‘सञ्चारलाई गुणस्तरीयता र सेवावृद्धिमा ध्यान दिनुपर्छ’

प्युठान । नेपाल टेलिकमबाट दिँदै आएको सेवालाई समय सापेक्ष जनताको पहुँचसँग जोड्दै गुणस्तरीयता र सेवावृद्धिमा ध्यान दिनुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् । जिल्लाको माण्डवी गाउँपालिका–३, जसपुरमा आइतबार नेपाल टेलिकमको एफटिटिएच तथा ल्यान्डलाइन सेवाको उद्घाटनको क्रममा मन्त्री शर्माले अहिलेको अवस्थामा सञ्चारको महत्वपूर्ण भूमिका भएकोले जनतालाई टेलिकमले दिने सेवामा सहजतासँगै गुणस्तरीयता सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई आग्रह गरेकी छन् ।

सरकारले हरेक सरकारी कार्यालयमा जनताका कामहरू अनलाइनमार्फत गर्दै आएकोले टेलिकमले आफ्ना सेवा प्रवाहलाई सहज बनाउनुपर्ने बताएकी छन् । समयसापेक्ष नेपाल टेलिकमले सेवालाई विविधीकरण गर्दै सहज बनाउने आमनागरिकको पहुँचमा लैजाने बताइन् । टेलिकमको सेवा सुधार र पूर्वाधार निर्माणमा सरकारका तर्फबाट आफूले पहल गर्ने बताउँदै मन्त्री शर्माले एफटिटिएच क्षमतालाई आधार मानेर यो वर्ष तीन लाख सेवा थप गर्ने सरकारको योजना रहेको जानकारी दिइन् ।

सञ्चार सेवा जनताको अधिकार भएकोले नेपाल टेलिकमले आफ्ना सेवाहरूको क्षमता बढाई गाउँगाउँसम्म गुणस्तरीय र प्रभावकारी सेवा जनतामाझ लैजान सहयोग गर्न मन्त्री शर्मा र टेलिकमका कर्मचारीसँग माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीले आग्रहसमेत गरेका छन् । यसअघि प्युठानको खलंगा, बिजुवार र भिंग्रीमा एफटिटिएच सेवा विस्तार भइसकेको दूरसञ्चार कार्यालय प्युठानले जानकारी दिएको छ ।

जिल्लामा अझै पनि धेरै स्थानमा टेलिफोन र नेट इन्टरनेटको पहुँचबाट वञ्चित रहेका स्थानीयले गुनासो गरेका छन् । गाउँगाउँमा टेलिफोन, नेट र इन्टरनेटको पहुँचमा ल्याउने प्रतिबद्धता मन्त्री शर्माले व्यक्त गरिन् । कार्यक्रममा वायरलेस सेवा निर्देशक मिनु प्रधान, ब्याकबोन प्रसारण निर्देशक विनिता श्रेष्ठ, जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो । नेपाल टेलिकमका प्रबन्धक शिव खनालले सञ्चालन गरेको कार्यक्रमको नेपाल टेलिकम लुम्बिनी प्रदेश निर्देशक शैलेस बहादुर अमात्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया