स्यालाखदीमा दशैँको मुखैमा खाद्यान्न अभाव, एक पोका नुनको ६० रुपैयाँ

चाडपर्वमा महँगीको बोझ

रुकुम पश्चिम । कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पासँग जोडिएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा दशैँको मुखैमा खाद्यान्न अभाव भएको छ । यो वर्षको दशैं तिहारसम्म खाद्यन्न अभाव हुने देखिएको छ । जिल्लामा भएका खाद्य संस्थान तथा व्यापार कम्पनीहरुले सडक अवरुद्धका कारण समयमै ढुवानी नगर्दा खाद्यन्न अभाव देखिएको हो । बजारमा खाद्यान्न अभाव भएको मौका छोपी व्यापारीले कालोबजारी सुरु गरेका छन् ।

व्यापार कम्पनीमा खाद्यान्न मौज्दात मात्रामा नहुँदा जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्वर १,२ र ३ मा खाद्यान्नको अभाव सुरु भएको हो । जिल्ला सदरमुकामबाट झण्डै ६५ किलोमिटर रहेको आठबिसकोट नगरपालिकाको स्यालाखदीमा अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको स्थानीयको गुनासो छ । चामल, तोरीको तेल, सूर्यमुखी तेल, दाल, चिनी लगायत उपभोग्य बस्तुको भाउ छोइ नसक्नु भइसकेछ । चामल बोरामा एक हजार रुपैयाँ बढेको छ । १६ सय रुपैयाँ पर्ने मोटो चामल अहिले २५ देखि ३ हजारसम्म मूल्य पर्ने भएको छ ।

भर्खरै स्यालाखदीमा सडक पुगेको छ । त्यहाँ सडक पुगे पनि वर्षातका कारण यातायातका साधन चल्दैनन । यातायातको रूपमा रहेको गतिलो माध्यम घोडा, खच्चड भने निर्वाध चलिरहेका छन् । आठबिसकोट नगरपालिकाको राडीबजार, बाँफिकोट गाउँपालिकाको छिनखेत, नदुवा र जाजरकोटको तल्लुबगरबाट घोडा, खच्चडबाट सामान ढुवानी गर्नुपर्ने बाध्यता छ । दाल, तेल, मसला, चिनी, प्याज र लसुनलगायत सबैजसो दैनिक उपभोग्य वस्तुमा चर्को मूल्य वृद्धि भएको छ । कर्णाली प्रदेशको पहाडी जिल्लाका ग्रामिण क्षेत्रमा अत्यधिक खपत हुने मोटो चामल चार महिनामै प्रतिबोरा नौ सयले महँगिएको हो ।

ग्रामिण क्षेत्रका उपभोक्ताले सर्वाधिक प्रयोग गर्ने चामलमा एक हजार रुपैयाँले बढेको छ । आर्थिक रुपमा सम्पन्न परिवारले प्रयोग गर्ने दैनिक उपभोग्य वस्तुमा भन्दा न्यून आय भएका परिवारले किन्ने उपभोग्य सामग्रीको मूल्य बढेको देखिन्छ । दशैँको मुखमा दैनिक उपभोग्य वस्तु ‘मूल्य वृद्धिले आर्थिक रुपमा कमजोर वर्गलाई धेरै प्रभावित बनाएको छ । नजिकिदैँ गरेको दसैँ, तिहार, छठपर्व लगायतका चाडपर्वहरुलाई लक्षित गरि दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धिले उपभोक्ता मारमा परेका छन् । गत वर्षहरुमा जस्तै जब चाडपर्वहरु नजिकिन्छन् तब दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि हुने परिपाटी रोकिएको छैन । दैनिक उपभोग्य दाल, चामल, तरकारी साथै चिनी, चिउरा, तेल लगायतको भएको मुल्य बृद्धिले उपभोक्ता मारमा परेका हुन ।

अहिले त्यही खच्चडमा ल्याएको स्थानीय बजारमा पाइने खाद्यान्नदेखि आयोडिनयुक्त नुनको मूल्य छोइनसक्नु भएको स्थानीयले बताए । खच्चड र घोडाबाट ढुवानी गरेको नुनको मूल्य स्यालाखदीमा प्रतिकेजी ५०–६० रुपैयाँ पर्ने गरेको छ । सदरमुकाममा प्रतिकेजी १० रुपैयाँमा पाइने आयोडिनयुक्त नुन स्यालाखदीमा ६० रुपैयाँमा किनबेच भइरहेको छ । व्यापारीले खानेनुनको समेत दुर्गममा चर्को मूल्यमा बिक्री गर्ने गरेका छन् । तेल प्रतिलिटर १५० रुपैयाँ र जिरा चामलको बोरालाई ३५ सय रुपैयाँ पर्ने स्थानीय व्यापारी धन बहादुर बोहोराले बताए ।

घोडा मार्फत सामान ढुवानी गर्नुपर्ने भएकोले महँगो पर्ने बोहोराले सुनाए । उनले भने, ‘घोडा खच्चडबाट ढुवानी गर्दा प्रति क्विन्टल २ हजार रुपैयाँ र एक गाडी सामान ल्याउँदा २५ हजार रुपैयाँ भाडा तिर्नुपर्छ । १२ महिना सडक नबन्दा सम्म यहाँको मालसामान महँगो नै पर्न जान्छ ।’ गाउँमा सर्वसाधारणले उत्पादन गरेको वस्तुको मूल्य भने खासै बढेको पाइदैँन । बजारबाट घरमा भित्रने वस्तुको मूल्य बृद्धि भएको स्थानीयको गुनासो छ । बिचौलियाले मूल्य वढाइँदिँदा उपभोक्ताले महंगो मूल्य तिर्न बाध्य भएका हुन् । सर्वसाधारणको आम्दानीमा भने वृद्धि हुन सकेको छैन ।

यहाँको ग्रामीण बस्ती खेत, रोकाजा, डाँडागाउँ, पहाडा, स्याला र खदीमा केहि दिनदेखि खाद्यान्न अभाव हुन थालेको छ । बर्खा सुरु भएपछी अवरुद्ध बनेका सडकका कारण यातायात नचल्दा ग्रामीण बस्तीमा खाद्यान्नको संकट देखिएको हो । वर्षायामको कारण बजारमा विक्री गरिने खाद्यान्नको मूल्य महँगो भएको र सहुलियत दरमा बिक्री हुने खाद्यान्न नभएपछि ग्रामीण बस्तीका सर्वसाधारण मर्कामा परेका छन् ।

दशैँ आउनै लाग्दा सडकका कारण आठबिसकोट नगरपालिकाका स्यालाखदीवासीलाई खाद्यान्न र अन्य किनमेलका लागि झन् समस्या भएको छ । बर्षात सुरु हुने वित्तिकै सडक पूर्णरूपमा अवरुद्ध हुने गर्छन् । स्यालाखदी जाने आउने प्रमुख नाका नै अवरुद्ध हुँदा दशैँको मुखैमा आएर खाध्यान्नदेखि सम्पूर्ण मालसामानहरूको संकट पर्न थालेको स्थानीय धन बहादुर बोहोराले बताए ।

लामो समयसम्म सडक सुचारु नहुँदा स्यालाखदी का स्थानीय सास्ती जेल्न बाध्य भएका छन् । साथै माथिल्लो स्थानमा उत्पादन भएका स्याउ, आलु फापर निर्यात गर्न कठिनाइ भइरहेको बोहोराले सुनाए । राप्ति राजमार्ग अन्तर्गत पर्ने नदुवा खदी, पाटागाउँ सडक निर्माण भैरहेको र बर्षातको समयमा धेरै ठाउँमा ठूला ठूला पहिरो गएकाले करिव ४ महिना सडक बन्द हुने गर्छन । यो समयका लागि यहाँका स्थानीयले खाद्यान्न मौजत राख्नुपर्ने बाध्यता छ । ढुवानी अभावले खाध्यान्न अभाव भएको र घोडा, खच्चडबाट ढुवानी गर्दा सामान समयमा नपुग्ने र पुगेका सामान पनि अति महँगो पर्ने स्थानीय इतिहास परियारले बताए ।

दशैँको मुखमा दैनिक उपभोग्य बस्तुहरु महँगो हुँदा यहाँका स्थानीयलाई दशैँमा मारमा पर्ने चिन्ता बढेको छ । वडा नम्वर –३ मा होटल व्यवसाय सञ्चालन गर्दै आएकी मनकुमारी देवकोटा खाद्यान्न अभाव हुँदा होटलमा आउने पाहुँनालाई रोटी र गाउँघरमै फलाएको धानको खाना खुवाउन परेको बताइन् । उनले भनिन्, ‘राडीबजारमा १५ सय रुपैयाँ पर्ने सामान्य मोटो चामलको बोरालाई खदीमा २५ सय रुपैयाँ पर्ने र त्यहि पनि पसलमा किन्न पाइँदैन ।’ उनका अनुसार घरमै उत्पादन भएको पाखामा लगाइएको धान भनेजति मात्रामा नपाउने हुँदा होटलमा आउने ग्राहकलाई समेत अप्ठ्यारो हुने गरेको छ ।

रुकुममा पाँदैन्, सहुलियत मूल्यको चामल र नुन

रुकुम पश्चिमका उपभोक्ताले सहुलियत दरको चामल खान पाएका छैनन् । दुर्गम भेकमा रहेका यहाँका गाउँमा अझै पनि सहुलियत दरको सामान आउने गरेको छैन ।

नागरिकमा दशैं नजिकिँदै गर्दा चामल पु¥याउन सकिएन भने कसरी दशैँ मनाउने भन्ने चिन्ता छ । अहिले दैनिकरुपमा घोडा खच्चडबाट ढुवानी भैरहेको छ । वडा नम्वर ३ का वडाअध्यक्ष केशरमान विकले भने, ‘सदरमुकामलगायत टाढा टाढाबाट पनि दशैंका लागि सहुलियत दरमा खाद्यान्न ढुवानी गरेर दशैँसम्म उपभोग्य सामान गाउँमा पु¥याउन खाद्य संस्थान रुकुम पश्चिम र नेपालगन्जसँग समन्व भइरहेको छ । आवश्यकता अनुसार स्थानीयलाई पु¥याउन सकिएको छैन ।’

शाखा कार्यालयमा चामल पनि पर्याप्त नहुनु र डिपो केन्द्रहरु पनि रित्तिएलगत्तै आजभोलि यहाँका स्थानीयहरु बजारको चर्को मूल्यको चामल खान बाध्य भएका छन् ।

भौगोलिक विकटताका कारण यहाँका स्थानीय चाडपर्वमा सधैँ ठगिदै आउने गरेका छन् । ब्यापारीले भाडाको बहानामा सामानको मुल्यवृद्धि गर्दा उपभोक्ता मारमा परेका हुन् । १० रुपैयाँमा पाइने चाउचाउ, विस्कुट समेत २० रुपैयाँमा किन्नुपर्ने यहाँको बाध्यता छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया