पुँजीवादले लादेको महिला हिंसा

‘महिला विरुद्धको हिंसा अन्त्य गर्न एकताबद्ध भएर जुटौँ’ भन्ने नाराका साथ यही कात्तिक ९ देखि ४४औँ अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस आरम्भ भएको छ । संयुक्त राष्ट्र संघको आह्वानअनुसार यो दिवस हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिन विश्वव्यापी रूपमा मनाउने गरिन्छ । महिला हिंसा विरुद्धको दिवसका १६ दिनसम्म विभिन्न खालका जनचेतनामूलक अभियानहरू गरिन्छन् । अन्य दिवसजस्तै नोभेम्बर ९ देखि डिसेम्बर १६ सम्मलाई महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन थालिनुको पछाडि पनि विशेष घटना छ । उत्तरी अमेरिकाको डोमिनिकन रिपब्लिक देशमा तानाशाह राफेल ट्रुलिजाले तीन महिला अधिकारकर्मी तीन दिदीबहिनीलाई क्रूर तरिकाले हत्या गरेका थिए । विश्वमा मनाइने दिवसमध्ये अधिकांश दिवसहरूमा एक वा दुई दिन कार्यक्रम गरिन्छ । तर महिला हिंसा दिवसका सन्दर्भमा १६ दिनसम्म कार्यक्रम आयोजना गरिन्छ किन ? भन्ने प्रश्नको उत्तरले आजको यथार्थतालाई छर्लंग पार्छ । बलिया कानुनले मात्रै वा सरकारको प्रतिवद्धताले मात्रै महिला हिंसा उन्मूलन संभव छैन, यसका लागि व्यापक जनचेतनाको खा“चो छ भन्ने अभिप्रायले नै यति लामो समयसम्म महिला हिंसा अन्त्य दिवस मनाउने गरिएको हो । विश्वका अधिकांश समाज पितृसत्तावादी छन् । विश्वमा अहिले पनि पितृसत्ता छ । सत्ताको चरित्र जहिले पनि आफ्नो स्वार्थमा केन्द्रित हुन्छ । त्यसैले महिलाहरू हिंसाको जोखिममा छन् ।

महिलालाई मानिसका रूपमा नभएर बस्तुका रूपमा उपभोग गर्ने युग हु“दै वर्तमान विश्व आजको युगमा आइपुगेको हो । महिलालाई अपहरण गर्नका लागि कविला कविलाबीच लडाइँ हुँदै जाँदा राज्यको उत्पत्ति हुन पुगेको समाजशास्त्रीहरूको कथन छ । धर्म सम्प्रदायहरू विकास भएको त धेरै पछि हो, तर अझै पनि विभिन्न धर्म सम्प्रदायका नाममा चलेका कतिपय कुरीतिहरू महिला हिंसालाई प्रेरित गर्ने खालका छन् । उदाहरणका लागि हाम्रै देश नेपालमा सती प्रथा उन्मूलन भएको धेरै शताव्दी बितेको छैन । बहुपति प्रथा तथा तानी विवाह गर्ने प्रचलनको अवशेष अहिले पनि हाम्रो समाजको कतिपय तहतप्कामा छ । महिला र पुरुष समान अधिकारको चरणमा विश्व आइपुगेको धेरै वर्ष भएको छैन । अझै पनि कतिपय देशमा कानुनी रूपमै महिलामाथि विभेद गरिएको छ । महिलामाथि विभेद हुने खालका धार्मिक नियमहरू कतिपय लोकतान्त्रिक देशले अझै भत्काएका छैनन् । एकातिर ‘जहाँ स्त्रीको सम्मान हुन्छ त्यहाँ ईश्वर खुसी हुन्छन्’ भन्ने ब्रह्म वाक्य जप्ने अर्कातिर छाउपडी प्रथा, बालविवाह कायमै राख्ने, विधवा विवाहलाई हतोत्साहित गर्ने, बोक्सीको आरोप लगाउने सामाजिक मनोदशा अझै कायमै छ ।

शारीरिक रूपमा चोट पुर्याउनु मात्रै हिंसा होइन, मानसिक रूपमा चोट पुर्याउनु पनि हिंसा हो । हाम्रो समाजमा अझै पनि विभिन्न तौरतरिकाबाट महिलामाथि हिंसा भइरहेका छन् । कतिपय घरपरिवारमा जानेर वा नजानेर पनि हिंसा भइरहेका हुन्छन् । कतिपय हिंसा जानाजान भइरहेका छन्, कतिपय हिंसा अज्ञानमा भइरहेका छन् । कतिपय हिंसा आफूले थाहा नपाइकन पनि हुने गरेका छन् । कतिपय हिंसा धार्मिक तथा संस्कारगत कुरीतिका कारण हुने गरेका छन् । जानाजान भएका हिंसालाई त कानुनद्वारा, राज्य संयन्त्र बलियो बनाएर नियन्त्रण गर्न सकिन्छ, तर अन्य प्रकारका हिंसाको नियन्त्रणका लागि जनचेतना विस्तारको जरुरी छ । पछिल्लो समयमा आधुनिकताका नाममा उपभोग्य बस्तु बिक्रीका लागि महिलालाई विज्ञापनको साधन बनाउने विकृति पनि सुरु भएको छ । शारीरिक बनावटका आधारमा, शृंगारका आधारमा कुन महिला राम्री र कुन महिला नराम्री भनेर खुलमखुला रूपमा वर्गीकरण गर्नु भनेको पनि महिलामाथिको हिंसा हो । यस्तो हिंसामा जानीनजानी कतिपय महिलाहरू नै होमिएका छन् । महिला हिंसाको परम्परागत ढा“चामा ठूलो क्षयीकरण आएको छ, जुन अत्यन्त राम्रो पक्ष हो । तर आधुनिकताका नाममा सुरु भएको महिला हिंसा ज्यादै डरलाग्दो छ । शृंगारका सामान बिक्री गर्ने नाममा हुन थालेको महिला हिंसाप्रति पनि सजग हुनुपर्ने बेला आएको छ । सामान्तले लादेको महिला हि“साजस्तै पुँजीवादले लादेको महिला हिंसा पनि खतरनाक छ ।

प्रतिक्रिया