गरीबि निवारण र आर्थिक समृद्धिको क्षेत्रमा सहयाेग गर्ने चीनकाे प्रतिबद्धता : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेकाे बताएका छन् । शनिबार चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छियाङसँगको छलफलले नेपाल-चीन सम्बन्धलाई थप उचाई दिएकाे बताए ।

उनले सन् २०२६ सम्म नेपाललाई अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तराेन्नति गर्न चीनले गरीबि निवारण र आर्थिक समृद्धिको क्षेत्रमा सहयाेग गर्ने प्रतिबद्धता जनाएकाे बताए ।

प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै यही सेप्टेम्बर १७ देखि २१ सम्म संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी भएका थिए। लगत्तै सेप्टेम्बर २३ देखि ३० सम्म चीन भ्रमणमा सहभागी भएका थिए। उनी अमेरिकाबाट सिधै चीन प्रस्थान गरेका हुन् । शनिबार उनी स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार माझ परम्परागत ढंगले उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन दुई देशबीच सहमति भएको जानकारी दिए ।

केही नाकालाई व्यवस्थित गर्नेबारेमा चीन सरकारले अनुदान उपलब्ध गराउने वचन दिएको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘वैधानिक ढंगले सबै नाका खोल्ने सहमति भएको छ, केही नाका अनुदानमा बनाइदिन्छौँ भन्ने सहमति भएको छ’, उनले भने ।

यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारेमा पनि महत्वपूर्ण छलफल भएको उनले जानकारी दिए । आन्तरिकरुपमा पनि केही तयारी गर्नुपर्ने देखिएको उल्लेख गर्दै उनले चीनको छन्दुबाट सहजै द्विपक्षीय उडान हुने बताए । चीनका अन्य सहरबाट पनि आवश्यक प्रक्रिया पूरा गरेर हवाई उडानलाई नियमित गर्नेबारेमा छलफल भएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

आफू देश बाहिर रहँदा कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षक, स्वास्थ्यकर्मीलगायतले राख्दै आएको गुनासो सम्बोधन गरेकोमा प्रधानमन्त्री दाहालले धन्यवाद दिए ।

प्रतिक्रिया