जनयुद्धकालको झझल्को दिने गरी जग्गा कब्जा !

झण्डा गाडेर जग्गा कब्जाको प्रयास, घटना बाहिर आएपछि उखालेर फालियो

रौतहट । जनयुद्धकालको झझल्को दिने घटना यति बेला मधेस प्रदेशमा घटेको छ । जनयुद्धको समयमा झण्डा गाडेर जग्गा कब्जा गरेको घटनाहरू सुनिन्थ्यो । आजकल पनि यस्तो घटना हुन सक्छ भनी कसैले कल्पना पनि गर्न सक्दैनन् । तर, मधेस प्रदेशको रौतहट जिल्लामा यस्तो घटना घटेको छ । जिल्लाको माधवनारायण नगरपालिकामा यस्तो भएको हो । सो नगरपालिकाको वडा–७ मा लौकाहामा यस्तो घटना घटेको हो । खेतमा झण्डा गाडेको करिब एक महिनापछि उखालेर फालिएको छ ।

सो टोलका स्थानीय व्यक्तिको जग्गा कब्जा गर्ने उद्देश्यले हँसिया हथौडा अंकित झण्डा गाडेर करिब नौ कठ्ठा जग्गा कब्जा गर्ने प्रयास भएको छ । तर, प्रशासनले थाहा पाएपछि झण्डा उखलेर फालिएको छ । दुर्गाभगवती गाउँपालिका–२ घर भएका विनोद महतोले (साविक गाविस पिपरा रजवाडा–२) हाल माधवनारायण नगरपालिका–७ घर भएका किसुनी महतो नुनिया र धनपत महतो नुनियासँग पिपरा रजवाडा गाविस–१ मा रहेको कित्ता नम्बर ८११ को ससिम ८ कठा ८ धुर जग्गा २०७४ साउन २० गते संयुक्त रूपमा नामसारी पास गरेका थिए ।

उक्त संयुक्त जग्गा धनीद्वयले २०७५ मंसिर १ का दिन कित्ता नम्बर ८११ लाई कित्ताकाट गरी ११३७ को चार कठ्ठा जग्गा माधवनारायण नगरपालिका–७ का सुमित्रा देवी र ११३८ को ४ कठा ८ धुर जग्गा राजिन्द्र नायक सुधीको नाममा रजिस्ट्रेसन पास गरेर राजीनामा गरिदिएको थियो । तर माधवनारायण नगरपालिका–७ का बासिन्दा तत्कालीन माओवादी कार्यकर्ता रामनाथ माझीले आफनो जग्गा भन्दै विभिन्न समयमा वादविवाद खडा गर्दै आएको र २०८० कात्तिक १८ गते दुबै कित्ता जग्गामा हँसिया हथौडा लोगो अंकित रातो झण्डा उक्त जग्गामा गाडेर मसुरो, तोरी बाली लगाइएको जग्गा कब्जाको प्रयास गरेको देखिएको छ ।

दुवै जग्गाधनीले आफ्नो जग्गालाई माओवादीको दलित नेताद्वारा झण्डा गाडेर जग्गा कब्जा गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षाको साथै जग्गा खाली गराई पाउँ भनेर लिखित उजुरी दिए । जिल्ला प्रशासन कार्यालय रौतहटले सक्कल उजुरी पत्रलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौरमा पठाएको थियो । जिल्ला प्रहरी कार्यालयमा छलफल गरियो तर सहमति हुन सकेन । अहिलेको समयमा पनि झण्डा गाडेर जग्गा कब्जा गर्ने नौलो विषय भएको पीडित जग्गा धनी सुमिन्त्रा देवीको छोरा रविन्द्र महतो नुनियाले पत्रकारहरूसमक्ष गुनासो गरे ।

उक्त जग्गामा झण्डा गाडिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयलाई तत्काल झण्डा हटाई झण्डा गाड्ने व्यक्तिलाई नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले आदेश दिएपछि प्रहरीले बुधबार साँझ उक्त जग्गामा गाडिएको झण्डालाई हटाइएको पीडित जग्गाधनीले बताए । यस्ता गैरकानुनी क्रियाकलाप गर्नेलाई हदै सम्मको कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ । यता प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आजको समयमा यस्तो घटना हुन्छ भन्ने कल्पना पनि गर्न सकिँदैन । यो मिटर ब्याजसँग सम्बन्धित घटना हो । अज्ञात व्यक्तिले झण्डा गाडेका थिए । त्यो उखलेर फालिएको छ । त्यसो हो भने झण्डा गाड्ने व्यक्तिलाई समातेर कानुनको दायरमा ल्याई कसुर अनुसारको कारबाही गरिने बताएका छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया