प्युठान । घरको मुख्य अभिभावक बिरामी परेर अस्पतालमा भर्ना भएकी बृद्ध आमाबाट प्युठान अस्पतालमै पुगेर आफन्तले दशैको टीका लगाएका छन ।
अस्पताल भर्ना गरिएकी प्युठान नगरपालिका वडा नम्बर ९ मजुवाका मन बहादुर केसीकी आमाको हातबाट टिका थाप्न सबै आफन्त प्युठान अस्पतालको बेडमा पुगेका हुन ।
१३ दिन अगाडि दम एक्कासि बढेपछि प्युठान अस्पतालमा उपचाररत प्युठान नगरपालिका वडा नम्बर ९ कि ८७ वर्षीय तुल्सीदेबी केसीले दशैको दिन अस्पतालमै भएपनि आफन्तलाई टीका लगाउन पाउँदा आफू निकै खुसी भएको बताइन् । आफन्त आउदा मन प्रशन्न भएर बिरामी हल्का निको भएको जस्तो हुन्छ ।तर उमेर घर्केपछी कहिले कुन रोगले चाप्छ कहिले के हुन्छ पत्तै नहुने बताइन् । उनले भनिन् ‘घरमा भएको भए छरछिमेकहरु पनि टीका र आशीर्वाद लिन आउनुहुन्थ्यो होला । म अस्पताल बेडमा परे बचेर फर्केछु भने अर्को वर्ष सबै छरछिमेक भेट होला ।’
आफ्ना छोराछोरी नानतिना बुहारी ज्वाइलाई एक्कासि अस्पतालमा देख्दा बिरामी आमा खुसीले देखिन्थिन् । आफन्हरु अस्पतालमा टीका थाप्न आउदा आसपासका बिरामीमा समेत खुसी छाएको थियो ।
दमको बिरामीलाई चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने भएकोले महान पर्व बडा दसैंमा समेत आमालाई घर लैजान नसकिएको छोरा केसीले बताए । अस्पतालमा रहेकी आमाको परिवारका सदस्यबाट पालैपालो कुर्नुपर्ने र रेखदेख गर्नुपर्ने भएकोले यस वर्षको दशै सबै परिवार संग बसेर रमाइलो गर्न नपाएको आफन्तको भनाइ छ । प्युठान अस्पतालमा उपचार सेवामा अहिले राम्रो सुधार भएको र विशेषज्ञ चिकित्सकले बेलाबेला हेर्ने र सल्लाह दिने गरेको मन बहादुर केसीले बताए ।
प्रतिक्रिया