मलेखुका होटेल व्यवसायीले अबदेखि माछामा रङ प्रयोग नगर्ने

धादिङ । माछामा खानै नमिल्ने रङ मिसाउने गरेको कुरा चर्चामा आएपछि मलेखुका माछा बिक्री गर्ने होटल व्यवसायीले अखाद्य रङको प्रयोग हटाउन थालेका छन् । गजुरी गाउँपालिका–२ स्थित मलेखुको मजुवा बजारका होटल तथा माछा पसलेहरुले अब आइन्दा माछा तथा अन्य खानामा रङको प्रयोग नगर्ने सामुहिक प्रतिवद्धता जनाएका हुन् ।

‘कालो देखिएको रङ प्रयोग नगरिएको फ्रेस माछा हो’, व्यवसायी जीवन अधिकारीले भने, ‘रङ दलेर रातो आकर्षक बनाइएका कहिँकतै देख्नुभयो भने पनि नखानुहोला, किनकी त्यसमा पकाएर खानै नमिल्ने अखाद्य वस्तुको मिसावट हुन सक्छ ।’

त्यस्ता आकर्षक बनाएर राखिएका माछामा अखाद्य वस्तु मिसावट हुने पुष्टि भएपछि स्थानीय होटल व्यवसायी र माछा व्यवसायीले अबदेखि त्यस्ता रङको प्रयोग ठप्पै पार्ने अभियान थालिसकेका छन् । अनुगमनकारी निकायहरुलाई नै साक्षी राखेर व्यवसायीहरुले अज्ञानताका कारण माछा राम्रो देखाउन रङको प्रयोग गरेको र त्यसले मानव स्वास्थ्यमा पर्ने असर थाहा भएपछि आफूहरुले सचेत भएर रङको प्रयोग हटाउने अभियान थालिएको उनको भनाइ छ ।

मजुवा बजारमा ४५ वटा माछा बिक्री गर्ने होटल तथा पसल छन् । सबै व्यवसायीहरुले रङ हटाउने सामूहिक निर्णय नै गरेका छन् । मूल्यमा पनि एकरुपता कायम गर्ने र अटेर गरी राज्यले तोकेको मापदण्ड विपरित रङ प्रयोग तथा अन्य काम गर्नेहरुलाई व्यवसायीहरु आफैले पनि कारबाही प्रकृया अगाडि बढाउने निर्णय गरेका छन् ।

माछा व्यवसायीले सामूहिक प्रतिवद्धता गरेर सधैँका लागि रङको प्रयोग हटाउने निर्णय गरेसँगै नियामक निकाय पनि सकारात्मक बनेको छ । व्यवसायीहरुले बुझाएको प्रतिवद्धतापत्र बुझ्दै जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले व्यवसायीहरुले गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको पाइए आगामी दिनमा कानून अनुसार कडा कारबाही गरिने बताए ।

‘रङ दलेर आकर्षक बनाउने चलन नआउँदै पनि मलेखुको माछा वर्षौँदेखि देशभर प्रख्यात थियो, सबैले मिठो मानेर खान्थे, रङ मिसाएर रातो बनाउन थालेपछि पनि स्वाद फेरिएको थिएन’, होटल व्यवसायी संघका जिल्ला अध्यक्ष रामशरण सिलवालले भने, ‘वर्षौँदेखि प्रख्यात रहेको मलेखुको माछामा राम्रो देखाउनकै लागि हानिकारक रङ मिसावट गरेको खबरले देश विदेशमा समेत मलेखुकै नाम बदनाम भएकोप्रति व्यवसायी दुखित बनेका छन् ।’


माछाका थरीथरी परिकार पकाएर चाख्दा चाख्दै उपभोक्ता भन्दा जोखिममा व्यवसायी नै परिरहेको थाहा पाएपछि ती व्यसायीले रङ नमिसाउने सामूहिक प्रतिवद्धता गरे पनि पेट्रोलपम्प क्षेत्रका व्यवसायीले भने सामूहिक प्रतिवद्धता गर्न सकेका छैनन् ।

फुर्केखोला क्षेत्रका व्यवसायीले झनै अटेर गरिरहेको उपभोक्ताहरुको गुनासो छ । अखाद्य वस्तुको मिसावट चटक्कै छोडेर सफा र मिसावटरहित माछा बिक्री वितरण गर्न सके मलेखुको माछा बजार पहिले जस्तै प्रख्यात बन्नेछ र व्यवसायले पनि पुरानै गति लिनेछ ।

प्रतिक्रिया