‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न किसान महासंघको माग

धनगढी । नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघले देशभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ ।

महासंघको प्रदेश कमिटीले लम्पी स्किनलाई महामारी घोषणा गरी द्रुत गतिमा रोग नियन्त्रण गरी किसानलाई राहत, क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेलगायतका माग राख्दै आइतबार सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीलाई ज्ञापनपत्र बुझाएको छ ।

महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष मदनराज रेग्मीले ज्ञापनपत्र बुझाउँदै सरकारले पशुहरुमा महामारीको रुपमा फैलिएको लम्पी स्किनलाई तत्काल महामारीको घोषणा गर्नुपर्ने, पशुवस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्तिका लागि राहत कार्यक्रम घोषणा गर्नुपर्ने, रोग नियन्त्रणका लागि प्रयाप्त भ्याक्सिन तथा प्राविधिकको व्यवस्था गरिनुपर्ने, पशुमा क्षति पुगेका किसानलाई बीमा रकम भुक्तानीको व्यवस्था गरिनुपर्ने माग राखेका थिए ।

त्यस्तै महामारीमा क्षति पुगेका किसानको कर्जा मिनाहा गरी पशुपालन गर्न सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन पहल गर्नुपर्ने, बाढी, पहिरो डुबानबाट क्षति पुगेका किसानलाई उचित राहत पुनः स्थापनाका लागि पहल गर्नुपर्ने, समयमै किसानलाई मलखाद, बीउ बिजन उपलब्घ गराउनुपर्ने महासंघको माग छ ।

किसानका समस्यामा सरकार गम्भीर नभएको भन्दै सरकार गम्भीर हुनुपर्ने उनले बताए । ज्ञापानपत्र बुझ्दै मन्त्री चौधरीले लम्पी स्किन महामारीले प्रभाव पारेका पशुहरुको डाटा ९ वटै जिल्लाबाट लिने काम गरिएको बताउँदै मन्त्रालयबाट लम्पी स्किन नियन्त्रण कार्ययोजना तयार गरी विपद् व्यवस्थापनबाट स्विकृत भएको उक्त रोगलाई विपद् संकटग्रस्त घोषणा गरी विपद् व्यवस्थापन कोषबाट रकम मागका लागि मन्त्रालयबाट प्रकृया अघि बढिसकेको बताए ।

प्रत्येक जिल्लामा वार्षिक स्विकृत कार्यक्रमअन्तर्गत खोप लगाउने काम पनि भइरहेको उनले बताए । ‘प्रत्येक जिल्लामा स्थानीय तहको माग अनुसाार रोग नियन्त्रणका लागि औषधी पठाइसकेका छौँ’, उनले भने, ‘जिल्लाले तत्काल आवश्यक खोपको मात्रा माग गरिरहेको छ, उक्त मागपश्चात मन्त्रालयले खोप पठाउने कार्यक्रम गरिरहेका छौँ ।’

लम्पी स्किन रोगका कारण प्रदेशभरी ठूलो संख्यामा पशुहरु मरेको र धेरै पशु संक्रमित भएका हुँदा सरकारको ध्यान नगएको भन्दै महासंघले मन्त्रालयको गेटमा केही समय धर्ना पनि दिएको थियो ।

प्रतिक्रिया