कुटपिट गरी एक पुरुषकाे हत्या गर्ने दुई जना पक्राउ

काभ्रे । सामान्य भनाभन हुँदा दुई जना मिलेर एक जनाको हत्या गर्नेलाई प्रहरीले १२ घण्टामा पक्राउ गरेको छ । असोज १४ गते बिहान ७:५० बजेको समयमा जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका– १ टिमुरे चौर, घिमिरे गाउँमा एक जना व्यक्ति मृत अवस्थामा रहेको घटनाको सूचना आएपछि साे घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए ।

सुवेदीका अनुसार प्राप्त सूचना लगत्तै प्रहरी चौकी नालाबाट प्रहरी नायब उपरीक्षक सुवेदीको कमाण्डमा टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । लगत्तै कमाण्डमा अनुसन्धान टोली घटनास्थल परिचालित भएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । घटना १३ गते बेलुका राति भएको थियो ।

सुवेदीका अनुसार घटनास्थल हेर्दा सडकमा चप्पल, झोला कपडा छरिएको अवस्थामा फेला परेको र सो सडक भन्दा मुनि १०० मिटर तल भिरालो स्थानमा घोप्टो परेको नग्न टाउको तथा शरीरमा चोट लागेर रगताम्य थियो । सो अवस्थामा तत्काल पहिचान खुल्न नसकेको ५५ को पुरुष व्यक्ति मृत फेला परेपछि खोजी सुरु गरिएको उनले बताए ।

घटनाबारे थप अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालय, केनाईन (K-9) महाशाखाबाट तालिम प्राप्त ट्र्याकर डग (Tracker Dog) प्रहरी निरिक्षक चेतनारायण ज्ञवालीको कमाण्डमा खटिएर घटनास्थलको अनुसन्धानमा सहयोग गरिएको सुवेदीले बताए । घटनास्थलको मुचुल्का तथा शव जाँच गर्दा मृतकलाई कुटपिट गरी घटनास्थलमा कर्तव्य गरेको देखिएको उनले बताए ।

घटनास्थलमा उपस्थित स्थानीयबासी तथा मृतकको आफन्त समेतले मृतकको सनाखत गरेपछि मृतक जिल्ला सिन्धुली, मरिण गाउँपालिका– ५ स्थायी वतन भई हाल ज्याला मजदुरी गरी घिमिरे टोल बस्ने वर्ष ५५ का दुधलाल थिङ भएकाे खुलेको थियो । घटनास्थल मुचुल्का तथा शव जाँच मुचुल्का पश्चात पोष्टमार्टमको लागि धुलिखेल अस्पताल पठाइएको थियो ।

मृतकका छोरा वर्ष २७ का ग्याम्जो थिङले इलाका प्रहरी कार्यालय बनेपामा कर्तव्य ज्यान कसुरमा जाहेरी दिएकोमा थप अनुसन्धान अगाडि बढाइएकोमा १२ घण्टापछि हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठसहितको टोलीले हत्यामा संलग्नबारे घटनाको विस्तृत जानकारी जानकारी दिएकाे हाे ।

प्रहरीले घटनास्थलको भौगोलक अवस्था, घटनस्थल वरपर सिसि क्यामेरा जस्तो प्रविधि जडान नभएको, मृतकले मोबाइलसमेत नबोक्ने हुँदा घटनाको अनुसन्धान गर्न समस्या भएकाे थियाे । साथै घटनास्थलमा भेटिएको सबुत तथा प्रमाणहरुको सुक्ष्म विश्लेषणको विकल्प नभएको निक्यौल गरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र ईलाका प्रहरी कार्यालय बनेपा समेतबाट सादा पोशाकमा प्रहरी परिचालन भई घटनास्थल वरपर निरन्तर निगरानी, घटनाको सुक्ष्म अध्ययन, गोप्य सूचना संकलनबाट घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरी गए राति नै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

ती व्यक्तिहरुले घटना घटाउँदाको समयमा लगाएको रगत जस्तो रातो पदार्थ लागेको कपडासमेत विभिन्न स्थानमा लुकाई राखेको अवस्थामा बरामद भएकोले घटनाबारे इन्कार गर्ने परिस्थिति नभई पक्राउ परेका व्यक्तिहरुले घटना घटाएको स्वीकार गरेको समेत प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका– ८ का २१ वर्षीय समिर राय र काभ्रे जिल्लाको बनेपा नगरपालिका– १ बस्ने २२ वर्षीय ईश्वर विक रहेका छन् । प्रहरीले घटनामा बरामद सामानहरुमा मृतकलले लगाएको पाइन्ट एक थान, एक थान भेष्ट, एक जाेर चप्पल, एक थान ब्याग र एक थान ज्याकेट पाइएकाे छ । त्यसैगरी घटना घटाउँदाको अवस्थामा अभियुक्त ईश्वर विकले लगाएको रगत लागेको टिसर्ट एक थान र रगत लागेको पाइन्ट एक थान रहेको बताइएको छ ।

घटनाको मुख्य कारण घटना घट्नुअघि पक्राउ परेका अभियुक्तहरु दुवैले मादक पदार्थ सेवन गरेको र घर फर्किने क्रममा निज मृतक दुधलाल थिङलाई घटनास्थलमा भेट्दा सामान्य भनाभन भएको र सोही रिसको आवेगमा कुटपिट गरी लडाएर ढुंगाले पछाडी टाउकोमा हानी मरणासन्न बनाएर घटनास्थलबाट फरार भएको प्रहरीले जनाएकाे छ । उनीहरुलाई पक्राउ गरी कारवाहीको लागि मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ को ज्यानसम्बन्धी कसुरमा म्याद थप गरिएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया