शोकमग्न धनुषा : आनन्द साहको परिवारजनमाथि ब्रजपात

जनकपुरधाम । वर्षौं पहिले इराकमा १२ नेपालीको हत्या हुँदा रोएका नेपालीलाई इजरायलमा शनिबार भएको आतंककारी हमलामा १० जनाको मृत्यु भएपछि मुलुक पुनः स्तव्ध भएको छ । इजराइलमा दुःखद् मृत्यु भएका नेपालीहरूमा एक धनुषाका पनि थिए । इजराइल घटनामा परी ज्यान गुमाएका धनुषाका आनन्द साह परिवारको एक्लो चिराग थिए । परिवारको एक मात्र पुत्र रहेका आनन्दको इजरायलमा भएको आतंकी हमलामा मृत्यु भएपछि अहिले परिवारजनमाथि बज्रपात भएको छ । इजरायलमा मारिएका १० नेपालीमा परेका धनुषा सपही–४ का आनन्दको दुःखद् मृत्युपछि पूरा गाउँ नै शोकमग्न बनेको छ । तीन कान्छी बहिनी, बुबाआमा र हजुरआमाका जिगरका टुक्रा आनन्दको मृत्युको खबरले सपही शोकमा डुबेको हो । सपही गाउँ नेपालका पहिलो राष्ट्रपति डा.रामवरण यादवको गृह गाउँ पनि हो ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपही बस्ने सोमन साहका २२ वर्षीय छोरा आनन्द साहको आतंकी हमलामा मृत्यु भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रेग्मीले पुष्टि गरेकी छन् । इजरायलमा भएको आतंकी हमलाको क्रममा सपहीका आनन्द साह मारिएको खबर आइतबार अपरान्ह परिवारजनलाई जानकारी भएको थियो । तीन दिदीबहिनी रहेको आनन्द परिवारमा एक्लो छोरा थिए । तीन दिदिबहिनीको एक मात्र भाई आनन्द परिवारको सबभन्दा दुलारु (प्रिय) पात्र थिए ।

आनन्दको मृत्यु भएको खबर आइतबार दिउँसो ४ बजे गाउँमा फैलिएको वडाध्यक्ष रमेशकुमार साहले बताए । उनको बहिनीले पटकपटक फोन गरी उनको साथीसँग कुरा गर्दा आनन्दको मृत्यु भएको खबर दिएपछि उनी बेहोस भइन् । त्यसपछि वडाध्यक्ष साहले आफैँ उनको घर पुगेर परिवारजनलाई सान्त्वना दिएको बताए । त्यतिबेलासम्म समेत मृत्युको खबर झुठो होस् भने आश पलाए पनि दूतावासले पुष्टि गरिदिएपछि बज्रपात भएको वडाध्यक्ष साहले बताए ।

गत भदौ २६ गते मात्र उनी कृषिसम्बन्धी तालिम लिनका लागि गएका थिए । कृषिसम्बन्धी तालिम लिन उनीसँगै नेपालका अरू २५ जना विद्यार्थीहरू गएका थिए । जनकपुरको एन्जलस बोर्डिङ स्कुलबाट एसइई र मिट क्याम्पसबाट आइएससी उत्तीर्ण गरेका आनन्द त्यसपछि इजरायल पुगेका थिए ।

शोकमग्न परिवार

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपही गाउँको पुरानो घरको आँगनमा सुकेको अम्बाको बोटमुनि गोलबद्ध स्थानीयका बीच पुत्र वियोगमा व्याकुल २२ वर्षीय आनन्द साहका बुबा सोमन साहलाई स्थानीयहरूको सान्त्वनाले पनि उनको आँशुको धारा रोकिन सकेको छैन ।
चार सन्तान मध्ये सबैभन्दा जेठो एक मात्र छोरा आनन्द इजरायल गएको २७ दिनमै एक मात्र साहारा गुमाएको खबरले आनन्दकी आमा शिवकली देवी र हजुरआमा बसमतिया देवी साहको अवस्थाको विषयमा सुनाउन र देखाउन सकिने अवस्था छैन, छिमेकीको घरको बरन्डामा आनन्दकी कान्छी बहिनी आरती अहिले पनि बेहोस छिन् । उनलाई स्लाइन पानीसहित राखिएको छ । कक्षा पाँचसम्म स्थानीय अक्सफोर्ड अंग्रेजी स्कुलमा पढेका आनन्द कक्षामा सधँै प्रथम हुन्थे । जनकपुरधामको एन्जल्स स्कुलबाट एलएलसी र मिट क्याम्पसबाट प्लस टु गरेका उनले टीकापुरबाट पूर्ण छात्रवृत्तिमा बिएससिएजी पढेका थिए ।

आनन्दका बुबा सोमनका अनुसार बिएससिएजीको पढाइपछि आनन्द पाँच महिनाका लागि इन्टर्नसिपमा डडेलधुरा गएका थिए । त्यहाँबाट उनको इजरायल जाने निधो भयो । ‘टु लर्न टु वर्क’ भिसामा गएका उनले आफूलाई चौरीमा लेमन (कागती) र त्यसका झारपात तोडने काममा लगाइएको बताएका थिए । बस्न प्रतिमहिना सात सय र कलेजका लागि ५ हजार ८८ अमेरिकी डलर यहाँ आएपछि माग गर्न थालेको पनि उनले अभिभावकलाई सुनाएका थिए ।

एक्लै छोरा भएकाले अभिभावकले फर्किन आग्रह गरे तर उनले १० महिना हेर्न कमाएर पैसाको जोहो गर्ने र त्यसपछि निर्णय लिने भन्दै अभिभावकलाई सम्झाउँदै आएका थिए । शनिबारबाट उनको फोन उठन छोडेपछि परिवारजनको जमिन खस्कियो र त्यसपछि आएको समाचारले उनको परिवार क्षतविक्षत भएको छ । आनन्दका बुबाको अनुसार टिकेटमा ८५ हजार, पासपोर्टमा ३५ हजार, मेडिकलमा १० हजार र किनमेलमा ६० हजार गरी करिब अढाई लाख खर्च गरेर आनन्द त्यहाँ पुगेका थिए ।

आन्दोलित स्थानीय

इजरायल हमलामा सपहीकै २२ वर्षीय युवक आनन्द साह मारिएपछि स्थानीयहरूले चक्काजाम गरेका छन् । स्थानीयहरूले आनन्द साह मारिएपछि उनको शव ल्याउनका लागि सरोकारबालाहरूले पहल नगरेको भन्दै चक्काजाम गरेका थिए । सरकारको तर्फबाट मृतक नेपालीहरूको शव ल्याउनका लागि पहल नगरेको भन्दै सो सडकखण्ड चक्कजाम गरेको हो । आनन्दजस्ता नेपालका होनहार युवाहरूलाई गलत प्रलोभनमा पारेर विदेश पठाइएको र हत्या हुँदा पनि सरकार मौन बसेको भन्दै सपही गाउँवासी ढल्केवर–जनकपुरधाम राजमार्गमा प्रदर्शन तीव्र गरेका छन् । एक सप्ताहभित्र आनन्दको शव र उचित राहत तथा क्षतिपूर्तिको व्यवस्थापन नभए कडा आन्दोलन गर्ने सोमबार एक घण्टा सडक जाम गरेका युवाहरूको चेतावनी छ । हत्याको समाचारहरू आइसकेको भए पनि राज्यका कुनै पनि निकाय आनन्दको घरमा अहिलेसम्म सम्पर्कसमेत नगरेको र भेट्न पनि नआएको भन्दै युवाहरू आक्रोशित छन् ।

सरकारले क्षतिपूर्ति दिनुपर्छ : सांसद यादव

मधेस प्रदेशका सांसद शेषनारायण यादवले इजरायलस्थित भएको आतंकी हमलामा मारिएका धनुषाका आनन्द साहको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । धनुषा निर्वाचन क्षेत्र नं. ४ (क) बाट नेपाली कांग्रेसका विधायक शेषनारायण यादवले आनन्दको परिवारप्रति बज्रपात भएको भन्दै सरकारले पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्ने धारणा राखेका छन् । आफ्नो निर्वाचन क्षेत्रको युवकको अनाहकमा ज्यान भएको भन्दै केन्द्र सरकारले उनको शव यथाशीघ्र नेपाल ल्याउने व्यवस्था मिलाउनुपर्ने पनि माग गरे । उनले आफू प्रदेश सांसदको हैसियतले आनन्दको परिवारलाई क्षतिपूर्तिको लागि केन्द्र सरकारसम्म जाने बताए ।

इजरायलमा हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको शोकमा मंगलबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय सरकारले गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मंगलबार राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । साथै, मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने र नेपाल आउन चाहने नेपालीलाई यथाशीघ्र स्वदेश फिर्ता गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया