महोत्सवमा प्रधानमन्त्री दाहाललाई लगाइयो १० किलोको माला

धनगढी । सुदूरपश्चिम महोत्सवको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १० किलोको माला लगाइएको छ । शुक्रबार महोत्सव उद्घाटन कार्यक्रममा आयोजक कैलाली उद्योग वाणिज्य संघले १० बुँदे माग राख्दै प्रधानमन्त्री दाहाललाई १० किलोको माला लगाएको हो ।

संघले २१ बुँदे मागसहित सुरु गरेको महोत्सवमा हालसम्म ६ वटामाग आंशिक पूरा भएको, ५ वटा माग पूरा भएकोले १० बुँदे मागसहित १० किलोको माला लगाएको हो । महोत्सवको सुरुवातदेखि नै प्रमुख अतिथिलाई माग बराबरको माला लगाउँदै आएको छ ।

गौरीफन्टा त्रिनगर भन्सार नाकालाई सुविधासम्पन्न अन्तराष्ट्रिय नाकाको रुपमा विकास गरिनुपर्ने, प्रदर्शनी स्थलको निर्माण गरिनुपर्ने, उद्योग स्थापनार्थ प्रोत्साहन स्वरुप ट्याक्स फ्रि जोन धोषणा, विशेष औद्योगिक क्षेत्र स्थापना र विशेष औद्योगिक प्याकेजको व्यवस्था गरिनु पर्ने माग रहेका छन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेशलाई चीनसँग जोड्ने नाका खुलाउनुपर्ने, पश्चिम सेती जलविद्युत आयोजना निर्माण, कृषि विविद्यालयको स्थापना,प्रदेश सांस्कृतिक संग्रहालय निर्माण गरिनुपर्ने, सूचना प्रविधी केन्द्र स्थापनालगायतका माग रहेका छन् । २०६३ सालदेखि कैलाली उद्योग वाणिज्य संघले सञ्चालन गर्दै आएको सुदूरपश्चिम महोत्सवको यो १७औँ संस्करण हो । महोत्सव आगामी पुस २ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया