लागुऔषध चरेस र गाँजासहित दुई जना पक्राउ

बारा । बारा प्रहरीले लागुऔषध चरेस र गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेक पोस्टबाट बा १४ च ३७०८ नं. को मारूती सुजुकी कार चेक जाँच नगराई फरार रहेको भनी सूचना प्राप्त भएपछि जाँच गर्ने क्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरिमाईस्थित जंगलमा गाडी लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

चेकजाँचको क्रममा सो गाडीबाट २६ किलो ८ सय ग्राम अबैध लागुऔषध चरेस/गाँजा बरामद भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । पक्राउपर्नेमा कारचालक भरतपुर महानगरपालिका–२७ बस्ने ४२ वर्षीय रोशन बहादुर दमई र कारमा सवार जिल्ला चितवन माडी नगरपालिका–६ बस्ने ५२ वर्षीय देवनारायण महतो रहेको प्रहरीले जनाएको छ । सवारीसहित दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया