नेपालमा लगानीका अवसरहरू छोप्न गैरआवासीय नेपालीहरूलाई अध्यक्ष ढकालको आग्रह

लन्डन । नेपाल उद्योग वाणिज्य महास‍ंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रचुर अवसरहरू भएकाले लगानी बढाउन बेलायतमा रहेका गैरआवासीय नेपालीहरूलाई आग्रह गरेका छन् ।

नेपाल जनसम्पर्क समिति बेलायतले लन्डनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको जलविद्युत र पर्यटनमा लगानीको प्रतिफल उच्च रहेकाले लगानी बढाउन आग्रह गरेका हुन् ।

बेलायतस्थित गैरआवासीय नेपालीको समेत लगानीमा चन्द्रागिरि हिल्स तथा केबलकार सञ्चालनमा ल्याएको चन्द्रागिरि हिल्स नेपालकै आकर्षक पर्यटन गन्तव्य बनेको र उच्च प्रतिफल दिएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष ढकालले लगानी बढाउन हिचकिचाउनु पर्ने कारण नरहेको बताए ।

सातै प्रदेशमा चन्द्रागिरि जस्तै हिल स्टेसन सहितका केबलकार परियोजना अघि बढाएको उल्लेख गर्दै अध्यक्ष ढकालले आफू जन्मे हुर्केको प्रदेशमा रहेका पर्यटकीय पूर्वाधार परियोजनामा लगानी गर्न पनि गैरआवसीय नेपालीहरूलाई आग्रह गरे ।

कास्कीको सिकलेस, ताप्लेजुङको पाथीभरा र कर्णाली चिसापानीको जालपादेवी केबलकार परियोजना निर्माणको चरणमा प्रवेश गर्न थालि सकेकाले लगानीको अवसर हातमै आइपुगेको पनि अध्यक्ष ढकालले जानकारी गराए ।

यसै गरी गैरआवासीय नेपालीहरूसँगको सहकार्यमा म्याग्दीमा जलविद्युत परियोजना सम्पन्न भइसकेकोले अन्य जलविद्युत परियोजनामा समेत लगानी बढाउन पनि अध्यक्ष ढकालले आग्रह गरे ।

विश्वव्यापी संकटका असरले नेपालको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै गएको, उल्लेख्य रूपमा रेमिटेन्स भित्रिएको, पर्यटक आगमनमा सुधार भएको र बैकीग क्षेत्रमा लगानी योग्य रकम बढिरहेकाले लगानीको वातावरण सुधार भइरहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

सामाजिक सञ्जाल मार्फत फैलिने नकारात्मक कुरालाई ध्यान नदिएर नेपालमा रहेका लगानी अवसरहरूलाई छोप्न पनि अध्यक्ष ढकालले आग्रह गरे । लगानी तथा प्रतिफलका हिसाबले नेपालमा अवसरै अवसरको सम्भावना भएकाले त्यसबाट फाइदा उठाउन ढिलाइ नगर्न पनि अध्यक्ष ढकालले आग्रह गरे ।

प्रतिक्रिया