विवाहपञ्चमीको दोस्रो दिन फूलबारी लीला मनाइयो

जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन बुधबार फूलबारी लीला मनाइएको छ । फूलबारी लीलामा राम र लक्ष्मणलाई पुष्पवाटिकामा घुमाउने गरिन्छ । बुधबार साँझ जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपको फूलबारीमा राम र लक्ष्मणलाई अवलोकन गराइएको छ । यसमा राम र लक्ष्मण र जानकी स्वरूप बनाइएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन रहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दासले जानकारी दिए ।

त्रेता युगमा गुरु विश्वामित्रसहित धनुष यज्ञमा अयोध्याबाट मिथिलाको राजधानी जनकपुरधामा भाग लिन आएका राम र लक्ष्मण फूलबारीमा घुम्न जाँदा राम र सीताको नजर एकअर्कामाथि परेको किम्बदन्ती छ । जहाँ राम र जानकी एक अर्काप्रति आकर्षित भएको र जानकीले आफूलाई रामजस्तै वर पाउन कामना गरेको भन्ने मान्यता छ ।

सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन मंगलबार राम र लक्ष्मणलाई जानकी मन्दिर परिसरमा नगर दर्शन गराइएको थियो । बिहीबार तिल्कोत्सव रहेको छ । त्रेता युगामा भएको मर्यादा पुरुषोत्तम भगवान् राम र आदर्श नारी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा धुमधामसँग विवाहपञ्चमी पर्व मनाइन्छ । यस वर्ष मंसिर २६ गतेबाट सुरु भएको विवाहपञ्चमी पुस २ गतेसम्म चल्नेछ ।

यस्नै बिहीबार धनुष यज्ञ, मंसिर २९ गते तिल्कोत्सव, मंसिर ३० गते राम र जानकीको मटकोर र पुस १ गते विवाहपञ्चमी मुख्य दिन रहेको छ । विवाहपञ्चममीमा जन्तीको रूपमा आएका साधुसन्तको पुस २ गते बिदाइ गरी (रामकलेवा) गरी विधिवत रूपमा सीताराम विवाहपञ्चमी महोत्सव समापन हुने छ ।

प्रतिक्रिया