दूध बोक्ने गाडी पल्टिँदा एकको मृत्यु, एक जना घाइते

मकवानपुरको बकैया गाउँपालिका—५ गरगरेमा दूध बोक्ने गाडी दुर्घटना हुँदा घाइते भएका सहचालक प्रेम अधिकारीलाई उद्दार गर्दै वागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान । उक्त गाडी दुर्घटनामा चालक सिद्धान्त लामाको मृत्यु भएको छ । तस्विर रासस

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान बकैया गाउँपालिका–५ सिरपुर ओरालोमा दूध बोक्ने गाडी ना १ घ ५४४ नम्बरको गाडी लगभग दुई सय मिटर तल खस्दा चालक हेटौँडा उपमहानगरपालिका–९ लामसुरेका सिद्धान्त लामाको मृत्यु भएको हो ।

बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले आफ्नै अगाडी गाडी पल्टिएको र तत्कालै उद्धार गरेर चालक लामालाई अस्पताल पुर्याउँदा हेटौँडा अस्पतालका चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको जानकारी दिए । उनका अनुसार सोही स्थानका सहचालक प्रेम अधिकारीको अस्पतालमा उपचार भइरहेको छ ।

अध्यक्ष घलानले नेकपा माओवादी केन्द्रको बागमती गाउँपालिका अध्यक्ष अरुण बल, पालिकाका कृषि शाखाप्रमुख वीरेन्द्र समालसहित हेटौँडा जाँदै गर्दा उक्त गाडी खसेपछि प्रहरी चौकी गरगरेमा जानकारी गराई उद्धारमा खटिएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दूध लिनका लागि हेटौँडाबाट बकैया गाउँपालिकातर्फ गइरहेको गाडी ओरालोमा अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया