काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयप्रति जनविश्वास बढाउन सामूहिक प्रतिबद्धता जरुरी भएको बताएका छन् । उच्च अदालत पाटनको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले न्यायालयप्रतिको आस्था वृद्धि गर्न न्याय सेवा प्रवाह छिटोछरितो हुनुपर्नेमा जोड दिए ।
‘भौतिक सुविधाका साथै न्यायालयमा सेवाग्राहीको सहज पहुँच हुनुपर्छ’, ‘प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘नयाँ भवनको उपयोगसँगै अदालतको काम कारबाही उपभोक्ताको लागि सहज हुने र न्यायापालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु ।’
न्यायालयको सुधारमा निरन्तर लागिरहेको र दुई वर्ष पुराना मुद्दा किनारा लगाउने उद्देश्यले अभियानकै रुपमा काम गरिरहेको प्रधानन्यायाधीशले बताए ।
‘न्यायालयको सुधारका लागि निरन्तर प्रयास भइरहेको छ, रिक्त भएका तीनवटै तहका न्यायालयमा न्यायाधीश नियुक्ति प्रक्रिया प्रारम्भ भएको छ,’ उनले भने । सेवाग्राहीलाई गुणस्तरीय सेवा दिएर न्यायसम्पादनलाई प्रभावकारी बनाउदै न्यायालयलाई आम नागरिकको आस्थाको केन्द्रमा रुपान्तरण गर्न उनले निर्देशन दिए ।
त्यस अवसरमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीश डा आनन्दमोहन भट्टराई र सपना मल्लप्रधान, उच्च अदालतका पाटनका कायममुकायम मुख्य न्यायाधीश महेश शर्मा पौडेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता शंकर खत्री र पाटन बार एशोसिएशनका अध्यक्ष शान्तिराम खतिवडाले पनि मन्तव्य व्यक्त गरेका थिए ।
उक्त भवन रु ५८ करोडको लागतमा बनेको हो । भवनमा १२ वटा इजलास कक्ष, न्यायाधीशका लागि २३ वटा कोठाको व्यवस्था गरिएको छ । भवनको २०७२ चैत १० गते तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले शिलान्यास गरेका थिए ।
प्रतिक्रिया