सुदूरपश्चिमको विकास सरकारको पहिलो प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमको विकास सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । शुक्रबार कैलाली उद्योग वाणिज्य संघको आयोजनामा भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन कार्यक्रमा बोल्दै उनले कार्यक्रम बनाउँदा सहमति गर्दा आफ्नो दिमागमा सुदूरपश्चिम प्रदेश आउने गरेको बताए ।

उनले भने, ‘चाहे चीन जाँदा होस् चाहे भारत जाँदा होस् कार्यक्रम बनाउँदा सहमति बनाउँदा मेरो दिमागमा पहिला आउने सुदूरपश्चिम नै हो ।’ पहिला दुई कार्यकालमा पूर्वाधार विकास नाका खोल्न लगातार प्रयास गरेको बताउँदै उनले भने, ‘तेस्रो कार्यकालमा प्रधानमन्त्रीको हैसियतमा गएर सबैभन्दा धेरै कार्यक्रम गरेको छु भने त्यो सुदूरपश्चिमै नै हो ।’

प्रधानमन्त्री दाहालले भारत भ्रमणमा जाँदा दोधारा चाँदनी सुख्खा बन्दरगाहा बारे ठोस सहमति भएको र निर्माण प्रकृया अघि बढ्ने बताए । उनले पञ्चेश्वर जलविद्युत आयोजना पनि छिट्टै अगाडि बढ्ने बताए । उनले भने, ‘दुवै देशका प्राविधिक र पदाधिकारी बसेर डिपिआरलाई अन्तिमरुप दिइएको छ, मलाई लाग्छ केही दिनमा घोषणा हुने छ र पञ्चेश्वर अगाडि बढ्ने छ ।’

‘भारत जाँदा सुदूरपश्चिम नै बढी मेरो दिमागमा आउने भएकाले बैतडीको झुलाघाट र डडेल्धुराको पर्शुराममा महाकाली नदीमा मोटरेबल पुल अनुदानमा बनाउने निर्णय गरेको कुरा यहाँहरुलाई थाहा नै छ’, प्रधानमन्त्री दाहालले भने, ‘त्यसले सुदूरपश्चिमका जनताको आर्थिक विकासका गतिविधिमा ठूलो योगदान पुर्याउने मैले विश्वास लिएको छु ।’

त्यस्तै कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले गेटालाई विश्वविद्यालय बनाउने निर्णय क्याविनेटबाट भएको र अहिले विधेयक तयार भएर सदनमा प्रस्तुत गरिने बताए । उनले भने, ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यायको विधेयक संसदमा प्रवेश गरिसकेको छ,छिट्टै विधेयक पारित गरेर कक्षा र अस्पताल सञ्चालन गर्न सक्ने स्थितिमा पुग्नेछौँ ।’

‘यो विश्वविद्यालय स्थापना भएसँगै एकातिर प्राज्ञिकरुपमा विश्वमै प्रतिष्पर्धा गर्ने किसिमले स्वास्थ्य विज्ञान अध्ययनको हब सुदूरपश्चिम बन्नेछ’, उनले थपे, ‘विश्वविद्यालयभित्र ६ सय बेडको अस्पताल र वरिपरिका सामुदायिक अस्पतालहरु शिक्षण अस्पतालकोरुपमा स्तरोन्नति हुने छन् ।’

उद्घाटन कार्यक्रमा आयोजकले प्रधानमन्त्री दाहाललाई सुदूरपश्चिम प्रदेशको समग्र विकासका १० बुँदे माग राख्दै १० किलोको माला लगाइएको थियो । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारबाट सुरु भएको महोत्सव आगामी पुस २ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया