जब जंगली जनावर पीडितहरू निवेदन बोकेर वडा कार्यालय पुग्छन् …

काठमाडौं नजिक बढ्दो वन्यजन्तु आतंककको कथा

२०७९ असारमा मण्डनदेउपुर नपा–९ स्थित रायोबारीमा चितुवाले एक फार्मका ३ सय ५० कालिज मारेको थियो । बिहान ३ बजे अध्याँरोको समयमा कालिज मार्दै खाँदै गरेपछि स्थानीयले देखेर चिच्याएपछि चितुवा भागेको थियो । मारेको ३ सय ५० मध्ये चितुवाले ६० वटा कालिज खाएको थियो । बाख्रा, टर्की र कुखुरापालन गरिएको उक्त फार्ममा त्यतिबेला आठ लाखको क्षति भएको थियो ।

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–१० स्थित वडा कार्यालयमा स्थानीय पाँच कृषकले जंगली जनावर बँदेलले बारीका मकैमा क्षति पु¥याएको जनाउँदै निवेदन दिएका छन । कृषकले बँदेल नियन्त्रण तथा पुगेको क्षतिपूर्ति दिलाउन माग गरेका हुन् । ‘दुई रोपनी बारीको मकै बँदेलले भाँच्दै र केही मकै खाँदै सखाप बनायो, बँदेल नियन्त्रण गर्दै बारीमा पुगेको क्षतिपूर्ति पाइन्छ कि भनेर वडा कार्यालयमा सिफारिस लिन गएका हौँ’, स्थानीय शंकर कोइरालाले भने ।

उनका अनुसार दुई रोपनी बारीमा मकै फलाउन २० हजार खर्चिएको हो । उनको बारीमा नजिकको इन्द्रेश्वरी थल्पु वन ‘क’बाट केही संख्यामा बँदेल आई छिप्पिन लागेको मकैमा क्षति पु¥याएका थिए । खोपासीमा केही दिनदेखि बँदेलले बारीका मकै सखाप पारिरहेको छ । वर्षभरि परिवार र गाईवस्तुका लागि बारीमा लगाएको मकै पाक्ने बेलामा बँदेल पसेर विनास गर्न थालेपछि स्थानीयवासी निकै चिन्तित बनेका हुन् । अर्का स्थानीय मैया महतले आफ्नो १० रोपनी बारीको मकै वनबाट आएका बँदेलले यही हप्ता विनास गरेको बताउँछिन् । उनको बाली बँदेलले विनास गरेको यो पहिलोपटक भने होइन । ‘प्रक्रिया पुगेका कृषकलाई वन कार्यालयले अधिकतम १० हजारसम्म राहत दिन्छ, यसअघि पनि मैले सोही प्रकारको क्षतिपूर्ति लिएको छु’, महतले भनिन् ।

बँदेलले मकै मात्र नभई धान बालीसमेत विनास गर्ने गरेको वन उपभोक्ता समितिका सचिव बालकृष्ण फुयालले बताए । यस्तै उनले स्थानीय कृषकका खेतबारीमा पिँडालु, सखरखण्ड, भुइँस्याउजस्ता नगदेबालीमा क्षति पु¥याउँदै आएको जानकारी दिए । बँदेलको आक्रमणबाट १० नं वडामा बर्सेनि करिब दुई सय रोपनी मकैबारीमा क्षति पुग्ने र ५० देखि ६० परिवारले राहतका लागि वडाबाट सिफारिस लाने गरेको वडाध्यक्ष मोहनबहादुर भण्डारीले बताए । उनका अनुसार क्षतिपूर्तिका लागि वडा कार्यालयको सिफारिस, प्रहरीको मुचुल्का, नगरपालिकाको कृषि प्राविधिकको स्थलगत अनुगमन तथा क्षतिको विवरण प्रतिवेदनसहित जिल्ला वन कार्यालयलाई बुझाउनुपर्ने प्रावधान छ ।

यसैगरी ६ महिनाअघि चैतमा पनौती नगरकै ५ नं वडास्थित सुब्बागाउँको खेतमा रोपिएको आलुखेतीमा बँदेलले क्षति पु¥यायो । जंगलछेउका खेतमा एक रातमै करिब दुई–तीन रोपनी खेतको आलुको ड्याङ भत्काएर खाने र कलिलैमा सपाख पारेपछि त्यतिबेला स्थानीय कृषक रातभर खेतमै बस्न बाध्य हुनुपरेको स्थानीय बुद्धिबहादुर थापाले सुनाए । ‘राती बँदेलको समूहले ठाउँठाउँमा गरी १५ रोपनी जति खेतमा आलु क्षति पु¥याइसकेका थिए, त्यही भएर रातभर पाले बस्नुप¥यो’, उनले भने । उक्त घटनाको केही महिनाअघि गतवर्ष पनौतीकै कुशादेवी क्षेत्रमा समूह समूहमा आएको बाँदरले स्थानीयलाई निकै दुःख दिएका थिए ।

२०७९ असारमा मण्डनदेउपुर नपा–९ स्थित रायोबारीमा चितुवाले एक फार्मका ३ सय ५० कालिज मारेको थियो । बिहान ३ बजे अध्याँरोको समयमा कालिज मार्दै खाँदै गरेपछि स्थानीयले देखेर चिच्याएपछि चितुवा भागेको थियो । मारेको ३ सय ५० मध्ये चितुवाले ६० वटा कालिज खाएको थियो । बाख्रा, टर्की र कुखुरापालन गरिएको उक्त फार्ममा त्यतिबेला आठ लाखको क्षति भएको थियो ।

सोही नगरको १ नं वडास्थित नगरकोट हलेदेमा बँदेलले सयौँ रोपनी जमिनको मकै खाँदै फाँडेर सखाप पारेको थियो । बँदेलबाट अन्नबाली जोगाउन स्थानीय रातभरि आलोपालो कुरुवासमेत बसेका थिए । स्थानीय दीपक बस्ताकोटीका अनुसार बँदेल आतंकले गाउँलेसमेत घरमा बस्न डराउने अवस्था आएको छ । ‘त्यतिबेला अन्नबाली मात्र हैन, मानिससमेत डराउनुपर्ने अवस्था सिर्जना भएको थियो, यसपालि पनि त्यही हुने हो कि, मकै पाक्ने बेला हुन लाग्यो’, उनले भने । उनका अनुसार विशेषगरी राती समूह समूहमा आएका बँदेलले फल्न थालेको मकैबाली सखाप पार्ने गर्छन् ।

उक्त नगरको १२ वडामध्ये आठ र नौ बाहेक सबैमा बाँदरले खेतबारीको बालीमा क्षति पु¥याएको थियो । त्यतिबेला नगरले पहिलो चरणमा १२ नम्बर वडाका स्थानीयलाई सामूहिक रूपमा प्रयोग गर्न बाँदर धपाउने १५ यन्त्र दिएको थियो । यन्त्रको प्रयोगपश्चात उक्त क्षेत्रमा बाँदर आउन छाडेको नगरप्रमुख टोकबहादुर वाइबा बताउँछन् । उनी भन्छन्, ‘केही क्षेत्रमा बँदेल, केही क्षेत्रमा बाँदरले कृषकलाई निकै दुःख दिएका छन्, सकेसम्म यन्त्र वितरण गरी नियन्त्रण गर्ने गरिएको छ, क्षतिपूर्तिका लागि माग्न आउने कृषकलाई वडा कार्यालयबाट सिफारिस दिएर पठाउने गरेका छौँ ।’
घटनाक्रमले काभ्रेपलाञ्चोकमा केही वर्षदेखि जंगली जनावरको आतंक बढ्दै गएको देखिएको छ । जंगल नजिक बस्तीका कृषकका बाली नष्ट भएका छन् भने यदाकदा, चितुवाजस्ता हिंस्रक जनावरको आक्रमणले जनधनको क्षति हुँदा मानिससमेत त्रसित अवस्थामा बस्नुपर्ने बाध्यता देखिन्छ ।

पाँचखाल नपा–१३ कोशीदेखाका बासिन्दा चार वर्षदेखि बँदेल र बाँदरले बालीमा पु¥याउँदै आएको क्षति सहँदै तिनका आतंकले निकै आजित बनिसकेका छन् । स्थानीय यमलक्ष्मी थपलियाले बँदेल र बाँदरले कटहर र अदुवाबाहेक सबै खाने गरेको दुःखेसो पोख्छिन् । ‘जंगली जनावरको आतंक नरोकिए विस्थापित हुनुपर्ने बाध्यता देखिसकेको छ’, उनले भनिन् । स्थानीय जनप्रतिनिधिसँग पटकपटक दुःखेसो पोखे पनि समाधानको कुनै उपायबारे सल्लाह र सहयोग नभएको उनको गुनासो छ ।

बनेपा नपा–३ काँक्रेका कृषक गोकुलप्रसाद बजगाई वन बाक्लिँदा जंगली जनावर पनि बढ्दै गएकाले पछिल्ला केही वर्षयता मानिसका लागि थप चुनौती बन्दै गएको बताउँछन् । उनी भन्छन्, ‘वनमा बँदेलको संख्या बढ्दा आलुलगायतका खेतीबाली नष्ट हुँदै गइरहेका छन् ।’ उनका अनुसार प्रत्येक वर्ष बँदेलले खेतबारीमा लगाएको आलु रोपेकै दिन हुँडलेर सखाप बनाइदिने गर्दछन् । स्थानीय शिक्षक तुलाप्रसाद दाहाल भने बँदेल भगाउन केही वर्षअघि बारीमा रेडियो बजाएर राखेकोसमेत अनुभव सुनाउँछन् ।

धुलिखेल नपा–१ देवीटारकी कृषक सरस्वती घोरासैनीलाई भने दुम्सीले हैरान पार्दै आएको वर्षौं भइसक्यो । ‘दुम्सीले बारीको काँक्रो र तरकारीका बोट नै सखापै पार्ने गर्छ, अहिले पनि अन्य बालीमा क्षति पु¥याउँछ कि भन्ने सम्भावित जोखिममै बसेका छौँ’, उनी भन्छिन् । उनका अनुसार दुम्सी ओढारमा लुक्ने र कोही नभएको बेला बारीमा आएर काँक्रो, घिरौँला, सिमी तथा अन्य बालीको उम्रिएका बोट उखेलेरै फाल्ने गर्दछन् ।

काभ्रेपलाञ्चोकमा वन क्षेत्रमा जोडिएर रहेका बस्तीमा जंगली जनावरले बाली तथा घरपालुवा जनावरलाई समेत क्षति पु¥याएपछि समाधानका लागि वर्षैपिच्छे छलफल पनि चलाउने गरिन्थ्यो । जिल्लास्थित संवाद समूहले केही महिनाअघिसम्म विभिन्न स्थानीय तहमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे विभिन्न चरणमा सरोकारवालासँग संवाद गर्दा अधिकांश कृषकले बँदेल र बाँदरको समस्या देखाउँदै आएका थिए ।

डिभिजन वन कार्यालय धुलिखेलका वन अधिकृत देवीचन्द्र पोखरेल जिल्लाका अधिकांश वनभित्र आवश्यक संख्याभन्दा बढी बँदेल भइसकेकाले किसानसँग द्वन्द्व बढ्ने खतरा बढेको बताउँछन् । उनी भन्छन्, ‘कति संख्यामा कलिङ गर्ने भनेर नीतिमै परिवर्तन नगरेसम्म जंगली जनावरको आतंक न्यूनीकरण गर्न सकिँदैन ।’ उनका अनुसार कार्यालयसँग वन्यजन्तु न्यूनीकरणका लागि कुनै योजना नभए क्षति भएपछि क्षतिपूर्ति दिने काम भइरहेको छ ।
पोखरेलले हाल पनि जिल्लाका केही स्थानबाट जनावरले क्षति पु¥याएको भन्दै क्षतिपूर्ति माग्न आएको बताए । उनले भने, ‘एक वन–एक घाँसे मैदान र एक पोखरी भन्ने सचेतना अभियानमा लागिरहेका छौँ, यो अभियानले केही हदसम्म वन्यजन्तुको आतंक न्यूनीकरण हुन्छ भन्ने अपेक्षा गरेका छौँ ।’ उनका अनुसार वन्यजन्तुको आतंक रोक्न प्राकृतिक रूपमा वनमै वन्यजन्तुको आहारको व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

कार्यालयका अनुसार बितेको १४ वर्षमा काभ्रेपलाञ्चोकमा जंगली जनावरको आक्रमणबाट १४ जनाको मृत्यु र घाइते भएको तथ्यांकमा उल्लेख गरिएको छ । कार्यालयमार्फत मानव मृत्यु तथा घाइते तथा वर्षंैपिच्छे अन्नबाली क्षति, घरपालुवा जनावर तथा पशुपक्षीको क्षतिपूर्ति निर्देशिकाअुसार दिँदै आइएको छ । सरकारको प्रावधानअनुसार मृतकका प्रतिपरिवारलाई १५ लाख तथा घाइतेको अवस्था हेरी उपचार खर्च दिइन्छ ।

पछिल्ला वर्षमा, वन्यजन्तुबाट आक्रमण हुने क्रम बढिरहेको पाइन्छ । खासगरी, समुदायका नागरिक निर्वाहमुखी जीविकोपार्जनका लागि सामुदायिक तथा निजी वनमा घाँस, दाउरा, स्याउला, सोत्तर आदिका लागि जाने क्रममा हात्ती, बाघ, चितुवा, बँदेलजस्ता जनावरको आक्रमणमा परी घाइते हुने र ज्यानै जानेसम्मको घटना पनि बेला बेलामा आइरहेका छन् । बढ्दो वन्यजन्तुको संख्या र सीमित उपयुक्त बासस्थानका कारण आहारा, विचरणको खोजीमा वन्यजन्तु संरक्षित जंगलका साथै स्थानीयको खेतबारी तथा खलिहानमा अन्नबाली खाइदिने, नोक्सान गरिदिने गतिविधिले वन्यजन्तुप्रतिको प्रतिशोध गर्ने घटना बढ्दै गइरहेको विज्ञहरू बताउँछन् ।

एक दशकको अवधिमा काभ्रपलाञ्चोकका विभिन्न स्थानमा चितुवाले बालबालिकालाई खाएको तथा खेतबारीमा कृषकलाई घाइते बनाएको, वन्यजन्तुका लागि थापिएको विद्युतीय धरापमा परेर केही वर्षअघि बर्दियामा एकाघरका तीन जनाको मृत्युले पनि पछिल्ला वर्षका दिनमा मानव–वन्यजन्तुबीचको बढ्दो द्वन्द्व र तस्करका लागि अनुकूल अवसर र वन्यजन्तुप्रतिको प्रतिशोधको अवसरले गर्दा प्रभावित स्थानीय संरक्षणप्रति उदासीन हुने गरको संकेत गरिरहेको छ । यो अवस्थामा स्थानीय निकायले ऐन, कानुन निर्माण गरी आफ्नो क्षेत्रमा वन्यजन्तु संरक्षणको वातावरणका साथै यसको द्वन्द्व व्यवस्थापन र चोरीसिकारी नियन्त्रणमा ध्यान दिनु अपरिहार्य भइसकेको छ ।

प्रतिक्रिया