पठन संस्कृतिले पाठक र लेखकको बौद्धिकस्तर माथि उठाउछ

नेपाली भाषा साहित्यमा दरिलो उपस्थिति बनाइसकेका आख्यानकार विजय सापकोटा विशेषतः उपन्यास, कथा, निबन्ध, कविता लेख्न रुचाउछन् । उनको ‘अनावरण’ कथासंग्रहको दोस्रो संस्करण भर्खरै बजारमा आएकोछ । उनका कथाहरुमा सामाजिक जीवनका संवेदनशील पक्षलाई मिहिन ढंगले प्रस्तुत गरिएको हुन्छ । उनको ‘उडान (किशोर उपन्यास)’ काभ्रेली नेपाली साहित्यको रुपरेखा‘ ‘गाउँ खोज्दै जाँदा(कविता)’ ‘आमाको माया (बालउपन्यास)’ जस्ता कृति प्रकाशित छन् । हाल बेलायत बस्दै आएका यिनै आख्यानकार विजय सापकोटासँग ‘अनावरण’ र साहित्यसँग सम्बद्ध रही सौर्य दैनिकका लागि शुकदेव थपलियाले गरेको संवादको सम्पादित अंशः

विजय सापकोटा, आख्यानकार

भर्खरै तपाईँको कथासंग्रह ‘अनावरण’ को दोस्रो संस्करण बजारमा आएको छ । यो कथासंग्रह कस्तो छ यसका बारेमा प्रष्ट पारिदिनुस न ।

–‘अनावरण’ संग्रहका कथाहरु साठिको दशकको सुरुवातमा लेखिएका कथा हुन् । कुनै कुनै कथा ६२÷६३ को जनआन्दोलनको लगत्तै पछि पनि लेखिएका छन् । त्यसैले यी कथाहरुले तत्कालीन सामाजिक, सांस्कृतिक एवम् राजनीतिक अवस्था र चेतनालाई प्रतिबिम्बित गरेका छन् । यसका कतिपय कथाहरुले व्यक्तिका मानसिकताका कतिपय दुर्बल पक्षहरुलाई पनि समेटेका छन् ।

‘अनावरण’ कै कुरा गरौँ । यस संग्रहका अधिकांश कथामा आम नागरिकका स–साना दुःखहरुलाई एकदमै मिहीन ढंगले चित्रण गर्नुभएको छ । वस्तु यथार्थसँग चरित्रको तालमेल यस्तो हुन्छ कि पाठकलाई लाग्छ यो भोगाइ आफ्नै हो । कथाका बारेमा तपाईँको चरित्रचित्रणको प्रक्रियाको बारेमा बताइदिनुस् ।

–म कथामा आम मानिसको जीवनलाई लेख्न रुचाउँछु । आम मान्छेको संसारभन्दा परको संसारको तिलस्मी चमत्कारलाई कथामा लेख्न मलाई खासै रुचि छैन । मलाई मान्छेका जीवन संघर्ष, उसको निर्बलता, सबलता आदिकै सेरोफेरोमा कथा लेख्न मनलाग्छ । मान्छेमाथिका अन्याय, दलनको विरुद्धमा कथा लेख्न मन लाग्छ । यो सत्य हो, म कथाको चरित्र निर्माणमा बढी मेहेनत गर्दछु । मलाई सामान्य ठानिएका मानिसहरुभित्रका असाधारण स्वभाव र चरित्रहरुलाई कथामा प्रस्तुत गर्न मनलाग्छ । यस्ता पक्षलाई कथामा ल्याउनका लागि लेखक त्यो चरित्रमा आफू पूरै भिज्नुपर्ने हुन्छ । कथाको कच्चा पदार्थ निर्माण हुँदैदेखि म आफ्नो मस्तिष्कमा त्यसका चरित्रहरुका अलग पक्षहरुलाई विशेष स्वरुप दिने प्रयत्न गर्छु । जबसम्म यसले मूर्तरुप लिँदैन तबसम्म म कथा लेख्ने हतार गर्दिन । त्यसैले पनि मेरा चरित्रहरु स्वभाविक लयमा कथालाई गतिशील बनाउँछन् जस्तो लाग्छ ।

‘अनावरण’ कथा संग्रहभित्रका कथाले पाठकलाई पूर्ण नियन्त्रणमा लिएर अन्तिमसम्म गहिरो प्रभाव छाड्दछन् । यसका हरेक कथाहरुले विविध आयामबाट हाम्रो समाजको लगभग सबै पक्षको सिंगो चित्र नै देखाएका छन् जस्तो लाग्छ । यसबारेमा प्रष्ट पारिदिनुसन् ।


–‘अनावरण’ मेरो पहिलो कथा संग्रह भएकोले यसमा समेटिने कथाहरु सकभर एकैखालका नहुन्् भनेर मैले यसमा विविधता ल्याउने प्रयास गरेको छु । एउटा कथाकारको रुपमा मलाई पाठकहरुले मेरा कस्ता कथाहरुलाई चाहिँ बढी मन पराउलान् त भन्ने जिज्ञासा पनि थियो । तपाईँले भनेझैँ मलाई धेरै पाठकहरुले कथाले राम्ररी बाँध्न सकेको प्रतिक्रिया दिएर हौसला प्रदान गर्नुभएको छ । साठीको दशकको सुरुवात् नहुँदैदेखि यसको बीचसम्मको समयअवधिमा लेखिएका हुनाले यसका कथाहरुले त्यही समय र समाजलाई प्रतिबिम्बित गरेका छन् । यस क्रममा त्यतिबेलाको दुस्वप्नजस्तो राजनीतिदेखि व्यक्ति र समाज मनोविज्ञानका विविध पाटाहरु यसका कथाहरुमा आएका छन् ।

यस्ता कथाहरु पाठकले कहिले पढ्न पाउँछन् ?

–लेखन समाज र समयसापेक्ष हुने हुनाले यसले समात्ने विषय र शैली पनि परिवर्तित हुँदै जान्छ । त्यसैअनुसार कथाहरु पनि समाज र समयपिच्छे बदलिँदै जान्छन् । त्यसैले समयको अन्तरसँगै कथाको स्वरुप अर्कै हुनजान्छ । प्रश्नको आशय पाठकले नयाँ कथा कहिले पढ्न पाउँछन् भन्ने हो भनेचाहिँ, ‘अनावरण’ संग्रहपछि लेखिएका मेरा नयाँ कथाहरु फुटकर रुपमा प्रकाशनमा आई रहेका छन् । शायद यो वर्षको अन्त्यतिर नयाँ कथा संग्रह प्रकाशित हुने छ ।

यहाँको पछिल्लो उपन्यास ‘उडान’ लाई पाठकले कुनरुपमा लिएको पाउनु भयो ? ‘उडान’ कस्तो उपन्यास हो ?

२०७३ सालमा प्रकाशित ‘उडान’ किशोरकिशोरी केन्द्रित उपन्यास हो र यसका लक्षित पाठक पनि किशोरवयकै हुन् । त्यसैले किशोर मस्तिष्कलाई बोधगम्य हुने किसिमको सरल भाषाशैलीमा उपन्यासलाई प्रस्तुत गरिएको छ । ‘उडान’ लेख्नुका पछाडि दुईवटा उद्देश्य थिए । एउटा, नेपाली साहित्यमा लगभग बेवास्ता गरिएको किशोरवयलाई लक्षित गरेर किताब लेख्नु र अर्कोचाहिँ किशोर उमेरको संवेदनशीलतालाई केन्द्रमा राखेर लेख्नु । यसअनुसार ‘उडान’ मा किशोरकिशोरीका कतिपय समस्या, जिज्ञासा, संशय एवम् संवेगहरुलाई उठानमात्रै नगरी त्यसबारेमा सही निष्कर्ष निकाल्न प्रेरित या सहयोग गर्ने प्रयत्न पनि गरिएको छ । एकहदसम्म यो उद्देश्यमा सफल भएको अनुभूति पनि पाएको छु । यो उपन्यास पढ्ने कतिपय किशोर किशोरी, तिनका अभिभावक, शिक्षक एवम् अभियन्ताहरुले यसको सकारात्मक प्रभाव पारेको बताउनु पनि भयो । यसले एउटा लेखकको रुपमा हौसला प्रदान पनि गरेको थियो ।

मूलतः यो उपन्यास किशोरवयका पाठकका निम्ति हो । त्यसैले यो उपन्यासका भाषाशैली एवम् प्रस्तुतिका सिमाहरु छन् । तर कसै कसैले यसलाई वयष्क उमेरका पाठकहरुका लागि लेखिएको साहित्यसित दाँजेर यसको अवमूल्ययन पनि गर्नुभयो । तर यो चाहिँ यस उपन्यासको उद्देश्य र सिमालाई नबुझिकन गरिएको हलुको टिप्पणी थियो ।

काभ्रेली नेपाली साहित्यको रुपरेखाले यहाँलाई छुट्टैरुपमा चिनाएको छ । काभ्रेली साहित्यको यति गहिराइसम्मको खोज र दस्तावेजीकरण कसरी सम्भव भयो ?

–स्नातकोत्तर तहमा मैले काभ्रेपलान्चोक जिल्लाको नेपाली कथा साहित्यको बारेमा शोधपत्र तयार गरेको थिएँ । यो क्रममा मैले कथाविधा बाहेकका विधाका बारेमा पनि निकै धेरै तथ्यहरु संकलन गरेको थिएँ । यी तथ्यहरुले मलाई किन पूर्ण साहित्यको समग्र अवस्थितिलाई अभिलेखीकरण नगर्ने भन्नेभयो । काभ्रेमा नेपाली साहित्यको इतिहास लेखनको जग हाल्ने श्रेय आदरणीय साहित्यकार कृष्णप्रसाद पराजुलीलाई जान्छ । उहाँले आफ्नो ‘पूर्व एक नम्बर’ किताबमा काभ्रेपालन्चोक सामान्य सर्वेक्षण गर्दै केही चुनिएका साहित्यकारहरुको बारेमा सामान्य परिचय राख्नु पनि भएको छ । यसले पनि मलाई यो विषयमा अझै गहिरिएर खोज्ने बाटोमा डोहो¥याएको हो ।

झन्डै छ वर्षको निरन्तर मेहेनत पछि यो किताबको रुपमा तयार भएर पहिलो संस्करण २०६८ सालमा प्रकाशित भएको हो । यसको झन्डै दश वर्षपछि परिमार्जित र अझै विस्तृत आकारमा यसको पुर्नप्रकाशन भयो । यस किताबको तयारीका क्रममा मलाई अग्रज र मेरा प्रिय साथीहरुले निकै सघाउनु भएको छ । उहाँहरुको सहयोगविना यो किताब तयार गर्नु सम्भव पनि थिएन । त्यसका निम्ति म सबैप्रति कृतज्ञ छु ।

यहाँको अन्तर्मनमा कुन साहित्यिक विधामा यहाँको बढी रुचि छ र किन ?


मलाई यो विधामात्रै मनपर्छ भन्ने छैन । लेखनको कुरा गर्दा मेरो लेखनको सुरुवात कविताबाट भएको हो । मेरो पहिलो किताब पनि कविताकै छापिएको थियो । पछि आख्यान, निबन्ध र समालोचनामा पनि कलम चलाएँ । अहिलेचाहिँ म आफूलाई आख्यान र निबन्धमा बढी सहज र सुरक्षित महसुस गर्दछु ।

लेखनको विषयमा कुन कुराको महत्व हुन्छ ? लेखनमा विधा छुट्याउनका लागि केले अभिप्रेरित गर्छ ?

–आफ्नो लेखनमा कुन विषय या बिचारलाई महत्व दिने भन्ने लेखकको वैयक्तिक कुरा हो । यो लेखकपिच्छे फरक हुन्छ । यसमा देशकाल परिस्थितिले पनि महत्वपूर्ण असर पारिराखेको हुन्छ । म आफूचाहिँ जीवनमुखी लेखनमा रुचि राख्ने हुनाले मेरो लेखनको विषय मान्छे, उसको संघर्ष, सफलता बिफलता र अन्तर्यका संवेदनाहरु नै बन्ने गर्छन् । यो सँगसँगै सामयिक जीवनका सन्दर्भहरु त आउने नै भए । मलाई किनारा लगाएका या किनारामा परेको वर्गको पक्षमा लेख्न मनलाग्छ । बजारमुखी संस्कृति र विकृत राजनीतिक व्यवस्थाको विपक्षमा लेख्न मनलाग्छ । यस्ता कुराहरुलाई अभिव्यक्त गर्न विधागत माध्यमको छनौट गर्दा आफ्नो कुरालाई कुन विधाबाट बढी सहज र प्रभावकारी अभिव्यक्त गर्न सकिन्छ, त्यसैको छनौट गरिन्छ र त्यसैका आधारमा लेख्नु प्रयास गर्छु ।

भनिन्छ, साहित्य सिर्जना गर्ने, पाठकको मन जित्ने कुरा निकै कठिन कार्य हो । कुन कुराले कठिन बनाउने हो खास ?

–कला साहित्य मात्रै होइन, कुनै पनि उत्पादन प्रक्रिया लामो र कष्टा सध्य हुन्छ नै । रह्यो, पाठकको मन जित्ने कुरा । पाठकको मन कसरी जित्ने यसको ठ्याक्कै उत्तर दिन गाहे हुन्छ जस्तो लाग्छ । किनकि जसरी लेखकको आफ्नो रुचि र प्राथमिकता हुन्छ त्यसैगरी एउटा पाठकको पनि आफ्नै रुचि र प्राथमिकता हुन्छ । सबैलाई सबै किसिमको विषय, लेखन प्रस्तुति मन नपर्न पनि सक्छ । पाठकको मन त्यस्तो सिर्जनाले मात्रै जित्न सक्छ, जुन सिर्जना पाठकको मन र मस्तिष्कसँग तादात्म्य राख्नसक्छ या अन्तक्र्रिया गर्न सक्छ । नेपाली साहित्य वृत्तमा खासै वास्ता नगरिएको एउटा कुराचाहिँ जसरी लेखनको आफ्नो स्तर हुन्छ त्यसैगरी पाठकको ग्रहण क्षमता पनि फरक फरक हुनसक्छ । यसले पनि लेखनलाई ग्रहण गर्ने या मन पराउने नपराउने कुरामा फरक पार्दछ । लेखकलाई कठिन बनाउने पक्षचाहिँ लक्षित पाठक समूहको पहिचान गर्न नसक्नु हो । लेखकलाई कठिन त्यतिबेला हुन्छ जब उ आफ्नो विषय वस्तुभन्दा बजारको अपेक्षामा बढी केन्द्रित हुन्छ । तपाईँले लोकप्रिय साहित्यको कुरा गर्नुभएको हो भने यो पनि होइन कि बजारमा नचलेका या राम्रो बिक्री भएका सबै किताब कलात्मक र साहित्यिक हिसाबले उच्चकोटिका हुन्छन् ।

यहाँको नजरमा नेपाली साहित्यको विगत कस्तो थियो र वर्तमान अवस्थामा कुन दिशातर्फ गइरहेको छ ?

–मेरो विचारमा साहित्यलाई पहिलेको राम्रो कि अहिलेको भनेर तुलना गर्नु न्यायोचित हुँदैन । व्यक्तिगतरुपमा हामीलाई योभन्दा त्यो ठीक या त्योभन्दा यो ठीक भन्ने लाग्नु स्वभाविक हो । तर साहित्य पनि समाजसँगै गतिशील र परिवर्तित हुने कुरा हो, यो जड कुरा होइन । यसको मतलब समयसँगै लेख्ने विषयवस्तु, भन्ने तरिका र भाषामा परिवर्तन आइरहेको हुन्छ ।
नेपाली साहित्यको व्यवसायीकरणको सुरुवात हुनु, हिजोका दिनमा दबाइएका या ओझेल पारिएका भूगोल, जाति र संस्कृति नेपाली साहित्यमा अभिव्यक्त मात्र नभई मूलधारमै प्रभावशाली रुपले आउनु र विदेशी भाषामा नेपालीहरुको लेखन र अनुवाद बढ्नु अहिलेको नेपाली साहित्यका सकारात्मक कुरा हुन् । यतिभन्दा भन्दै पनि अहिले हामी प्रचारमुखी र बजारमुखी भएर लेखनमा जति इमान्दार मेहेनत गर्नुपर्ने हो त्यो नगरेको हो कि भन्ने कताकता लाग्दछ । यस्तो प्रभाव पनि देखिएको छ ।

लेखाइ कमजोर हुनुको पछाडि कमजोर पठन संस्कृति नै हो भन्ने पछिल्ला साहित्यिक बहसहरुले निष्कर्ष निकालेको छ । डेढ दशकदेखि बेलायतमा हुनुहुन्छ । त्यहाँको पठन संस्कृतिलाई नेपालसँग कसरी तुलना गर्नु भएको छ ?

–नेपालमा पठन संस्कृति छँदै छैन भन्दा पनि हुन्छ । पहिलेको तुलनामा यो सुधारोन्मुख त छ । तर पाठ्य पुस्तकीय पठनदेखि बाहेकको पठनलाई अनुत्पादक र अनावश्यक मान्ने चलनले गर्दा हाम्रो समग्र पठन संस्कृति निकै कमजोर छ । यसको प्रतिफल नै हो ‘नेपालीहरुको आइ क्यु संसारमै सबैभन्दा कमसल रहेको भन्ने खालका कुराहरु आउनुू । समग्र हाम्रो शैक्षिक प्रणाली पनि सिकाइ र बुझाइ भन्दा पनि सूचना र तथ्य संकलनमा केन्द्रित रहेकोले पनि समाजले पाठ्यपुस्तक बाहेकको पढाइलाई समय र पैसाको बर्वादी मान्ने गरेको छ । अरु कुरा छाडौँ, हामीकहाँ शिक्षकले समेत आफ्ना विद्यार्थीहरुलाई पाठ्य पुस्तक बाहेकका कुरा पढ्नलाई निरुत्साहित गरिरहेको हुन्छन् । अपवादमा राम्रा शिक्षक पनि होलान्, तर समग्रमा यो बिडम्बना छ । पाठ्य पुस्तक भन्दा बाहिर पनि ज्ञानका कुरा हुन्छन भनेर विश्वस्त बनाउु पर्छ ।

बेलायतमा चाहिँ बच्चालाई उसले राम्ररी बोल्न नजान्दैदेखि किताब पढेर सुनाइन्छ । यहाँ उमेर पिच्छेका केटाकेटीका लागि किताब हुन्छन् । घरबाटै किताबसँग निकटता पाइसकेको बच्चा स्कुल जान थालेपछि यो अझै बढ्न थाल्छ । स्कुलहरुले हामी कहाँजस्तो पाठ्य पुस्तकको बोझ विद्यार्थीलाई बोकाउँदैनन् अर्थात् त्यहाँ हामीकहाँ जस्ता अनेक पाठ्य पुस्तक हुँदैनन् । बरु विद्यार्थीहरुले हरेक हप्ता नयाँ नयाँ किताब घरमा लिएर आउँछन्, तिनै किताबबाट उनीहरुको सिकाइ पनि हुन्छ, मनोरन्जन पनि हुन्छ । केटाकेटीहरु किताब पढ्ने मात्र नभई त्यो किताब उनीहरुलाई कस्तो लाग्यो, त्यसको कुन चरित्र बढी मन पर्यो, किन मन पर्यो आदि कुराहरु लेख्नको लागि विद्यालयले एउटा डायरी नै उपलब्ध गराएको हुन्छ ।

यसले उनीहरुलाई आफ्नो बुझाइलाई अभिव्यक्त गर्नलाई प्रेरित गर्छ । यसरी बच्चादेखि नै किताब र पठनसँग हुर्किएको बच्चा ठूलो हुन्जेलसम्म पठनलाई एउटा बानीकै रुपमा विकास गरिसकेको हुन्छ । त्यसको फलस्वरुप तपाईँले बेलायतमा सार्वजनिक यातायात, पार्क, क्याफेतिर हातमा किताब बोकेर पढिरहेका मान्छेहरु प्रशस्तै देख्नुहुन्छ । यहाँ हरेक ससाना सहरहरुमा सार्वजनिक पुस्तकालयहरु हुन्छन् । सन् २०२१ को एउटा रिपोर्टले ५३ प्रतिशत बेलायती वयस्कहरुले फुर्सदमा किताब पढ्छन् भन्ने देखाएको छ । सामाजिक सञ्जाल र प्रविधिको दबदबामा पनि यति ठूलो जनसंख्या किताब पढ्छ भन्नुले यहाँको पठन संस्कृतिलाई उजागर गर्दछ र सहजै अनुमान लगाउछ पढन मान्छे कति उत्सुक छ भनेर ।


जहाँ पठन संस्कृति बलियो हुन्छ, त्यहाँ पाठक र लेखकको बौद्धिकस्तर स्वतः माथि हुन्छ । यसको फलस्वरुप साहित्यिक सिर्जना पनि स्तरीय हुन्छ । बलियो पठन संस्कृति नहुनु हाम्रो नेपाली साहित्यको विकास नहुनुको पहिलो कारण हो ।

अब पाठकका लागि कुन विधाका कृति ल्याउनेल तयारीमा हुनुहुन्छ ?

–अब पछिल्लो कृतिका रुपमा एउटा बाल उपन्यास प्रकाशनको अन्तिम चरणमा छ । यो वर्षको अन्त्यतिर नयाँ कथासंग्रह ल्याउने सोच छ, हेरौँ के हुन्छ । त्यसैको तयारीमा भने लागेको छु । अब आउने मेरा पछिल्ला कृति यीनै हुने छन् ।

प्रतिक्रिया