काठमाडौं । थमन विक प्रकरणमा नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन् । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका कोइरीलाई जिल्ला अदालत महोत्तरीले सफाइ दिने निर्णय सुनाएको हो ।
कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका छन् । न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासमा गत सोमबारदेखि निरन्तर सुनुवाइ भइरहेको थियो । सशस्त्र प्रहरीका असई थमन विकको हत्यासम्बन्धी यस मुद्दामा सांसद कोइरीसहित २८ जना अभियुक्त थिए ।
तीमध्ये ७ जना अभियुक्तलाई भने कर्तव्य ज्यान मुद्दामा जन्मकैद र आगो लगाएको कसुरमा थप ६ महिना कैद कैद सजाय हुने भएको छ । यो सजाय पाउनेमा सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, शंकर शाही भन्ने रामशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र राय रहेका छन् ।
अभिराम शर्मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका मधेस प्रदेशका सांसद हुन् । उनीहरू महोत्तरी ३ (१) बाट निर्वाचित भएका हुन् । रामशंकर मिश्र जलेश्वर नगरपालिकाका प्रमुख हुन्।
जिल्ला अदालत महोत्तरीकी स्रेस्तेदार नूतन झाका अनुसार, उनीहरूबाट १० लाख रूपैयाँ क्षतिपूर्ति पनि भराउने फैसला भएको छ । १९ जना फरार प्रतिवादीका हकमा मुद्दा मुल्तबीमा राखिएको छ । उनीहरू पक्राउ परे वा सम्पर्कमा आएमा मुद्दा ब्युँतिनेछ ।
मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको जलेश्वरमा एम्बुलेन्सबाट निकालेर हत्या गरिएको थियो ।
प्रतिक्रिया