजारमा तथा नअटेको खण्डमा प्रदेशसभा भवनको अगाडि भागमा रहेको खाली ठाउँमा व्यवस्थापन गरिने प्रहरी निरीक्षक साहले बताए । उनले उत्तरबाट जनकपुरधाम आउने सवारी सधानहरुलाई मुजेलियास्थित कवर्ड हलमा पार्किंगको व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।
प्रहरी निरीक्षक साहले नगरभित्र इ–रिक्सा, अटोरिक्सा तथा मोटरसाइकलहरुलाई जानकी मन्दिर आसपासको एरियामा प्रवेश नगर्न आग्रह गर्दै रामानन्द चोक र बजरंग चोकमा ब्यारिकेट लगाएर नगरभित्र प्रवेश गर्न नदिइने जानकारी दिए । उनले महावीर चोक, भैरव चोक र अदालत मोडमा पनि ब्यारिकेट लगाएर नगरभित्र प्रवेश निषेध गरिन बताउँदै कदम चोक, भानुचोक र शिवचोक तथा संकटमोचन मन्दिरको अगाडिको मोड, थापा चोक र शहीद चोकमा पनि ब्यारिकेट लगाएर साना सवारी साधनको प्रवेशमा रोक लगाइने जानकारी दिएका छन् ।
सीतारामको आकृति तयार
सीताराम विवाह महोत्सवका अवसरमा रंगभूमि मैदानमा दश हजार स्क्यावर फिटको सीतारामको आकृति तयार भएको छ ।
पाँच दिनमा आकृति तयार भएसँगै यसमा प्रयोग गरिएको अनाजलाई सदुपयोगमा ल्याउनसमेत सरोकारवाला पक्ष गम्भीर देखिएका छन् । सीताराम आकृति तयार भएपछि यसको दर्शनका लागि समेत आम जनमानसलाई निमन्त्रणा गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले सीतारामको आकृतिमा प्रयोग गरिएको अनाजलाई सदुपयोग गर्ने बताएका छन् ।
जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख साहले एक सय क्वीन्टल भन्दा बढी अन्नको प्रयोग गरिएको प्रति चिन्ता व्यापकरुपमा उठिरहेको भन्दै उनले यस अन्नको सदुपयोग गर्नका लागि लागिपरेको बताए । उनले भने, ‘धार्मिक स्थलको रुपमा रहेको जनकपुरधाम सीता माताको गृहनगर रहेकाले हामीले विभिन्न संघसंस्था तथा विभिन्न व्यक्तिहरुको सहयोग र संयोजन तथा समर्थन पाएपछि सीतारामको आकृतिमा बनाउन अभिप्रेरित भएका हौँ,’ उनले भने, ‘अन्नलाई कसरी प्रयोग गर्ने भन्नेमा हामी लागिपरेका छौँ, त्यसैले यस विषयमा नकारात्मक टिकाटिप्पणी भन्दा पनि अहिले सकारात्मक कामका लागि सबैसँग सहयोग माग्दै सफल पार्नका लागि आग्रह गर्दछौँ ।’
नगर प्रमुख साहले यो प्रतिमा विश्व सम्पदाको सूचीमा ल्याउनका लागि पनि पहलकदमी भइरहेको बताउदै सीतारामको प्रतिमा करिब एक सातासम्म रहने भएकाले यसको सुरक्षा घेरामा नगर प्रहरी र नेपाल प्रहरीसमेत सुरक्षा प्रबन्धको व्यवस्थामा सहयोग गर्ने जनाए ।
सीतारामको प्रतिमा बनाउनका लागि संयुक्त खाता खोलेर नगरवासी तथा सहयोगी दाताहरुबाट रकम संकलन गरी काम गरेको र सीतारामको आकृति बनाउनमा सहयोग गर्ने सतिश गुज्जर र गुनगुन मिश्रालाई विशेष धन्यवादसमेत दिए ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले सीतारामको आकृति तयार भइसकेकाले शनिबारदेखि नगरवासी, श्रद्धालु भक्तजनलगायत सबैमा दर्शनका लागि अपिलसँगै निमन्त्रण दिए । उनले ८० प्रतिशत अन्न खेरजान नदिने योजना रहेको भन्दै प्रयोग भएको अन्नलाई सदुपयोग गरिने बताए । खेर जानबाट बचेको अन्नलाई जोगाएर विभिन्न आश्रममा सहयोगसँगै बितरण गर्ने योजना रहेको उनले बताए । उनले यस सीतारामको आकृति बनाउनका लागि स्थानीय व्यापारी तथा व्यवसायीसमेतको भरपुर सहयोग रहेको जानकारी दिए ।
निर्देशक तथा कलाकार सतिश गुज्जरले १० हजार स्क्वायर फिटमा सितारामको आकृति बनाउनका लागि पाँच दिन लागेको बताए । एक सय एक क्विन्टल भन्दा बढी पाँच किसिमको अन्नको प्रयोग गरिएको उनले बताए ।
जनकपुर
प्रतिक्रिया