उत्पादन र स्वरोजगार समृद्धिको आधार : नगरप्रमुख थापा

अर्घाखाँची । स्थानीय स्रोत साधनको उचित प्रयोग गरी स्वरोजगारबाट नै समृद्ध बन्न सकिने भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापाले बताए । नगरले विकास र उत्पादनसँग जोडने कार्यक्रमलाई प्राथमिकताका साथ योजनाबद्ध तवरले विभिन्न कार्यक्रमहरू अगाडि बढाएको भन्दै प्रमुख थापाले ३० दिने मकैको पोस्कर र थाकलको पातबाट हस्तकलाका सामान तयार गर्ने तालिमको समापनमा बोल्दै नगरप्रमुख थापाले यस्तो बताएका हुन् ।


नगरप्रमुख थापाले भने, ‘स्थानीय बेरोजगार शक्तिको अभिलेख तयार गरी, सबै बेरोजगार लाई रोजगार उत्पादन, र आर्थिक विकास गर्ने मुख्य उद्देश्य लिई कर्मशील जनशक्ति कार्यक्रम अगाडि बढाएका छौँ, केही रोपनी जग्गा नगरले लिई उत्पादन कार्य सुरु गरेका छौँ, मकैका पोस्कर र थाकलबाट टोपी तथा झोलालगायत विभिन्न बस्तु उत्पादन गर्ने कार्य सुरु भएको छ, यसले उत्पादनसँगै स्वरोजगार पनि हुनेछन् ।’

सबैलाई उत्पादनमा जोडेर भूमिकास्थान नगरपालिकालाई समृद्ध नगरपालिका बनाउने अभियानमा लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्यले बताए । सुकेको पोस्करकै प्रतिकिलो १ सय ५० रुपैयाँ र पोस्करबाट बनेको टोपी प्रतिथान ६ सय र झोला प्रतिथान पाँच सयमा बिक्री हुन थालेपछि स्थानिय जनतामा ऊर्जा र थप उत्साह अएको आचार्यले बताए । प्रमुख प्रशासकीय आचार्यले भने, ‘हामीहरूले आर्थिक विकास र रोजगारमा जोड्ने विभिन्न कार्यक्रम बनाएका छौँ स्थानीय जनताको राम्रो साथ सहयोग हँुदै आएको छ सबै पक्ष कार्यक्रमलाई प्रभावकारी बनाउन लाग्न आवश्यक छ ।’

मकैको भन्दा पोस्करको खोस्टाले मूल्य पाउन थालेपछि अर्घाखाँचीको भूमिकास्थान नगरपालिको अतिरिक्त आम्दानी हुन थालेको छ । आफनै बारीमा फलेको मकैबाट निस्किएको पोस्करबाट मूल्यवान हस्तकलाका समानहरूबाट आम्दानी हुन थालेको स्थानीय रामप्रसाद भट्टराईले बताए ।

भूमिकास्थान नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि नयाँ कार्यक्रमको रूपमा ल्याएको कर्मशील परिचालन कार्यक्रमअन्तर्गत पहिलो चरणमा बाँझो जग्गामा व्यावसायिक खेती कार्यक्रम सञ्चालनसँगै दोस्रोे चरणमा पोस्कर र थाकलको पातबाट हस्तकलाका सामान तयार गर्ने जनशक्ति उत्पादन गरेको र उक्त तालिम नगरभित्रका सय जना कर्मशीललाई ३० दिनको तालिम दिएको नगरपालिका योजना तथा कार्यक्रम शाखा प्रमुख सूचना अधिकारी हरिशचन्द्र भुसालले बताए ।

सीप र उद्यमसँग जोड्न तालिम निकै प्रभावकारी भएको हँुदा यसको प्रत्यक्ष आर्थिक विकासमा समेत हुने र सबैले देखिने र परिणाम आउने कार्यक्रम अगाडि बढेको कम्प्युटर अधिकृत शेषकान्त घिमिरेले बताए । ओम श्री मल्टी एग्रो प्रालि काठमाडांैले तालिमको सहजीकरण गरेको र उत्पादित बस्तुको उचित मूल्यमा बजारीकरण गर्ने सम्झौता गरी कार्यक्रम अगाडि बढेको लेखाअधिकृत जुना पाण्डेले बताइन् ।

यसरी तालिम प्राप्त कर्मशीलले संकलन गर्न भूमिकास्थानको कोशेलीघर स्थापना गरी बजारीकरण गरिने र कर्मशील जनशक्तिमार्फत तयार हुने उपजको बजारीकरण ग्यारेन्टी भएसँगै नगरपालिकाको आम्दानी बढ्ने, स्वरोजगारको सिर्जना हुने बसाइँसराइ रोकिने आर्थिक विकास र आत्मनिर्भर हुनेसमेत कार्यक्रमको उद्देश्य रहेको छ ।

प्रतिक्रिया