रुकुम पश्चिम । पश्चिम नेपालमा भुकम्प गएको शनिबार एक महिना पुरा भएको छ । ठिक एक महिना अघि गत कात्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रबिन्दू बनाएर ६ दशमलव ४ म्याग्नेच्यूडको भूकम्प गएको थियो । कात्तिक १७ को ठुलो भूुकम्प पछि पराकम्पन्न जाने क्रम भने अझै रोकीएको छैन । कात्तिक १७ पछि एक हजार बढी पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प र त्यसपछिका लगातारका पराकम्पले ठूुलो धन जनको क्षति भएको छ भने सर्वसाधारणमा अझै त्रास घटेको छैन ।
गृह मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म १ सय ५३ जनाको मृत्यु पुष्टी भइसकेको छ भने करिब चार सय घाइते भएका छन् । अझै कयौ त्रासमा रहेका छन् । पूर्ण र आशिंक गरी झण्डै ६२ हजार घर ध्वस्त भएको छ । विविभन्न स्थानमा पीडितले अझै आवास पाउन सकेका छैनन् । भने विद्यालय लगायत विभिन्न संघ सस्था पालमुनिबाट सेवा सञ्चालन गरिरेका छन् । भुकम्प गएको एक महिना बिते पनि सरकारी तवरबाट पुनस्थापनाका काम प्रभावकारी रुपमा हुन नसकेको पीडितको गुनासो रहेको छ ।
जाजरकोट भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१ रामीडाँडा सिर्पाचौरका स्थानीय ५१ वर्षीय भूमिलाल घर्ती भन्छन, बर्षौंदेखि बसिआएको पुर्ख्यौली घरका भित्ताहरू भूकम्पले चिरा पा¥यो । अहिले ठडिएको घर छ, तर त्यही घरमा फर्किने अवस्था छैन् । ‘बाहिर पाल मुनि सुत्दा बिहान उठ्ने बेलामा ओढेको कपडा भिझेको हुन्छ । अनि देखि–देखि ‘अब त्यहि चर्केको घरमा फर्किएर बस्ने कसरी ? हाम्रो ६ जनाको परिवार छ । कसैलाई केही भएको छैन, तर घरभित्र बस्ने अवस्था छैन् ।’ भुमिलाल जस्तै जाजरकोट र रुकुम पश्चिमका ६० हजार मानिस बिचल्लीमा परेका छन् । सबैलाई चिसोबाट कसरी बच्ने ? भत्किएका र चर्किएका घर भित्रबाट अन्नपात कसरी निकाल्ने भन्ने चिन्ता छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ का महेश मल्लको पनि अवस्था भूमिलालको जस्तै छ । महेश भन्छन, ‘लाखौँ रुपैयाँ खर्चेर नयाँ घर निर्माण गरेको थिएँ । भुकम्पले भत्काई दियो । मानवीय क्षति भएको छैन । त्यहि सम्झेर चित्त बुझाउने काम गरिरहेको छु ।’ भुकम्प गएको एक महिना पुगिसक्दा पनि पालमुनि नै पिडितले मंसिरको चिसोमा रात कटाउनु परेको छ । अस्थायी आवास निर्माणमा सरकारले ढिलासुस्ती गरेपछि भुकम्प पीडितहरू मर्कामा परेका छन् ।
६० हजार घर बाहिरै
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार भूकम्पका कारण जाजरकोटमा ३४ हजार ५ सय १ र रुकुम पश्चिममा २६ हजार ९ सय ९ घर पूर्ण रूपमा भत्किएका छन् । कार्यालयका अनुसार कर्णालीभरी झन्डै ६२ हजार परिवार प्रभावित भएका छन् । मंसिरको चिसोमा भूुकम्पपीडितलाई थप सकस भएको छ । ४० हजार मानिस चिसोको उच्च जोखिममा रहेका छन । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार; पाँच वर्षमुनिका बालबालिका , गर्भवती, सुत्केरी र दीर्घ रोगी गरेर ४० हजार भूकम्प पीडित अझैँ चिसोमा पाल मुनि छन् ।
निर्देशनालयका अनुसार उच्च प्रभावित संख्या २८ हजार ५ सय ७८ जना जाजरकोट र ११ हजार ७ सय २५ रुकुम पश्चिममा रहेका छन् । जसमध्ये ५ वर्ष मुनिका बालबालिका , गर्भवती महिला, सुत्केरी महिला २० हजार ७ सय ९३ र वृद्धवृद्धा ११ हजार २ सय ०६ र दिर्घरोगी २ हजार ८ सय ५८ रहेका छन् । एक महिनादेखि त्रिपालमुनि बसिरहेका भुकम्प पीडितहरू मंसिरको चिसोका कारण झन् समस्यामा परेका छन् । धेरैजसो पीडितहरूमा निमोनिया, रुघाखोकी, ज्वरो र पखालाको समस्या देखिएको छ । भूकम्प प्रभावित क्षेत्रहरुमा अस्थायी आवास निर्माणको काम भइरहे पनि अझैँ अधिकांश पालमुनि नै बसेका छन् ।
अझै पाएनन पहिलो किस्ता
जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितले एक महिना पुग्न लाग्दा पनि सरकारले दिने पहिलो किस्ताबापतको रकम पाएका छैनन । भूकम्पले घरबारविहीन भई त्रिपाल टाँगेर चौरमा बसिरहेका पीडितहरू थप सकसमा छन् । चिसोले बिरामी परिरहेका उनीहरूलाई कहिलेसम्म अस्थायी आवासमा सारिनेसमेत टुंगो हुन सकेको छैन ।
भुकम्पको त्रास र श्रीमती गुमाएर पीडामा रहेका आठबिसकोट–१४ का नरु मल्ल भन्छन, ‘घर जाउँ भत्किएको छ, । बाहिर बसम चिसोले ज्यान लिन्छ कि भन्ने पिर छ । महिना दिन बितिसक्यो तर राहतका नाममा त्रिपाल र बल्याकेट बाहेक केही छैन । एकसरो त्रिपालले न शित छल्छ । न सिरेटो रोक्छ । अस्थायी बासस्थान चाँडै बनाउन पाए चिसोबाट बच्न सकिन्छ कि भन्ने हो ।’
अस्थायी आवास निर्माणमा सरकारी तवरबाटै ढिलासुस्ती हुँदा भुकम्प पीडितहरू पीडामा छन् । एक महिना बितिसक्दा पनि भूकम्पपीडितहरू पालमुनि बस्न बाध्य भएको आठबिसकोट १४ की शिक्षक मनसुरी खड्काले बताईन् । अहिले वडाहरुमा मान्छेको भिड छ । प्रक्रिया निकै झन्झटिलो छ । यता चिसोले दिनहुँ मान्छेले ज्यान गुमाएका छन । एक महिनासम्म कम्तिमा पनि आधा या केहि आवास निर्माण हुनुपर्ने हो । केही राजनितिक दल र संघसंस्थाहरुले केही ठाउँमा अस्थायी आवास निर्माण गरेपनि अझैँ आधिभन्दा बढी नागरिक चिसोमै रात काटिरहेको खड्काले बताईन् ।
रुकुम पश्चिममा मात्रै करिब २६ हजार घरपरिवार घरबारविहीन भएका छन् । ४० हजार बढी जनसंख््या प्रभावित बनेका छन् । पालिका हुँदै वडा मार्फत पहिलो किस्ता लाभग्राहीले पाउनु पर्ने प्रतिघर परिवार २५ हजार रुपैयाँ पाउने कार्यविधि अनुसार अहिले वडाहरूमा अनुसुची फारम भर्ने काम भइरहेको आठबिसकोट नगरपालिका वडा नम्वर ९ का अध्यक्ष जनक बहादुर बटालाले बताए । उनका अनुसार, पहिलो किस्ता वापतको रकम छनौटमा परेका लाभग्राहीले केही दिनमै पाउने जानकारी दिए ।
के गर्दै छ स्थानीय सरकार ?
भूकम्पले जाजरकोट र रुकुम पश्चिमका १० वटा स्थानीय तहमा मानवीय तथा भौतिक क्षति भएको छ । सरकारले अस्थायी आवास निर्माणका लागि यी दुई जिल्लामा ५०÷५० करोड पठाईसकेको छ । तर भुकम्प गएको महिना दिनसम्म पनि अझै स्थानीय सरकार अन्योलमा छन् ।
संघीय सरकारले तयार पारेको कार्यविधि परिवर्तन भइरहँदा थप समस्या भएको आठबिसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले बताए । उनले भने, ‘नगरपालिकाका चार हजार लाभग्राहीका लागि १० करोड रुपैयाँ जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएको छ । उक्त रकम भुकम्पबाट अति प्रभावित वडाहरु १३ र १४ बाट वितरण सुरु गरिएको छ । त्यसपछी क्रमश सबै प्रभावित क्षेत्रमा सम्बन्धित वडा मार्फत वितरण गर्ने तयारी गरेका छौँ । कार्यविधिमा टेकेर हामिले अस्थायी आवास निर्माण र पहिलो किस्ताको रकम वितरण सँगसंगैै सुरु गरेका छौं ।
त्यस्तै त्रिवेणी गाउँपालिकाका ६४ परिवारलाई पहिलो किस्ता वितरण गरेको गाउँपालिकाका अध्यक्ष गणेश केसीले बताए । त्रिवेणी संँगै जिल्लाका अन्य पालिकाले पनि पहिलो किस्ता दिन सुरु गरिसकेको जनाएका छन् ।
रुकुम पश्चिम
प्रतिक्रिया