षोडशोपचार पूजाविधि : एक चर्चा

विश्वका अनेक धर्मका तीर्थस्थलहरूमा चढाइएका बहुमूल्य कुरा संकटकालिन राज्यकोषकारूपमा प्रयोग हुने गरेका छन् । यो प्रचलन हिन्दू धर्मबाट सुरु भएको हो । इतिहासमा मात्र होइन, पुराणहरूमा पनि यस सम्बन्धमा केही विवरणहरू भेटिन्छन् । त्यसैले अरूसँग युद्ध हुँदा शत्रुका नजरमा पहिला मठमन्दिरहरू नै तारोमा पर्ने गर्दथे । जंगबहादुर राणाले रानीपोखरी पूरा सफा गर्न लगाएका थिए । जनतालाई देखाउने दाँत ‘सफा गरेर पूण्य कमाउनु’ थियो । चपाउने दाँत वा भित्री उद्देश्य भने त्यहाँ सुनचाँदी आदि लुकाइएको छ भन्ने हल्ला सुनेर खोतल्नु थियो । दानजस्तो पवित्र कुरालाई पनि ढोंगीहरूले कसरी अपवित्र बनाउँदछन् भन्नका लागि पछिल्लो उदाहरण त पशुपतिमा चढाइएको जलहरीको उदाहरण नै काफी छ

मोहनप्रसाद सापकोटा

हरेक विषयमा शास्त्रीय संकलन यति धेरै छन् कि कताबाट कुन शीर्षकलाई टिपौँ टिपौँ हुने गर्दछ । अरू पूजाविधिमा जस्तै षोडशोपचारका बारेमा पनि पण्डित नै पिच्छेका प्रचलन देखिन्छन् । शास्त्रको विचार के छ त ? कालिकापुराणबाट केही जानकारी पस्कन अनुमति चाहन्छु ।

उपचारान् प्रवक्ष्यामि श्रृणु षोडश भैरव ।

यैः सम्यक् तुष्यते देवी देवोकप्यन्यो हि भक्तितः ।।

भगवान् शिव भन्नुहुन्छ, ‘हे भैरव ! अब म पूजाका ती सोह्र उपचार (षोडशोपचार) का विषयमा बताउँदछु, जसलाई श्रद्धाभक्तिपूर्वक गर्नाले देवी, देवता र अन्य पनि राम्ररी प्रसन्न हुने गर्दछन् । तिमी सुन ।

आवाहन र आसन

कुनै धर्मकर्म गर्दा गर्नेका लागि, गराउनेका लागि र सो धर्मकर्मसँग सम्बन्धित सबै देवतालाई बोलाएर (आवाहन) बसाउनका लागि आसन दिने विधि छ ।

आसनं प्रथमं दद्यात् पौष्पं दारवमेव वा ।

वास्त्रं वा चार्मणं कौशं मण्डलस्योत्तरे सृजेत् ।।

सबभन्दा पहिले पूजा गर्न लागिएका देवता वा देवीलाई मण्डल (इष्ट देवदेवीलाई बस्न वा बसाउनका लागि रेखीले विभिन्न थरी यन्त्र, दल आदि बनाइएको वा यस्ता यन्त्र, दल आदि कोरिएको वस्त्र राख्ने स्थल) को उत्तरतिर फूलको, काठको, कपडाको, छालाको वा कुशको आसन समर्पण गर्नू ।

नोट : यदि कुनै टपरीमाथि राखिएको दियो वा कलश वा गणेश वा ब्रह्मा आदिको पूजा गर्दा आसन समर्पण गर्नु छ भने त्यो टपरी राख्नका लागि भुइँमा कोरिएको रेखीको उत्तरतिरको भागमा कर्ताले आसन समर्पण गर्नुपर्दछ । टपरीमा हाल्ने होइन, यसैगरी कुनै थालीमाथि कुनै देवीदेवताका लागि आसन दिनुपर्ने अवस्थामा प्रतिमा राख्ने स्थलको उत्तरतिर आसन चढाउनु पर्दछ । आसन भुइँमा राखिन्छ शरीरमा होइन । मण्डल भनेको कुनै सभासमारोहमा तयार पारिएको मञ्च हो । त्यहाँ मर्यादाक्रम अनुसारका आसनहरू पहिले नै राखिएका हुन्छन् । अनि कुनै अतिथि आएपछि हात समाएर लगी आसनमा बसालिने गरिन्छ । आवाहन गर्ने भनेको निम्ता एवं स्वागत गर्नु हो । यसैले पहिले देवीदेवतालाई आवाहन (निम्ता र स्वागत गरिन्छ), अनि बस्नका लागि आसन दिइन्छ । तपाइँ हामीले गर्ने हरेक व्यवहार हाम्रा शास्त्रबाटै निर्देशित भएका हुन्छन् । कमी बुझाउनेहरूको भएको हो ।

म हजुरहरुलाई षोडशोपचारमध्ये पहिलोे अर्थात् आसन चढाउने विधि र कर्ताले बस्ने आसनका बारेमा विस्तृत शास्त्रीय विवरण दिइरहेको छु । कुनै एक जानकारी छुटाउन खोज्दा पछिल्ला जानकारी स्पष्ट नहुने हुँदा सबै जानकारी दिइरहेको छु ।


–पुष्पासन चढाउँदा कोपिला (वा थोरै) भए प्रतिमामाथि र ठूलो (वा धेरै) भए बाहिरी भागतिर चढाउनू ।

–फूल, फूलहरूले बनाइएका तथा कुश, धागो आदिले बनाइएका आसन देवीलाई, मलाई (शिव) र अन्य देवतालाई पनि अति प्रिय हुन्छ ।

–होममा प्रयोग गर्न मिल्ने खालका वृक्षका काठले बनाइएको आसन भए त्यो शुभ, कोमल, धेरै अग्लाइ नभएको र धेरै फराकिलो नभएको चढाउनु पर्दछ ।

–अन्य काठका आसन चढाउने हो भने काँडा नहुने, दूध नआउने, गाँठागुँठी नहुने, चौबाटो (चैत्य वा चौतारो) मा भएका र मसानतिर नउम्रिएका तथा बर्रो बाहेकका वृक्षका काठले बनेका आसन नै चढाउनु पर्दछ ।

–रूखका बोक्रा, रेशम र सनले बुनिएका कपडालाई वस्त्र हुन् भनी बताइएको छ । (यसबाहेक) रौँले बनेका कम्बल आदिसमेत गरी चार थरी (वस्त्र) हुन्छन् । ऐश्वर्य चाहने साधकले इष्टदेवलाई यी वस्त्रले बनाइएका आसन चढाउनू ।

–सिंह, बाघ, निगाले चितुवा, बोका, जंगली राँगो, हात्ती, घोडा तथा कृष्णसार, सृमर (यसको अर्थ कसैले मृगको बच्चा, पेयर डी अमरकोषले बँदेल र आयुर्वेदिक महाकोषले सिमसार क्षेत्रमा पाइने मृग वा ठूलो जातको बँदेल भनी लगाएको छ, मेरो विचारमा यसलाई शम्बर मृग भन्न खोजिएको हुनुपर्दछ), राम (यसको अर्थ पेयर डी अमरकोषमा नीलगाई (को साँढे) भनी दिइएको छ) आदि नौ थरी मृगका छालाको आसनले सबै देवतालाई अत्यधिक प्रसन्नता दिन्छ भन्ने कुरा सुनिएको छ ।

पाद्य

पूजा आदि कर्म गर्दा पुरोहितले ‘पाद्यं समर्पयामि…,ल अब जल चढाउनू’ भन्ने गरेको सुन्छौंँ । कर्मविशेषमा र परिस्थिति विशेषमा बाहेक अन्यत्र लचकतालाई निषेध गरिएको छ । अर्थात् जे गरे पनि हुन्छ भन्ने किसिमले पाद्य चढाउनु वा चढाउन लगाउनु हुँदैन । पाद्यका बारेमा तलका शास्त्रीय वचनलाई मनन गरौँ ।

–(देवीदेवता आदिलाई) गोडा धुनका लागि चढाइने (दिइने) केही नमिसिएको पानीलाई पाद्य भनिन्छ ।

–यस्तो पानीलाई कुनै धातुको भाँडामा वा शंखमा राखेर चढाउनू ।

–पाद्यलाई धर्म, अर्थ, काम र मोक्ष रहने ठाउँ हो भनी बताइएको छ ।

–सबै कर्ममा यसलाई आसन चढाएपछि चढाउनु पर्दछ । (बसाएर मात्र गोडा धुनुपर्दछ) ।

हुन त श्रीकृष्णले भागवतमा ‘कर्मको विधि पूरा गर्न कठिन छ, विधि पूरा नगरी फल पाइन्न’ भनी बताउनु नै भएको छ तैपनि आजकलको व्यापारिक धर्मकर्ममा जथाभावी लचकता अपनाउन थालिएको छ । धनलाई मात्र प्राथमिकतामा राखेर गरिने यस्ता कर्म नगरेकै वेश । आर्थिक तथा शारीरिक रूपले नसक्दा दिइएको शास्त्रीय छुटलाई सक्दा प्रयोग गर्नु पाप हो । अतः पूरै विधि गर्न नसकिए पनि पाद्य चढाउँदा उचित धातुको भाँडामा राखिएको शुद्ध जललाई उचित धातुकै आचमनीले चढाउनु पर्दछ । यसका लागि तामा, पित्तल, काँस, चाँदी वा सुन (वा फलाम–वैखानस ग्रन्थ) ले बनेका भाँडा प्रयोग गरिनु पर्दछ । अरूलाई देखाउन वा लोकलज्जाले धर्मकर्म गरी फलको आश गर्नु बेकार छ ।

अघ्र्य

पुरोहितले ‘अघ्र्यं समर्पयामि…, ल अब अघ्र्य चढाउनु भन्दछन्, अनि पहिले बनाइएको अघ्र्यबाट आचमनीले वा फूलको थुंगाले अलिकति अघ्र्य झिकेर जजमानले इष्ट देवदेवीलाई चढाउने गर्दछ ।

शास्त्रमा देवीदेवतालाई अघ्र्यप्रदान गर्ने सम्बन्धमा समान मत छैन । अघ्र्यको मिश्रणका बारेमा पनि मतैक्यता देखिँदैन । देवीदेवता नै पिच्छे अघ्र्य बनाउँदा हालिने पदार्थमा भिन्नता छ । सबै देवतालाई हुनेगरी चढाइने अघ्र्यमा पनि एउटै धारणा छैन । पछिल्ला ग्रन्थले जुन जुन ग्रन्थलाई श्रोतग्रन्थ बताएर विवरण लेखेका छन् ती विवरण मूल ग्रन्थसँग मेल खाँदैन ।
आजभोलि अघ्र्य बनाउँदा केरालाई विशेष जोड दिई नअटाए पनि जबरजस्ती राख्न लगाइन्छ तर मेरो आजसम्मको शास्त्रीय संकलनले यो प्रचलनलाई पुष्टि गर्दैन । अघ्र्य बनाउँदा हालिने पदार्थका बारेमा केही शास्त्रीय धारणा यस्ता छन् ः–

(अ) साधकले उपलब्ध भएसम्म कुश, पूmल, अक्षता, सर्सिउँ, चन्दन, पानी, सुगन्धित पदार्थले सफलताको कामना गर्दै इष्टदेवलाई अघ्र्य प्रदान गर्नू ।

(आ) पानी, दूध, कुशका टुप्पा, घिउ, दही, मह, रातो करवीर (कणेल) र रातोचन्दन ः ब्रह्माले यिनै कुराको सम्मिश्रणलाई अष्टांग अघ्र्य भनी बताएको छ ।

(इ) जल, दूध, कुशका टुप्पा, घिउ, मह, गाईको दही, राता करवीरका पूmल र रातो चन्दन ः यसलाई अष्टांग अघ्र्य भनिन्छ र यसले सूर्यलाई अति प्रसन्न पार्दछ ।

अन्यत्रका धारणा–

(१) जल, दूध, कुशका टुप्पा, दही, घिउ, चामल, जौ र पहेँलो सर्सिउँको मिश्रणलाई अष्टांग अघ्र्य भनिन्छ ।

(२) कुश, अक्षता, तिल, व्रीहि धान, जौ, मास, दहीगुयेँला र पहेँलो सर्सिउँ हालेर विशेष अघ्र्य तयार हुन्छ ।

(३) रातो चन्दन, बेल, अक्षता, फूल, दही, दूबो, कुश र तिल ः यी सामान्यतः सबै देवताका लागि अघ्र्य हुन् भनिएको छ ।

(४) जल, दूध, कुशका मुन्टा, दही, घिउ, चामल, जौ र पहेँलो सर्सिउँ ः यिनलाई अष्टांग अघ्र्य भनिन्छ ।

(५) सुगन्ध द्रव्य, फूल, अक्षता, जौ, कुशका मुन्टा, तिल, सर्सिउँ र दूबो ः यी सबै देवताका लागि अघ्र्य हुन्छ भनी बताइएको छ ।

प्रचलित

जल, दूध, कुशका मुन्टा, दही, दूबो, अक्षता, तिल र सुपारीलाई नै अष्टांग अघ्र्य भनिन्छ ।


अघ्र्य प्रदान गर्दाका लाभ


अघ्र्य प्रदान गर्नाले मनले चिताएको पुग्दछ तथा धन, सन्तान, आयु, सुख र मोक्ष प्राप्त हुन्छ ।

विशेष नियम

बुद्धिमानले सूर्यलाई (कतै शिवलाई समेत भनिएको) शंखजलको तथा विष्णुलाई सिपीजलको अघ्र्य नचढाउनू ।

आचमनीय

–देवीदेवताका लागि आचमन गर्न भनी जुन स्वच्छ र फिँज नभएको जल प्रदान गरिन्छ त्यसलाई ‘आचमनीय’ भनिन्छ ।

–शुभ, सुगन्धि, कपुर हाली बास्नादार बनाइएको, कालोधूपी बाली धूप दिइएको अथवा उपलब्ध कुनै सुगन्धि वस्तु हालिएको र फिँज नभएको जललाई कुनै धातुको भाँडाले अथवा शंखले आचमनीयकारूपमा चढाउनु पर्दछ ।

–उपलब्ध हुनसके जलमा सुगन्धि वस्तु मिसाएर र नभए जल मात्रले आचमनीय चढाउनु पर्दछ ।

–आचमनीय चढाउनाले साधकको आयु, बल र यश बढ्दछ तथा उसले चाहेको कुरा सधैँ प्राप्त गर्दछ ।

मेरा कुराः विधि पूरा गरेर कर्म गर्न चाहनेले पाद्य र आचमनीयका लागि चढाइने जल बेग्लाबेग्लै भाँडामा राखी बेग्लाबेग्लै भाँडा (आचमनी)ले चढाउनुपर्दछ । जसरी एउटा अंखोरामा पानी दिएर यसले गोडा धोऊ अनि मुख पनि कुला गर (चुठ) भन्नु गलत हुन्छ त्यसरी नै देवीदेवतालाई पनि एउटै भाँडाको जलले गोडा धुवाउनु र चुठाउनु उपयुक्त हुँदैन । कपूर आदि हालिएको जल गोडा धुन प्रयोग गर्नु हुँदैन । खर्च हुनेको खर्च भइरहेको हुन्छ, केही फाइदा होला भनेर नै जजमानले केही धर्मकर्म गरिरहेको हुन्छ । उसलाई कर्ममा सम्भव भएसम्म वर्णसंकर गर्न नदिनु होस् र यी कुराहरू बुझाउनुहोस् ।

मधुपर्क

मधुपर्कका बारेमा चर्चा गर्नुअघि यसको उत्पत्ति र महत्व आदि थाहा पाउनुपर्दछ । सबभन्दा पहिले यसबारे जानकारी दिन चाहेँ । मुण्डमुण्ड बुद्धि कुण्डकुण्ड पानी । ज्ञान कम र ढोंग बढी सर्वत्र पाइन्छ । तपाईंहरू ज्ञान बढाउनुहोस् । हाम्रो धर्ममा सबै औकातका मानिसलाई लचकतापूर्वक स्थान दिइएको छ ।

भगवान् वराह भन्नुहुन्छ, हे पृथ्वी, म मधुपर्कको उत्पत्ति र दानको प्रसंग बताउँदछु, सुन । यसबाट सबै अनिष्ट नाश हुन्छन् । जब संसारको सृष्टि भयो तब मेरो दाहिने अंगबाट एक पुरुष उत्पन्न भयो । यो पुरुष अति तेजिलो र कीर्तियुक्त थियो । उसलाई देखेर ब्रह्माले मलाई सोध्नुभयो, ‘हे प्रभु, यी को हुन् ?’ तब मैले उनलाई भनेँ, ‘यी मेरै शरीरबाट उत्पन्न भएका तथा मेरा भक्तजनलाई संसारबाट मुक्त गराउने मधुपर्क हुन् । जो मानिस मेरो पूजा गर्दा मलाई यो मधुपर्क चढाउँदछ उसले त्यस्तो सर्वश्रेष्ठ स्थान प्राप्त गर्दछ जहाँ जानाले प्राणीलाई कुनै शोक हुँदैन ।’

मधुपर्क बनाएर दान गर्नाले मानिस मेरो दिव्य धामलाई प्राप्त गर्दछ । यदि कसैलाई सर्वश्रेष्ठ सिद्धि पाउने इच्छा छ भने उसले मह, दही र घिउ बराबर मात्रामा लिई मन्त्र पढ्दै विधिपूर्वक त्यसलाई एकै ठाउँमा मिसाउनू । जसले यो विधिलाई पालना गर्दछ ऊ मेरो अति प्रिय हुन्छ ।

यसपछि मधुपर्क हातमा लिई ‘ओमकारस्वरूप हे भगवन्, यो मधुपर्क हजुरलाई चढाउँदछु, स्वीकार गर्नुहोस् । प्रभु, यो हजुरकै पवित्र शरीरबाट उत्पन्न भएको हो । संसारबाट मुक्त हुनका लागि यो उत्तम साधन हो । भक्तिपूर्वक यसलाई मैले हजुरको सेवामा अर्पण गरेको छु । हे देवेश, हजुरलाई मेरो बारम्बार नमस्कार छ’, भन्नु ।
सुत भन्दछन्, ‘हे ऋषिगण, मधुपर्कको उत्पत्ति, दानको फल र ग्रहणको आवश्यकता सुनी उत्तम व्रत पालना गर्ने भएकी पृथ्वीलाई ठूलो आश्चर्य भयो । उनले भगवान्को चरण छुँदै सोधिन् ।’

‘भगवान्, हजुरलाई मनपर्ने पदार्थ मधुपर्कलाई शान्तिपाठ गर्दै हजुरका भक्तले कसरी चढाउने त्यो विधि मलाई बताउनुहोस् ’।

भगवान् भन्नुहुन्छ– हे भाग्यशालिनी, म सबै प्रसंग बताउँदछु । यसका प्रभावले मानिस दुःखरूपी संसारबाट मुक्त हुन्छ । तिमी पहिले जे कुराको चर्चा गरेकी थियौ, त्यसलाई भक्तजनले पूरा गरुन् र त्यसपछि शान्तिपाठ गरून् । शान्तिपाठ गरेपछि मेरो भक्तिमा लागेकाले मलाई मन्त्रसहित जलाञ्जलि चढाऊन् ।

डुम्रीको काठले बनेको भाँडामा घिउ, दही र मह बराबर मात्रामा राखी मधुपर्क बनाउनुपर्दछ । मह नपाइए सखर मिसाउन सकिन्छ । घिउ नपाउँदा धानको लाजाले पनि काम चलाउन सकिन्छ । दही नपाउँदा दूध हालेर काम चलाउनू । यसरी दही, मह र घिउ समान मात्रामा मिसाएर मधुपर्क बनाउनू ।

केही पनि उपलब्ध नहुँदा जल मात्र हातमा लिई मन्त्र पढ्दै मधुपर्कका रूपमा सोही जल चढाउनू । प्राण जाने अवस्थामा पनि यसरी मधुपर्क चढाउनू ।

मधुपर्क

परिभाषाः

कात्यायनस्मृतिः दही र महले मधुपर्क बनाइन्छ ।

कालिकापुराण :

–दही, घिउ, पानी, मह र मिश्री (वा सखर वा चिनी) ः यी पाँच कुरा मिसाएर बनाइएको पदार्थलाई मधुपर्क भनिन्छ ।

–जुनसुकै कर्ममा जहिलेसुकै मधुपर्क बनाउँदा पनि पानी सबभन्दा कम हाल्नु पर्दछ । मिश्री, दही र घिउको मात्रा बराबर हुनुपर्दछ र सबभन्दा बढी महको प्रयोग गर्नुपर्दछ ।
तन्त्रसारः घिउ, दही र महको मिश्रणलाई विद्वानहरूले मधुपर्क भनेका छन् ।

स्कन्दपुराण :

–एउटा काँसको भाँडालाई खोचोजस्तो बनाएर त्यसमा दही, घिउ र दूध हाली मधुपर्क चढाउनू ।

–गाईको दूध, दही, मह, घिउ र मिस्री (वा चिनी वा सखर) एउटा मधुपर्कको भाँडामा हाली पूजा गर्नेले श्रद्धापूर्वक मधुपर्क चढाओस् ।

– हरिभक्तिविलास : मधुपर्कको भाँडामा गाईको दही, दूध, घिउ, मह र सखर गरी पाँच पदार्थहरू राख्नू । कसैकसैले यो भाँडामा तीन थोक मात्र राख्नू पनि भनेका छन् ।

– विष्णुधर्मोत्तरपुराण : घिउ, दही र मह मिसाउनाले मधुपर्क बन्दछ भनी थाहा पाउनू ।

(छ) वराहपुराण :

–यदि कसैलाई सर्वश्रेष्ठ सिद्धि पाउने इच्छा छ भने उसले मधुपर्क बनाउँदा मह, दही र घिउ बराबर मात्रामा लिई मन्त्र पढ्दै विधिपूर्वक त्यसलाई एकै ठाउँमा मिसाउनू पर्दछ ।

– डुम्रीको काठले बनेको भाँडामा घिउ, दही र मह बराबर मात्रामा राखी मधुपर्क बनाउनु पर्दछ ।

– मह नपाइए सखर मिसाउन सकिन्छ ।

– घिउ नपाउँदा धानको लाजाले पनि काम चलाउन सकिन्छ ।

–दही नपाउँदा दूध हालेर काम चलाउनू ।

–केही पनि उपलब्ध नहुँदा जल मात्र हातमा लिई मन्त्र पढ्दै मधुपर्कका रूपमा चढाउनू । प्राण जाने अवस्थामा पनि यसरी नै मधुपर्क चढाउनू ।

(ज) नारदपुराण : मह, घिउ र दहीको मिश्रणलाई मधुपर्क भनिन्छ ।

(झ) आपस्तम्बगृह्यसूत्र : दही र मह काँसको भाँडामा मिलाएर त्यसलाई काँसकै भाँडाले ढाकी कूर्च (एक मुठी कुश) ले समाती (अतिथि समक्ष) भन्नु – यो मधुपर्क हो । केही आचार्यहरू तीन थोक (दही, मह र घिउ) मिलाएर मधुपर्क बनाउने विधान गर्दछन् । केही आचार्यहरू पाँच थोक (दही, मह, घिउ, लाजा र सातू) समेत मिलाएर मधुपर्क बनाउने विधान गर्दछन् ।

मधुपर्क हाल्ने वा चढाउने भाँडा

(क) कालिकापुराण : मधुपर्कलाई सुन, शंख वा काँसका भाँडामा चढाउनु पर्दछ ।

(ख) हरिभक्तिविलास : केही विद्वानहरू गाईको दूध र दूधजन्य पदार्थ तामाका भाँडामा हाल्दा योग–दोष (विषाक्त) हुने हुनाले तामा बाहेकको भाँडामा मधुपर्क बनाइयोस् भन्ने चाहना राख्दछन् ।

(ग) कात्यायनस्मृति : काँसको भाँडोले नै छोपिएको र काँसकै भाँडामा राखिएको मधुपर्क नै चढाउनू ।

चढाउने स्थान :

(क) हरिभक्तिविलास : देवीदेवताको मुखमा मधुपर्क चढाउनु पर्दछ ।

मधुपर्क चढाउँदा देखाइने हातको मुद्रा :

(क) हरिभक्तिविलास : (दाहिने हातको) बुढी र साँहिली औँला जोडी अरू तीन औँला पसारेर हुने मुद्रालाई विद्वानहरूले मधुपर्क चढाउँदा देखाइने हातको मुद्रा भनी बताएका छन् ।


मधुपर्क बनाउँदा र चढाउँदाका मन्त्र :


देवी देवता नै पिच्छे र कर्मको उद्देश्यअनुसार मधुपर्क चढाउँदा पढिने मन्त्र पनि फरक फरक हुन्छन् । यी मन्त्र सम्बन्धित पूजाविधिका पुस्तकमा लेखिएका हुन्छन् ।

अन्त्यमा

अघ्र्यं पाद्यं चाचमनं स्नानीयं नेत्ररञ्जनम् ।

मधुपर्कं च गन्धं च पुष्पं पद्मे निवेदयेत् ।।

अर्घ, पाद्य, जल, स्नान, गाजल, मधुपर्क, चन्दन र फूल पद्म (मूल प्रतिमा) मा पर्ने गरी चढाउनू ।

प्रतिमासु च यद् योग्यं गात्रे दातुं च तत् तनौ ।

दद्याद् योग्यं तु पुरतो नैवेद्यं भोजनादिकम् ।।

प्रतिमाको पूजा गर्दा शरीरका लागि चढाउने भनी तयार पारिएका चढाउनयोग्य वस्तुहरू सम्बन्धित अंगहरूमा चढाउनू । यथायोग्य नैवेद्य, भोजन आदि इष्टदेवको अगिल्तिर चढाउनू ।

नोट : सम्बन्धित देवीदेवताको प्रतिमा वा मूर्तिको दायाँबायाँ वा पछिल्तिर वा माथि पर्नेगरी नैवेद्य, पकाइएका कुरा, ठूला बस्त्र आदि चढाउनु हुँदैन । अगिल्तिर पर्नेगरी चढाउनु पर्दछ । चढाइसकेपछि स्थान नपुगे त्यसलाई छेउतिर सार्नुपर्दछ । म यससम्बन्धमा विवाहमा वर वा वधुलाई दिइने उपहारको उदाहरण सम्झाउन चाहन्छु । त्यसबेला हामी केही उपहार वा नगद तिनलाई हातमै दिन्छौँ तर तिनले थापेर दायाँबायाँ वा पछिल्तिर राखी त्यसको व्यवस्थापन गर्दछन् । ‘ए फलाना ! तिमीलाई दिने कुरा त्यहाँ छेउमा छ है लैजाउ’ भनेर हिँडिन्छ र ?

यहाँ भक्तजनले बिर्सन नहुने कुरा केछ भने कुनै मन्दिरमा दानपात्र राखिएका छन् भने ती पनि मूर्तिको सामुन्ने राखिएको हुनुपर्दछ । विधिभन्दा भाव ठूलो हो भनिए पनि पूजाकर्ममा तोकिएका व्यावहारिक विधि लत्याउन हुँदैन । यसले विकृति भित्रन्छ । दानपात्र नै चोरी हुन थाल्दछन् ।

विश्वका अनेक धर्मका तीर्थस्थलहरूमा चढाइएका बहुमूल्य कुरा संकटकालीन राज्यकोषकारूपमा प्रयोग हुने गरेका छन् । यो प्रचलन हिन्दू धर्मबाट सुरु भएको हो । इतिहासमा मात्र होइन पुराणहरूमा पनि यस सम्बन्धमा केही विवरणहरू भेटिन्छन् । त्यसैले अरूसँग युद्ध हुँदा शत्रुका नजरमा पहिला मठमन्दिरहरू नै तारोमा पर्ने गर्दथे । जंगबहादुर राणाले रानीपोखरी पूरा सफा गर्न लगाएका थिए । जनतालाई देखाउने दाँत ‘सफा गरेर पूण्य कमाउनु’ थियो । चपाउने दाँत वा भित्री उद्देश्य भने त्यहाँ सुनचाँदी आदि लुकाइएको छ भन्ने हल्ला सुनेर खोतल्नु थियो । दानजस्तो पवित्र कुरालाई पनि ढोंगीहरूले कसरी अपवित्र बनाउँदछन् भन्नका लागि पछिल्लो उदाहरण त पशुपतिमा चढाइएको जलहरीको उदाहरण नै काफी छ । दानपत्रमा नाम कुँदाउँदै बाहिर निस्केर त्यही धर्मको विरोध गरी समाज भड्काउन बैना लिएका ढोंगीहरू हाम्रो देशमा धेरै नै छन् ।

कुनै स्थानमा मठमन्दिर बनाउनु वा अन्य इष्टपूर्त कर्म गर्नु सम्बन्धित व्यक्तिका लागि धर्मको कार्य हुन्छ तर उपभोग गर्नेलाई त्यो धर्म कमाउने माध्यम नहुन पनि सक्दछ । शास्त्रअनुसार यसरी स्थापना गरिने पवित्रस्थल स्थापना कर्ताको मन पवित्र भए मात्र पवित्र हुन्छन् नत्र भक्तजनले कर्ताको पाप बाँडेर लैजाने गर्दछन् । सबैले देख्ने गरी गरिएका पाप कटाउन स्थापना गरिएका मठमन्दिर अपहेलित हुनुको मूल कारण यही हो । कानुनतः भोग्नुपर्ने सजाय पनि भोगेको छैन र शास्त्रअनुसार गर्नुपर्ने प्रायश्चित पनि गरेको छैन भने त्यस्ता पापीको धन लगाएर बनाइएका कुनै पनि धार्मिक संरचनाले भक्तजनलाई लाभ दिँदैन, हानी गर्दछ ।

यदैव दीयते पद्मे मण्डलस्य तदुत्सृजेत् ।

वाक् पुष्पतोयैः कुसुमं विना यच्छादकं भवेत् ।।

पद्मस्य तद्बहिर्देशे द्वारादौ विनिवेदयेत् ।।

वाणी, फूल र जल चढाउँदा सम्बन्धित मण्डलको बीच भाग वा प्रतिमा (पद्म) मा चढाउनु पर्दछ । फूल नहाली चढाइने खालका प्रतिमालाई पूरै ढाक्ने उपहार भए ती बीच भागभन्दा बाहिर द्वार आदि स्थानमा चढाउनु पर्दछ ।

नोटः सप्ताहमा, सत्य नारायणको पूजामा, रुद्री लगाउँदा आदि जस्ता पूजा कर्ममा मानिसहरू सम्बन्धित देवीदेवताको प्रतिमा छोपिने गरी केही चढाउन पाउनुलाई गर्वको विषय ठान्दछन् । फूल आदिजस्ता चढाइएका कुराले प्रतिमालाई पुर्ने चलन छ । यो गलत छ । कुनै पनि हालतमा पूजा गरिने देवीदेवताको प्रतिमा पुरिन नदिनु कर्ता र पुरोहितको कर्तव्य हुन्छ । मैले देवीदेवताको पूजा गरिरहेछु कि सास फेर्न नै नसकिने गरी तिनलाई चिहानमा पुरिरहेछु भनी ख्याल गर्ने गर्नू । कर्ता वा भक्तजन धेरै भई पूजा गर्ने क्रममा प्रतिमा वा पूजा गरिएका कुरा छोपिने अवस्था आए बेलाबेलामा पन्छाई यथास्थानमा राख्ने व्यवस्था मिलाउनुपर्दछ । देवीदेवताको पूजा गर्दा जेलबाट बाहिर निस्कने कैदीलाई ५० किलोको माला लगाएको जस्तो तरिकाले गरिनु हुँदैन । सबैतिर दलाली देख्ने हाम्रो मानसिकता पूजा गर्दा पनि अरूका हातबाट पूजा हुँदा दलाली हुन्छ कि भनेर सोच्ने गर्दछ । यो गलत सोच हो ।

प्रतिक्रिया