जिल्लामा लागुऔषध र अपराध नियन्त्रण प्रहरीको पहिलो प्राथमिकता : डिएसपी थापा

प्युठान । जिल्लामा हुने अपराध अनुसन्धान र लागुऔषध नियन्त्रण संगै जनताको शान्ति सुरक्षा कायम राख्न प्रहरीले पहिलो प्राथमिकता दिएर काम गर्ने जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वर थापाले बताएका छन् । केही दिन अघिदेखि प्युठान प्रहरीको नेतृत्व सम्हाल्न आएका डिएसपी थापाले बुधबार जिल्लाका पत्रकारहरुसँग भेटघाट कार्यक्रममा गाउँ घरमा हुने बढ्दो अपराध चोरीडकौती नियन्त्रण गरि जिल्लामा शान्तिसुरक्षा कायम राख्न प्रहरीको तर्फबाट कुनै कसर बाकी नराखी अगाडि बढ्ने बताएका हुन् ।

डिएसपी थापाले भने ‘सडक दुर्घटना न्यूनीकरण, जाँड रक्सी, महिला हिंसा न्यूनीकरण, मानवअधिकार सुनिश्चित लगायतका विषयलाई प्राथमिकता राखेर अघि बढ्ने छौं ।` कार्यालयको अन्य सबै बाँकी काम नियमित र निरन्तर हुने छन् । जिल्लाको शान्ति सुरक्षा व्यवस्था चुस्त राख्न सबै क्षेत्र र पक्षसँग समन्वय गरेर जाने उनले बताए ।जिल्लाका सबै स्थानमा प्रहरीको पहुँच बढाउदै नागरीकको समस्या समाधान गर्न प्रहरीलाई समय अनुसार परिवर्तन गर्नुपर्ने र प्रबिधीमैत्री बनाउन पहल लिने बताए ।

भेटघाट कार्यक्रममा जिल्लाका पत्रकारहरुले यहाको ट्राफिक ब्यवस्थापन, प्रहरीको भुमिका चुस्तदुरुस्त बनाउनुपर्ने र चाडपर्वको समयमा हुने घटनालाई विशेष ध्यान दिन आग्रह गरेका छन् ।

‘पछिल्लो समय देशभर आत्महत्याको घटना बढ्दै जादा प्युठानमा पनि आत्महत्याको ग्राफ उच्च रहेको तथ्यांक छ । यसले गर्दा गाउँ समाजमा नराम्रो प्रभाव परिरहेको सत्य हो’ डिएसपी थापाले भने । आत्महत्याको सवालमा स्थानीय तह संगै सबैको सहकार्य र समन्वयमा अभियान थालेर कमि ल्याउन पहल थाल्ने बताए ।

मदिरा सेवनका कारण घरेलु हिंसा,लागुऔषध दुर्व्यसन, चोरीका घटना, बालबिवाह, सडकमा ट्राफिक जाम ब्यवस्थापन लगायतका बिषयमा प्रहरीको भुमिकालाई चुस्तदुरुस्त बनाउनुपर्ने र चाडपर्वको समयमा हुने घटनालाई बिशेष ध्यान दिन पत्रकारहरुले आग्रह गरेका छन् ।

प्रहरी नायब उपरीक्षक थापा केही दिन अघि मात्र काठमाडौ उपत्यका प्रहरी कार्यालयबाट सरुवा भई जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी पाएर प्युठानमा आएका हुन् । प्रहरीले गरेको पत्रकार भेटघाट कार्यक्रममा जिल्लाका विभिन्न संचार माध्यममा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया