गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउँदाको पीडा

रूपन्देहीको भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिआइए) निर्माण सम्पन्न भई उद्घाटन गरिएको २०७९ जेठ २ गते हो । तर विमानस्थलबाट अहिले एउटा पनि नियमित अन्तर्राष्ट्रिय उडान छैन । जिआइएबाट सुरूमा कुवेतको जजिरा एयरलाइन्सले सातामा तीन वटा उडान गरेको थियो । त्यसको केही समयपछि हिमालय एयरलाइन्सले पनि चार्टर्ड उडान सुरू गरेको थियो । अहिले दुबै एयरलायन्सले उडान रोकेका छन् । नेपाल एयरलाइन्सले पनि अहिले ट्रान्जिट उडान मात्र गरिरहेको छ । उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि जिआइएले प्रतिफल दिन त परै जाओस् उल्टै हरेक महिना राज्यलाई व्ययभार थप्दै लगेको छ । चीनको सहयोगमा निर्माण गरिएको निहुँ झिकेर भारतले रुट परमिट लगायतमा अवरोध सिर्जना गरेका कारण पर्यटक बोक्ने अन्तर्राष्ट्रिय उडान हुन नसकेको हो । तर वैदेशिक रोजगारीमा जाने आउने स्वदेशी यात्रुलाई लक्षित गर्ने हो भने पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मज्जाले सञ्चालनमा आउन सक्थ्यो । दुर्भाग्यबस श्रम स्वीकृति कार्यालय, भिसा सेन्टर, मेनपावर कार्यालय, रोजगार तालिम केन्द्र, स्वास्थ्य परीक्षण केन्द्र लगायतका आवश्यक संरचना अझै तयार नभएका कारण कुवेतको जजिरा एयरलाइन्सले समेत यात्रु नपाएर उडान रोकिदयो । विमानस्थलमा नियमित उडान नहुनुमा भारतको षड्यन्त्र मात्रै नभएर नेपालको नीति निर्माण तहमा रहेका कर्मचारी तथा राजनीतिकर्मीहरूको समेत मिलिभगत हो कि जस्तो देखिएको छ । एकातिर काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताले नभ्याएका कारण विदेशी पर्यटक बढ्न सकेका छैनन् भने अर्कातिर वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल सुख्खाराम भएर बसेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुन नसक्दा राज्यलाई बर्सेनि एक अर्ब रुपैयाँभन्दा बढी व्ययभार थपिएको छ । तर यो भन्दा पनि ठूलो संकटमा निजी क्षेत्रका व्यवसायी परेका छन् । लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थालिएस“गै निजी क्षेत्रका व्यवसायीहरूले पनि होटल, रेस्टुरेन्ट, केबुलकार, सपिङ मललगायत पर्यटकीय पूर्वाधारमा अर्बौं रुपैयाँ लगानी गरे । ती पूर्वाधारहरू अहिले सम्पन्न भइसकेका छन् । तर अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान नभएका कारण ती पूर्वाधारबाट व्यवसायीहरूले ठूलो नोक्सानी बेहोरिरहेका छन् । पहिलो कुरा त २०७४ सालमै निर्माण सम्पन्न हुनुपर्ने विमानस्थल पाँच वर्ष ढिलो अर्थात २०७९ सालमा मात्रै निर्माण सम्पन्न भएका कारण निजी क्षेत्रका व्यवसायीहरूले ठूलै नोक्सानी बोहोरिसकेका थिए । दोस्रो कुरा उद्घाटन भएको डेढ वर्ष बित्दासमेत नियमित उडान हुन नसकेकोले व्यवसायीहरूले भोग्नुपरेको नोक्सानी सानो छैन । सरकारले आफ्नो पीडालाई सम्बोधन नगरेको भन्दै रूपन्देहीका व्यवसायीहरू यतिबेला आन्दोलनमा छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने हवाई सेवा कम्पनीहरूलाई विभिन्न सहुलियत दिने घोषणा सरकारले गरिसकेको छ । तैपनि विमान कम्पनीहरू आकर्षित छैनन् । यसको मुख्य कारण यात्रु नपाउनु हो । भारतले रुट परमिट लगायतका विषयमा बखेडा झिकुन्जेल यो विमानस्थलबाट पर्यटकीय उडान गर्न सजिलो छैन । तर वैदेशिक रोजगारीमा जानेआउनेहरूका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने हो भने गैरपर्यटक यात्रु पाउन गारो छैन । किनकी दैनिक १५ सय युवा वैदेशिक रोजगारीमा जान्छन् । त्यसमध्ये आधा संख्याले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने अवस्था बनाउने हो भने पनि दैनिक तीन वटा अन्तर्राष्ट्रिय उडान हुन सक्छन् । यति भयो भने पनि यस क्षेत्रका होटल व्यवसायीहरूले अहिलेको जस्तो पुर्पुरोमा हात लगाएर बस्नुपर्ने छैन । श्रम स्वीकृति कार्यालय, भिसा सेन्टर, मेनपावर कार्यालय, रोजगार तालिम केन्द्र, स्वास्थ्य परीक्षण केन्द्र लगायतका संरचना सञ्चालनले मात्रै पुग्ने अवस्था छैन । यतिबेलाको अर्को समस्या भनेको नारायणगढ–बुटवल सडकखण्ड बिस्तारमा भइरहेको अकल्पनीय ढिलाइ हो । बिस्तारका नाममा सडक भत्काइएकोले १ सय १० किलोमिटरको यो दुरी पार गर्न अहिले कम्तिमा पनि पाँच घण्टा लाग्ने गरेको छ । यो अवस्था रहुन्जेल बुटवलभन्दा पूर्वबाट वैदेशिक रोजगारीमा जाने आउनेहरूले चाहेर पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न सक्ने अवस्था छैन । वैदेशिक रोजगारीमा जानेमध्ये ७० प्रतिशतभन्दा बढी बुटबल पूर्वका छन् ।

प्रतिक्रिया