गुल्मी मदानेका एक युवक प्युठानमा मृत फेला

प्युठान । गुल्मी मदानेबाट प्युठानमा तिजको मेला हेर्न भनी आएका गुल्मीका २३ वर्षीय एक युवक प्युठानमा मृत फेला परेका छन् । गुल्मीको मदाने गाउँपालिका– ६ का कपिल कुँवर प्युठानको झिमरुक गाउँपालिका–४ स्थित सुसानेपहरा मुनि घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

आफन्तका अनुसार कुँवर तिजको दिन प्युठानको झिमरुक गाउँपालिका– १, बालुवाखोला भन्ने स्थानमा हुने तिजको मेला हेर्न भनी आएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक सागर भुसालले जानकारी दिए । कुँवर असोज ३ गतेसम्म पनि घर नफर्किएपछि घरपरिवारले प्रहरीलाई उनको खोजी गरिदिन जानकारी दिएका थिए ।

मृतकका आफन्तले प्रहरीलाई जानकारी गराए लगत्तै खोजी कार्यलाई तीव्र बनाएको प्रहरीले बिहीबार दिउँसो साढे १२ बजे प्युठानको झिमरुक गाउँपालिका–४, को सुसानेपहरा मुनि घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक भुसालले जानकारी दिए । प्रहरीका अनुसार मदाने– ५, गुल्मी खोप्चाका रमेश खड्कालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाएको छ ।

मृत भेटिएका कुँवरको के कति कारणले मृत्यु भएको भन्ने बारे अझै खुलेको छैन।अनुसन्धान पछि मात्र घटना बारे खुल्ने प्रहरीले जनाएको छ । अहिले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि प्युठान अस्पताल बिजुवार लैजाने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया