‘नदी र मुस्कान’ मा पोखिएका दिदीबहिनी

प्रदीप सापकोटा

नेपाली गद्य कविताको प्रारम्भ कवि गोपालप्रसाद रिमालबाट भएको मानिन्छ । यही लयमा कवि सुष्मिता नेपाल र सरिता थापाको संयुक्त कृति ‘नदी र मुस्कान’ले नेपाली काव्याकाशमा हालै विचरण गरेको छ । उनीहरूले मनलाई नै द्रवित पार्ने सामथ्र्यका कविता लेखेका छन् । उनीहरू कवितामा सचेततापूर्वक प्रस्तुत भएका छन् । यसमा समसामयिकताको दृष्टिगोचर गरिएका, काव्यिक चेतले ओतप्रोत भएका, सुकोमलभावले भरिएका तर जीवनप्रतिको सचेत दृष्टिकोण राख्ने कविताहरू लेखेका छन् ।

दिदीबहिनीहरू आफ्ना मनमा गढेका गहिरा भावहरू, भोगाइका प्रतिबिम्बहरू उतार्ने हिम्मत गर्छन् । यसमा समाविष्ट कविताहरू सरल र सहज रूपमा आएका छन् । सम्झनाको तरेलीमा आएका कुराहरूको भावानुवाद लाग्छन कविता । यो संग्रहले उनीहरूमा भएको काव्यको बेजोड चेतलाई प्रष्ट पारेको छ ।

‘नदी र मुस्कान’भित्र सरिता थापाका ५१ थान विषयगत विविधाका कविताहरू परेका छन् । जीवनको गहिराइमा छिरेर लेखिएका छोटा कविताहरू पठनीय छन् । कविले जीवनका आरोह अवरोह, सुखदुःख, आफ्ना भोगाइ र स्थानीयतामा लछप्पै भिजेका अत्यन्तै मीठा बिम्बप्रयुक्त कविता लेखेको देखिन्छ । सरिताको काव्यिक साधनालाई यहाँ भएका कविताहरूले उजागर गरेका छन् । जीवन जगत, प्रेम, आफ्नोपन, नाता सम्बन्ध लगायतका विषयले कवितामा आफ्नो स्थान बनाएका छन् । मनभित्र उत्पन्न हुने विविध भावहरूलाई शब्दमा उनेर सुन्दर माला गाँस्न सिपालु कवि सरिता शब्दमा मनको भाव पोख्दा अत्यन्तै सुखी र खुसी महसुस गर्छिन् ।

विचार, नैतिकता, लाचारी र अस्तव्यस्ततामा कचमचिएको सहरप्रति कवितामा भाव प्रकट भएको छ । सभ्यताका नाममा सहरलाई अग्ला भवनले थिचेकोमा चिन्ता अभिव्यक्त भएको छ । साँझको परिवेशको सुन्दर चित्र उतारेको छ ‘साँझ’ कविताले । किरणको थोपामा अत्यन्तै मीठासपूर्ण बिम्बहरूको प्रयोग भएको कविता सुन्दर बनेको छ । फूलको सौन्दर्यको जीवन्त कहानी छ त्यहाँ ।

हावाका झोक्कासँगै, जुन, समुन्द्र, म र मेरी मातृभूमी, आकाश नीलो भएर मुस्कुरायो, रात, रात जाडोसँगै एक्लै रुन्छ आदि जस्ता कविताहरूमा प्राकृतिक सुन्दरता, प्रकृति प्रेम, शान्त, सुन्दर र सौम्य प्रकृति र समय समेतको मीठो वर्णन छ । समयका विभिन्न पलहरूको सुन्दर चित्र कोरिएको छ । कवितामा समावेश भएका विषयवस्तुप्रति कोरिएका शब्दहरूले पाठकलाई सम्मोहित गराउँछन् । उनी प्रकृतिप्रेमी लाग्छिन् र कवितामा प्रकृतिको प्राण भर्छिन् । पाठकलाई प्रकृतिको सुन्दरताभित्र समयका विभिन्न मनोरम पलहरूमा झुम्न बाध्य पार्छिन् ।

कविमनको आफ्नाहरूको बारेमा कोरिएका कवितामा सुन्दर स्मृति छ । उनी आफ्नाहरूलाई बेस्सरी सम्झन्छिन् । आशावादीको सञ्चार पनि गराउँछिन् । दिदीबहिनीको प्रेमलाई कविताको माध्यमबाट बडो सुन्दर अभिव्यक्ति प्रकट भएको छ । उनी हिउँमा उज्याली दिदी देख्छिन् । यहाँ कवितामा आफ्ना प्रतिको अगाध माया र सम्मानभाव जागृत भएको छ ।

तिमी, ऊ आएन, तिमीसँग टाढा भए पनि, तिम्रो छातीमा ढुकढुकाउन आइपुग्छु, उनी, दिदी, दाजुको स्नेह, आमाका आँखाहरू जस्ता कवितामा नाता सम्बन्ध, तिनीहरूको सम्झनामा हुने भावुकता, बहिनी भएर दिदीसँग पग्लिएको भाव, छोरी भएर आमाप्रति गर्नुपर्ने श्रद्धा समर्पण भावहरू समावेश भएका छन् । उनका कवितामा मायावी स्वादका कुरा प्रकट भएका छन् । भाषिक सरलता र सहजताभित्रका अत्यन्तै धेरै बिम्बहरूले बास पाएका छन् । पाठकलाई अथ्र्याउन गाह्रो पर्ने अथवा दुई अर्थ लाग्ने कुनै कुरा छैनन् । यहाँ विषयगत रूपमा केही फरकफरक विषय समेटिएको भए तापनि सबैजसो कविताहरू कविमनका भावहरू अभिव्यक्त गर्ने माध्यम बनेका छन् । आफ्नै प्रकृति, आफ्नै नाता सम्बन्ध वरिपरि घुमेका छन् । कविमा भएको काब्य चेतनाले उनको शैलीमा कला र भाव मुखरित भएर आएका छन् । आफू बाँचेको समयको सुन्दर चित्रण गर्न सक्ने खुबी सरितामा भएको सबैलाई मान्न करै लाग्छ ।

यसैगरी हिउँको बारेमा पनि उनका केही थान कविता यस संग्रहमा छन् । दिदीले हिउँ छुने रहर गरेको कुरा छ त्यहाँ । पलपल बर्सिने हिउँसँगको अगाध प्रेम भएको कुरा छ त्यहाँ । हिउँ पर्दा सेताम्य हुँदा आफ्ना खुसीहरू बर्सेझैँ महसुस गरेर कवि पुलकित भएकी छन् । नगरकोट कवितामा त्यहाँको सुन्दरताको मादकतामा लठ्ठ परेकी कवि त्यहाँकै सौहार्दतामा मोहित भएकी छन् । प्राकृतिक मनोरमताले मानिसको जिन्दगीलाई सुःखद् र आनन्दित बनाउने कुरामा जोड दिने कविताहरू यस संग्रहमा धेरै छन् ।

कवितामा देशप्रेमको भावना प्रवल रूपमा उर्लेको छ । जहिल्यै देशको दुःखप्रति बेचैन हुने कवि आफ्ना आँखामा देशका वेदनाले दुःखाएर छचल्किरहेको भाव अभिव्यक्त गर्छिन् । ‘यात्रा’ कवितामा मध्यरात हिँडिरहेकी उनी जीवनको यात्रा लामो भएको ठम्याउँछिन् । दुःखलाई अत्यन्तै मिठासपूर्वक उतारेकी छिन् ‘दुःख’ कवितामा । दुःखलाई विभिन्न रङका बिम्बमा पोख्न सिपालु छिन् । ‘भगवान्’ कविताले आजकोे कुरूप समयमा मानिसका पीडाहरू ओकलेको छ ।

यस्तै विभिन्न कवितामार्फत आएकी छिन् सरिता थापा । मान्छे र उसका विवशतालाई औँल्याएकी उनी गहिरो प्रभाव छोड्न सक्ने सुक्ष्म कविता लेख्छिन् । पाठकलाई उनका कविताहरूले अपनत्व लिन बाध्य पार्न सक्छन् । यहाँ भएका कवितामा परिपक्वता छाएको पनि देखिन्छ । सरल, सहज र सुबोध्य भाषा प्रयोग गरी यी भित्र गहिरो भावहरू प्रकट गर्न सक्नु कविको खुबी हो । कवितामा आक्रोश छैन् कहीँ कतै अलिकति पनि छ त केवल शालीनता । जीवनका सौन्दर्यहरूको समुचित अभिव्यक्ति छरिएको छ ।

अर्की कवि सुस्मिता नेपालको मनमा छचल्किएका तरंगहरू कवितामार्फत आएका छन् । उनी भावका बिम्बसँग मज्जाले खेल्न सक्छिन् । कविताहरू युगीन चेतले भरिएका छन् । विकृति विसंगतिको उजागर गर्छिन् कवितामार्फत । मानवीय संवेदना पोख्छिन् । उनी सचेत छिन् र त जीवनको उज्यालो कवितामार्फत छर्छिन् । यहाँ अनेकानेक बिम्बहरूको सुन्दर रूपमा प्रयोग गरी कविताहरू बनेका छन् । नीजत्वको कविताहरूमा ब्यापक प्रयोग भएको पाइन्छ । भावविधानको हिसाबले पनि उनी सजग र सचेत देखिएकी छिन् ।

‘मेरो गाउँ’बाट सुरु भएको उनका कविता ‘घण्टाघर’मा पुग्दा सकिन्छ । सुस्मिताका कुल ६६ वटा कविताहरू ‘नदी र मुस्कान’मा समेटिएका छन् । ‘मेरो गाउँ’मा यात्रा गर्दा तिर्र्खाएकी कविलाई गाउँको हृदयको कुलकुले खोला नै सापटी दिन सक्ने सामथ्र्य गाउँको भएको कुरा दर्शाएर बडो बिम्बात्मक रूपमा कविता लेखेकी छन् । यसरी नै उनले गाउँको सुन्दरताले मनमोहक बनाएर हौसिएर कविता लेखेकी छिन् । प्रकृति, मूलबाटो, भञ्ज्याङ र चौतारीहरूको सुन्दर वर्णन छ ‘मेरो गाउँ, म भञ्ज्याङ हुँ, म पृथ्वीले, मौन म गोरेटो बाटो, हिमाल, आकाश, सूर्याेदय, रुखहरू’ जस्ता कविताहरूमा उनी प्रकृति प्रेम, जैविक विविधताका कुराहरू चित्रण गरेकी छन् । आफ्नो गाउँका खेतखलियान, दोबाटो स्मरण गरेकी छन् । गाउँ, गाउँका जीवन र प्रकृतिलाई प्रतीक बनाएर कविभित्र रहेको प्रकृतिप्रेमलाई यी कविताहरूले मज्जैले उजागर गरिदिएका छन् । प्राकृतिक सौन्दर्यलाई बिम्ब विविधाले लेपन गरिएका कविताहरू प्रस्ुतत संग्रहमा समावेश भएका छन् ।

जीवनका विविध रङहरू घोलेर कविता लेख्ने कवि सुप्मिताले जीवनको कलात्मक वर्णन पनि गरेकी छिन् । जीवनका अनूभूतिलाई प्रतिबिम्बित गरेकी सुष्मिताका आफ्ना मानसपटलमा छचल्किएका भावहरूको सुन्दर अभिव्यक्तिले कविताहरू भरिएका छन् । यस्ता कविताहरूमा ‘अनुभूति, मनको तलाउ, विवशता उध्रिएको जीवन, भाषा नै नबोकेको आँसुका थोपाहरू, प्रतिबिम्ब, अनुहार आफैँबाट हराउँदा, फाटेको मनको आकाश, मेरो मन, मनको वर्षा’ जस्ता कविता पर्दछन् । सुष्मिताले आफ्नो भावलाई काव्यिक अन्तफ्र्रेमभित्र कैद गरेकी छन् । यहाँ कतै कवि मन पुलकित भएको छ त कतै आफ्नाको पर्खाइमा वेचैन भएको छ । जीवनका विभिन्न पक्षहरूको वारेमा कविता फुरेको छ । जीवन दर्शनका मसिना मसिना अनूभूति पोखिएको छ । कतै भावुकता प्रदर्शन गरिएको छ । यति भइकन पनि यथार्थवादी छन् कविता । समयसँगै जीवनका भोगाइहरूको काव्यात्मक प्रस्तुतिले ती कविताहरू ओतप्रोत छन् ।

आफ्नोपन, प्रेमभाव अभिव्यक्ति भएका कविताहरू पनि छन् । आमाको बारेमा विभिन्न कविताहरू यसमा सामेल गरिएका छन् । दुःखका सुस्केराहरू पनि सुसाएका छन् । ‘हाम्री आमा, पर्खिरहेकी छु, आमाको अस्तित्व, मनको तलाउ, उध्रिएको जीवन, तिम्रो प्रतिक्षा, तिम्रै अनुहार’ आदि कविताहरू यस कोटीमा पर्छन् । जहाँ आमाको ममत्वमाथि बिम्बहरू मिसाइएको छ । आफ्नो प्यारो मान्छेलाई चियाको बिम्बमा स्मरण गरिएको छ । एकान्तवास रोज्ने मनको तलाउको भाव अभिव्यक्त भएको छ । मानिसका सम्बन्धका अनेकानेन डोरीहरू बाटिएको छ । कल्पनामा उडान भरिएको छ । जीवनका पाटाहरूको सपाट वर्णन गरिएको छ । देशको पीडामा दुःखी बनेकी उनी कोठाभित्र सजिएकी गमलाको रूपमा आफ्नो चित्रण गर्छिन् । शून्यतामा मनलाई राखेर टोलाउँछिन् । सपना कोर्छिन् जिन्दगीको । जीवनका रेखाहरू हेरेर जिन्दगी सहज रूपमा नबग्ने कुरा ठोकुवा गर्छिन् ।

मानवीय भावले ओतप्रोत कविताहरू पनि यसमा परेका देखिन्छन् । भाव र अर्थको गहिराइमा गएर टिपिएका बिम्बहरूले भरपूर कविताहरू जहाँ अत्यधिक काव्यचेत निपूर्णता मुखरित भएको छ । ‘भाषा नै नबोकेको आँसुका थोपाहरू, हिउँमा मिसिएका कविताहरू, कहाँ छ मेरो पुग्ने ठाउँ, शून्यताले च्यापेको मन, अक्षरहरूका चामल’ आदि यस्ता कोटीमा पर्ने कविता हुन् ।

छोरीलाई बिम्ब बनाएर लेखिएका कविता पनि यस संग्रहमा समावेश भएका छन् । मौलिक लाग्ने यस्ता कवितामा ‘चुलबुले अनूभूतिहरू, छोरी र अक्षरहरू’ यस कोटीमा पर्दछन् । जहाँ कलात्मकतामा बालमनोविज्ञान छरिएको छ । सुकोमल मनकी नेपाल बालबालिकाको विषयवस्तुमा छोरीलाई काव्य रचनाको आधार बनाएर कविता लेख्न सफल भएकी छन् ।

प्रस्तुत कृति ‘नदी र मुस्कान’ को संरचनात्मक रूपमा हेर्दा आकर्षक आवरणसहित कृति आएको छ । कविताका आयामगत संरचना हेर्दा छोटा र मझ्यौला संरचनामा कविताहरू रचिएका छन् । सौन्दर्यात्मक बिम्बविधानको प्रयोगले कविताहरू भरिएका छन् । कविताहरूमा स्वतन्त्र चेत देखिन्छ । मानविय संवेगहरू, प्रकृतिको माया, आमा र आफन्तहरूको माया सहितका भाव संयोजन गरिएका कविताहरूको यहाँ वर्चस्व छ ।

‘नदी र मुस्कान’ शीर्षक आकर्षक छ तर यो नामकरणमा कृति भित्रका कुनै पनि शीर्षकका कविता छैनन् । शैलीशिल्पका हिसाबले सबै कविताहरू गद्यात्मक लयमा रचिएका छन् । सान्दर्भिकता र आवश्यकता हेरेर कवितामा बिम्ब, प्रतीकहरूको यथोचित प्रयोग गरिएको छ । प्रयोग गरिएका बिम्ब तथा कविताका शब्दहरू सरल र स्वभाविक लाग्दा छन् । कुनै पनि कविता दुर्बोध्य छैनन् । मानवीय भाव प्रबल रूपमा मुखरित भएर कविताहरू आएका छन् । आकारको हिसाबले कविताहरू छोटा र मझ्यौला छन् । बान्की पार्नका लागि यथेष्ठ बिम्ब, प्रतीकहरूको प्रयोग गरिएको छ । काव्यिक लहरले लहरिएका कविताहरू छन् । गुणवत्तायुक्त कविता पठनीय लाग्छन् । प्रस्तुत संग्रहका कविताहरू मज्जैले माझिएका छन् । यसमा अनुभूति र भाव प्रधान कविता धेरै छन् । दुवैको निजात्मक अनुभूतिबाट बहेका कविताहरू यस कृतिमा परेका छन् ।

ममा समीक्षाको तुलो त छैन । यति भन्न सक्छु यो कृति मज्जैले बगेको छ । यो कृति मसिना कुराहरूमा गहिरिएर स्वादिलो बिम्बविधान प्रयुक्त गर्न सक्ने खुवी भएका कवि दिदी बहिनीहरूको संयुक्त संग्रह हो । ऊनीहरूले हर कुरा सुन्दर भावभंगीमा उतारेका छन् । आशावादीता जगाउन सफल छन् पाठकलाई । जीवनको मोह गर्न सिकाएका छन् । आफ्ना भोगाइका अनुभूतिहरू पाठकलाई बाँडेका छन् । कविता पढ्दा कहीँ कतै पट्यारलाग्दो लाग्दैन । आफ्ना कवितापुञ्जमार्फत जीवनका सबै खाले गुञ्जनहरू लहरिएर लेख्न सक्षम कवि द्वय दिदीबहिनीलाई हार्दिक बधाई ।

प्रतिक्रिया