चितवन । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरुले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् । पारिवारिक भेटघाटका क्रममा आज चितवन आएका उनले पत्रकारसँग कुराकानी गर्दै सबै दलले देश र जनतालाई केन्द्रमा राख्न नसक्दा राजनीतिक अस्थिरता बढेको बताए ।
‘देश र जनतालाई केन्द्रमा राख्न नसक्नुको परिणाम कोशी प्रदेशमा देखिएको छ’, अध्यक्ष भट्टराईले भने, ‘दलका नेताले आफ्नो दल, गुट र सत्तालाई केन्द्रमा राखेर विधि र पद्दतिलाई मिच्ने काम भएको छ ।’ यसले लोकतन्त्रको हित नहुने उनको भनाइ थियो ।
हामीले अपनाएको शासकीय प्रणालीले कसैलाई पनि बहुमत नदिने भन्दै भट्टराईले भने, ‘दलहरुले पहिलेनै समझदारी गरेर निश्चित अवधिको निम्ति गठबन्धन टिकाउने काम गर्नुपर्यो, कि त निर्वाचन प्रणाली बदल्नु पर्यो ।’ अहिलेको गठबन्धनले गठबन्धनको मर्मअनुसार काम गर्न नसकेको उनले बताए ।
उनले भने, ‘गठबन्धनको जुन मर्म छ त्यस अनुसार गठबन्धनमा रहेका दल र नेतृत्व गरेको सरकार चल्न सकेको देखिँदैन ।’
अहिले देशको अर्थतन्त्र जटिल मोडमा रहेको बताउँदै अध्यक्ष भट्टराईले सरकारले गम्भीर भएर समस्या समाधान गर्न लाग्नुपर्नेमा जोड दिए । देशलाई तीव्र औद्योगीक विकासको गतिमा लान नसक्दा अर्थतन्त्र कमजोर बन्दै गएको उनको भनाइ थियो ।
प्रतिक्रिया