जावलाखेलमा हुने १६औँ गोदावरी मेलाको तयारी पुरा

काठमाडौं । मंगलबारदेखि ललितपुरको जावलाखेलमा सुरु हुने १६औँ गोदावरी फूलको प्रतियोगितात्म प्रदर्शनी २०८० को तयारी पुरा भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । नजिकै आइरहेको तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी फ्यानको आयोजनामा १६ औ सस्करणको रुपमा गोदावरी फूलको प्रदर्शनीको आयोजना गर्न लागि लागिएको हो ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यहि २०८० कार्तिक १४ देखि १८ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा सञ्चालन हुन थालेको हो ।
प्रदर्शनीमा व्यवसायिक स्टल ५१, प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ गरी जम्मा ५७ वटा प्रदर्शनी कक्षहरु रहने छन् ।

यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको बिबिध बिधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रम समेत रहेको छ । जसअन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी–फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराईने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा १) मिनियचर, २) स्पाईडर, ३) रिफ्लेक्स, ४) ईन्कर्भ र ५) गोदावरीको कट फ्लावर प्रजाती रहेको छ । सबै कार्यको लागि तयारी पुरा भएको उपाध्यक्ष तथा मेला संयोजक सिताराम पन्तले बताए ।

यस प्रदर्शनीको सह–आयोजक संस्थाको रुपमा पुष्प बिकास केन्द्र रहेको छ । साथै सहयोगी संस्थाको रुपमा कृषि पुर्वधार बिकास तथा कृषि यान्त्रीकरण प्रबद्र्धन केन्द्र, प्रायोजक संस्थाको रुपमा सेवा कोकोपिट र बैंकिङ साझेदार संस्थाको रुपमा कृषि विकास बैंक रहने भएको छ । मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ठ स्टलतर्फ पनि प्रतिस्पर्धा गराईने कार्यक्रम छ ।

प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा उत्कृष्ठ हुने नर्सरी–फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ । मेलामा नेपालमा बिगत बर्ष देखि नै व्यवसायीक उत्पादन हुदै आएको बिबिध जातका गोदावरी फूल बिरुवाहरुको साथै यस बर्ष भित्रिएका गोदावरी फूलको केहि नयाँ प्रजातीका फूल बिरुवाहरुको समेत प्रदर्शनी तथा बिक्री बितरण हुनेछन् ।

यसका साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको समेत प्रदर्शनीमा समाबेश हुने छन । ‘यस मेलाबाट पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घर आँगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवा प्रति अभिरुची राख्ने, यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास हामीले लिएका छौँ’, पन्तले भने, ‘पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धिसहितका जानकारी पनि मेला स्थलमा नै प्रदान गरिने छ ।’

बिगतमा ४ दिने मेला हुने गरेकोमा यस वर्ष १ दिन थप गरी ५ दिने मेला आयोजना हुने भएको छ । यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष मीनबहादुर तामाङले बताए ।

मेलाको थप आकर्षणहरुमा यस वर्ष सेवा कोकोपिटद्वारा प्रायोजित हरेक दिन बिक्री हुने गेट टिकट नम्बरको आधारमा सोही दिन बेलूकी लक्की ड्र गरी बिजेता हुन सफल एक जना मेला अवलोकन कर्ताहरुलाई गमला सहितको ५ वटा आकर्षक गोदावरी फूलको बिरुवा र ५ किलोको सेवा कोकोपिट उपहार प्रदान गरिने भएको छ । मेला अवधीभर मेला अवलोकन गर्न आउने दर्शक, अवलोकनकर्ता तथा व्यवसायीहरुको शुन्य मौज्दातमा खाता खोली रु.३०० खातावालाको नाममा कृषि विकास बैंकले जम्मा गरिदिने छ ।

साथै खाता खोल्ने ग्राहकहरुलाई मेलामा जुनसूकै फूल बिरुवा खरिदमा १०% छुट को व्यवस्था पनि मिलाइएको जनाइएको छ । फ्यानले बि.सं. २०५१ सालदेखि नै पुष्प व्यवसायको व्यवसायीक बिकास बिस्तार तथा प्रबद्र्धनका लागि लगातार रुपमा पुष्प मेला–पदर्शनीको आयोजना गर्दै आएको छ ।

नेपालीहरुको महान चाड तिहार पर्व नजिकीदै गर्दा घर आगन बगैचा सजाउन तथा स्वागत सत्कारमा बिशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यवसायीक प्रवद्र्धन गर्न, समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुर्याउनका लागि यस किसिमका कार्यव्रmमहरु आयोजना गर्ने गरिएको छ । मंगलबार ११ बजे जावलाखेल खेल मैदानमा मेलाको उद्घाटन कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका मन्त्री डा. बेदुराम भुसाल बाट हुने कार्यक्रम रहेको एसोसिएसनले जनाएको छ ।

पुष्प व्यवसायको वर्तमान अवस्था

नेपालमा बि.सं.२०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय सुरु भएको ईतिहास रहेको छ । यसपछि पुष्प व्यवसायले बिस्तारै गति लिएको थियो । बिसं. २०४९ साल ताकासम्म लगभग जम्मा ८० को संख्यामा मात्रै नर्सरी व्यवसायीहरु रहेको थियो ।

२०४९ सालमा संस्थागत रुपमा फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को स्थापना भए पश्चात मात्र पुष्पको व्यवसायीक बिकास, बिस्तार र प्रबद्र्धनले गति लिएको छ । हाल बढ्दो शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहलगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलदो अवस्थामा रहेको छ ।

हरेक वर्ष पुष्प व्यवसायको बार्षिक बृद्धिदर १० देखि १५% को हाराहारीमा रहदै आएकोमा बिगत केही वर्ष कोभिड महामारीका कारण नकारात्मक असर पर्न गई खुम्चिन पुगेको थियो । तर पुनः आ.ब. २०७९÷८० देखि पुष्प व्यवसायले गति लिएको छ ।

हाल ४८ जिल्लामा लगभग २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको छ । १११६ भन्दा बढि (नर्सरी–५०५, कट फेलावर उत्पादक–८०, कट फ्लावर खुद्रा व्यवसायी–१३७, पुष्प थोक व्यवसायी–४, ईनपुट सप्लायर्स–२५ र लुज फ्लावर उत्पादक –३६५) पुष्प व्यवसायीमा संलग्न रहेको छ । पुष्प ब्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर ४४,००० भन्दा बढि जनशक्तिहरु रोजगार रहेको छ ।

आ.व. २०७५–७६ मा पुष्पको बार्षिक कारोबार रु. २ अर्व ४२ करोड रहेकोमा आ.व.२०७६–०७७ र आ.व.०७७–७८ मा वर्षै भरी कोभिड–१९ महामारीको कारण भएको निषेधाज्ञा र लकडाउनले गर्दा व्यवसायीक कारोबारमा कमी आई जम्मा रु.१ अर्व ६३ करोड मात्र भएको थियो ।

तथापी आ.व.२०७८–०८९ मा कोभिड–१९ को असर केहि कम हुँदा समग्र व्यवसायीक तथा आर्थिक क्षेत्रहरु केही चलायमान र सुधारोन्मुख हुदा आ.व.२०७७–०७८ को तुलानामा करिब ३०% ले पुष्पको वार्षिक कारोवारमा वृद्धि भई रु.२ अर्व ३० करोड हाराहारीमा कारोबार भएको थियो भने यस आ.व ०७९–८० मा ३ अर्व ७ करोड भन्दा बढिको कारोबार भएको छ । आ.ब.२०७८÷०७९ को तुलनामा यस आर्थिक बर्ष ०७९÷८० मा करिब ३३.६३% ले बार्षिक कारोबारमा वृद्धि भएको छ ।

यहि आर्थिक वर्ष ०७९÷८० मा पुष्प तथा पुष्पजन्य बस्तुको निर्यात रु ६८.१८ लाख मात्रै रहेको र आयात तर्फ भने ३३.०६४८ करोड बराबरको कारोबार भएकोे भनसार बिभागको तथ्यांक रहेको छ ।

प्रतिक्रिया