रौतहट। श्रीराम सुगर मिलले ऋण नतिरेपछि लिलामी प्रक्रिया अघि बढाएको नेपाल बैंक लिमिटेडका कर्मचारीहरु मंगलबार उखु किसान बाट लखेटीएका छन् । बैंकका कर्मचारीहरु मिल अनुगमन गर्न आउँदा उखु उत्पादक संघ सहित स्थानीयहरुले बैंकका कर्मचारीहरु भगाएका छन् ।
बैंकको प्रबन्धक सहितको टीम मंगलवार मिलमा पुगेको थियो । विशाल ग्रुपको स्वामित्वमा रहेको श्रीराम सुगर मिलले ऋण नतिरेपछि नेपाल बैंक लिमिटेडले उद्योग लिलामी प्रक्रिया अघि बढाएको थियो । शिवशक्ति ग्रुपले सो लिलामी साकार गरेको हो ।
बैंकले लिलामी सकार गरेको शिवशक्ति ग्रुपलाइ मिलको सामानहरु उठाउनका लागि सहज बनाउने उदेश्यले बैंकका कर्मचारीहरु आएको बुझिएको छ । चोरबाटो भएर बैंकका कर्मचारीहरु मिलमा प्रवेश गरेको भन्दै किसानहरु आक्रोशित बनेका थिए । खबर पाउने बितिकै इलाका प्रहरी कार्यालय गरुडा बाट डिएसपी ओमप्रकाश खनालको नेतृत्वमा गएको टोलीले बैंक, बैंकका कर्मचारी र उखु किसानहरुलाइ बसेर छलफल गराएका थिए ।
छलफल पश्चात् उनीहरु फर्केका छन् । मिल उठाउने प्रयास गरे आफूहरुले प्रतिकार गर्ने उनीहरुले चेतावनी समेत दिदै आएका छन् । तरपनि मिल सञ्चालक र बैंकका कर्मचारीहरु बारम्बार मिल उठाउनका लागि आउने गरेका छन् ।
यस अघि श्रीराम सुगर मिलको लिलामी सकार गरेका शिवशक्ति ग्रुपले मिल अनुगमन गर्न आउँदा उखु उत्पादक संघका सहित स्थानीयहरुले शिवशक्ति ग्रुपका पदाधिकारीलाई लखेटेका थिए । साथै स्थानीयले शिवशक्ति ग्रुपलाई मिल परिसर भित्र प्रवेश समेत गर्न दिएका थिएनन् ।
हजारौको संख्यामा रोजगारी दिएको श्रीराम सुगर मिल अहिले विघटनको बाटोमा गइसके पछि उखु उत्पादक संघको नेतृत्वमा चिनी मिल बचाउन अन्तिम कसरत गरिरहेका छन् । केही दिन अघि विशाल आम सभाको आयोजन पनि गरिएको थियो । एक स्वरमा सतापक्ष र प्रतिपक्षका नेताहरुले समेत मिल बचाउन एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका थिए ।
२०४९ साउन १३ गते तत्कालीन गोल्छा अर्गनाइजेसनले स्थापना गरेको श्रीराम सुगर मिल्स २०७७ साउन १२ देखि पूर्णरूपमा बन्द छ । उद्योग जिल्लाको गरुडा नगरपालिका–६ महम्मदपुरमा रहेको छ । उद्योगको नाममा ८० बिघा जग्गा रहेको छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया