संखुवासभाकी चेली ओमानमा बन्धक !

दोहा । खाडी मुलुक ओमानमा घरेलु कामदारको रूपमा रोजगारी दिलाउने प्रलोभनमा पारी त्यहाँ पुगेकी संखुवासभा घर भएकी एक नेपाली महिलालाई बन्धक बनाइएको तथ्य खुलेको छ । गत जेठ ५ गते संखुवासभा खाँदबारी नगरपालिका–१ घर भएकी सपना दर्जी परियारलाई दलालले राम्रो रोजगारी दिलाउने प्रलोभन देखाएर ओमान बन्धक बनाएको भन्दै उद्धारका लागि याचना गरेकी छन् । घरेलु कामदारका लागि त्यहाँ पुगेकी उनी बिरामी भएर काम गर्न नसक्ने अवस्था भएपछि विगत तीन महिनादेखि उद्धारका लागि अनुरोध गरेको भए पनि उनलाई ओमान पठाउने एजेन्ट मनमाया राईले बेवास्ता गरेको उनका श्रीमान टेकबहादुर परियारले बताए ।


पीडित चेलीलाई घर मालिकले बन्धक बनाएर राखेपछि एजेन्ट राईलाई सम्पर्क गर्दा २ लाख ५० हजार रुपैयाँ दिए उद्धार गरी नेपाल फर्काउन सकिने जवाफ दिएको श्रीमान परियारले बताए । आफूसँग यति धेरै पैसा बुझाउने क्षमता नभएको र एजेन्टले उद्धारमा कुनै चासो नदिएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ओमानलाई एक निवेदन लेख्दै उद्धारका लागि अनुरोध गरिएको उनले बताए ।

ओमनमा बिरामी भएर काम गर्न नसकेकी, नेपाल फर्किन्छुभन्दा घर पनि नपठाई विगत तीन महिनादेखि अलपत्र पारिएकी संखुवासभाकी चेलीको उद्वारका लागि अनुरोध आएपछि मध्यपूर्वमा रहेर नेपाली श्रमिकको हितमा काम गर्ने एनआरएनएका विभिन्न व्यक्तित्वहरूलाई म्यासेजमार्फत अनुरोध गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सदस्य टीकाराम नेपालले जानकारी दिए ।

आफू पनि यसअघि एनआरएनए साउदी अरबको बरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेकाले पीडित चेलीको उद्वारका लागि एनआरएनएले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको रास्वपाका सदस्य नेपालले बताए ।

नेपाल सरकारले घरेलु कामका लागि ओमानमा नेपाली महिला कामदार पठाउन वर्जित गरेको अवस्थामा कोही एजेन्ट वा मेनपावर व्यवसायीहरूले थोरै पैसाको लोभमा परी गैरकानुनी रूपमा नपठाउन समेत उनले अनुरोध गरेका छन् ।

नेपाली चेलीलाई घर मालिकले बन्धक बनाएको जानकारी पाएपछि मास्कस्थित नेपाली दूतावासले उनको खोजी गरी उद्धार गर्ने प्रतिबद्धता जनाएको छ । उनलाई फोन सम्पर्क गरी खोजीकार्य गर्ने काम थालिएको दूतावासकी तृतीय सचिव कविता खनालले बताइन् ।
यता, एनआरएनएलगायत विभिन्न व्यक्तिहरूको सहयोग तथा चौतर्फी दबाबपछि एजेन्ट चेलीलाई २० दिनभित्र उद्धार गरी नेपाल ल्याउने प्रतिबद्वता जनाएको रास्वपाका सदस्य नेपालले बताए । एजेन्टले प्रतिबद्वता गरेअनुसार २० दिनभित्र नल्याए कानुनी प्रक्रिया अगाडि बढाउने उनले बताए ।

कसरी पुग्छन् घरेलु कामदार खाडीमा ?


सरकारले मलेसिया तथा खाडीमा घरेलु कामदार पठाउन रोक लगाए पनि झन्डै चार लाखको हाराहारीमा महिलाहरू त्यहाँ घरेलु कामदारका रूपमा रहेका छन् । नेपालीहरू घरेलु कामदारका रूपमा जाने प्रमुख गन्तव्य मुलुकहरू ओमान, कुवेत, साउदी अरब, युएई, लेबनान, जोर्डन लगायतका देशहरूमा पुगेका छन् ।

सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाए पनि अवैध बाटोबाट विदेश पठाउने क्रम बढ्दा मानव तस्करहरू मालामाल बनिरहेका छन् । नेपालबाट विभिन्न म्यानपावर एजेन्टहरूले भारत, बंलादेश, दुबई तथा श्रीलंकालगायत अन्य देशको बाटो प्रयोग गरेर नेपाली महिला कामदारहरू पठाउने गरेका छन् ।

यसरी गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न देशहरूमा पुग्ने कामदारले श्रम स्वीकृति हुँदैन र सम्बन्धित नेपाली दूतावासहरूले पनि बिरामी वा मृत्यु भएमा शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शवहरू अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हँुदा विदेशमै अन्तिम संस्कारसमेत गर्ने गरेका छन् ।

प्रतिक्रिया