सम्झौतापत्रमा उल्लेख गरिएको कम्पनी नै नभेटिएको गुनासो

साउदीमा २४ नेपाली अलपत्र

दोहा । पछिल्लो केही दिनयता साउदी अरबमा अलपत्र पर्ने नेपालीको संख्या ह्वात्तै बढेको छ । केही समयअघि मात्र रोजगारीका लागि साउदी अरब पुगेका २४ जना नेपाली बिचल्लीमा परेका छन् । राम्रो रोजगारीको प्रलोभन देखाएर नेपालबाट त्यहाँ पु¥याइएका उनीहरू विगत दुई हप्तादेखि समस्यामा परेका छन् । पशुपति एचआर सोलुसन प्रालिमार्फत साउदीको सुमित डाइरेक्सन फर इन्डस्ट्रिज कम्पनीमा पुगेको तर, त्यहाँ त्यो कम्पनी नै नभेटिएपछि आफूहरू समस्यामा परेको अलपत्र मध्येका किरण विश्वकर्माले जानकारी दिए ।

पशुपति एचआर सोलुसनलाई प्रतिव्यक्ति १ लाख ५० हजारदेखि दुई लाखसम्म बुझाएर सुमित डाइरेक्सन फर इन्डस्ट्रिज कम्पनीमा लोडअनलोड कामका लागि त्यहाँ पुगेका उनीहरू सम्झौता पत्रमा उल्लेख गरिए अनुसारको कम्पनी नभेटेपछि अहिले गल्फ भिजन कम्पनीमा ल्याएर राखेको उनीहरूले बताएका छन् ।उनीहरूलाई मेनपावरले प्रतिदिन आठ घण्टा काम, प्रति हप्ता एकदिनको बिदा र खाने बस्ने सुविधासहित मासिक एक हजार साउदी रियाल पाउने तथा साउदी जाँदा र फर्किंदा हवाई टिकट कम्पनीले बेहोर्ने सम्झौतापत्रमा उल्लेख गरिएको भए पनि १० हजारको रसिद थमाएर मोटो रकम लिएर उनीहरूलाई त्यहाँ पठाइएको हो ।

‘हामीलाई म्यानपावरले यति ठूलो रकम असुली गएर यहाँ पठायो, हामीले यहाँ आएपछि करार पत्रमा उल्लेख गरिएको सुमित डाइरेक्सन फर इन्डस्ट्रिज कम्पनी भेटिनौँ’, अमरले भने, ‘अहिले हामीलाई अर्कै गल्फ भिजन भन्ने कम्पनीमा ल्याएर राखेको छ, हामी कोठामा बसेको पनि १३ दिन भयो ।’
एजेन्टले राम्रो काम भन्दै लोड अनलोड पठाएको, तर यहाँ आएपछि करार पत्रमा उल्लेख गरिए अनुसारको कम्पनी नभई सप्लाई कम्पनी भएको र यहाँ पनि विभिन्न दलालहरू आएको, कम्पनीमा इन्टरब्यु दिनुपर्छ भन्ने दबाब दिएको अर्का पीडितले बताए ।

‘आफूहरूलाई राम्रो काम दिलाउने भनेर म्यानपावर कम्पनी तथा दलालहरूले फँसायो, हामी यहाँ आइपुगेपछि न त कम्पनी नै छ न त खाने बस्ने व्यवस्था नै छ, खानलाई पैसा पनि दिएको छैन, चामल र आलु मात्र दिन्छ त्यो कसरी खाने विश्वकर्माले थपे, ‘नेपालमा मेनपावरलाई सम्पर्क गर्दा पटकपटक म्यासेज नगर्न भन्छ, अब हामी के गर्ने समस्यामा प¥यौँ ।’

राहदानी पनि अरबी भाषामा लेखेको एउटा पेपर सिक्नेचर गराएर लगेको छ । हामी गर्दैनौँभन्दा जबर्जस्ती हस्ताक्षर गराएको पीडितहरूले आरोप लगाएका छन् । आफूहरू बसिरहेको क्याम्पमा सुत्ने ठाउँ पनि नभएकाले कतिपय साथीहरू बाहिरै रात कटाउने गरेको तथा पिउनेपानीको अभाव हुँदा बाथरूमको पानी पिउन बाध्य भएको उनीहरूको भनाइ छ ।

यही मेनपावरबाट विभिन्न समयमा त्यहाँ पुगेका सयौ नेपालीहरू अलपत्र अवस्थामा रहेको र आइतबार मात्र थप सात जना नेपाली त्यहाँ पुगेको पीडितहरूले बताएका छन् । आफूहरू भने अनुसारको कम्पनी तथा काम नभए बस्न नसक्ने भन्दै उनीहरूले घर फर्कने वातावरण मिलाइदिन, म्यानपावर तथा एजेन्टसँग पैसा फिर्ता गरी आफूहरूलाई न्याय दिलाइदिन विभिन्न संघसंस्था र अभियन्ताहरूलाई अनुरोध गरेका छन् ।

आफूहरूलाई तत्काल कुशल नेपाल फर्काइदिन रियादस्थित नेपाली दूतावास, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत सम्बन्धित निकायलाई यसै सञ्चारमाध्यममार्फत आग्रह गरेका छन् । यता यस विषयमा पशुपति एचआर सोलुसन प्रालिका प्रतिनिधिसँग बुझ्न खासै समस्या नभएको र केही दिन भित्रमै समस्या समाधान हुने भन्दै अफिस आएर कुरा गर्न अनुरोध गरे ।

मेनपावरले भने उनीहरूलाई साउदी जाने बेलामा नेतागिरी गरे १० हजार रियाल तिर्नुपर्ने सिक्नेचर गराएर राखेको उनीहरूले बताएका छन् । ‘म पशुपति एचआर सोलुसनबाट साउदी अरेबिया जान लागेको छु । म आफ्नो राजीखुसीले जान लागेको छु । साउदी मुलुक पुगेपछि म त्यहाँको कानुन, नियम पालना गरी आफ्नो काम ध्यानपूर्वक गर्नेछु’, उनीहरूलाई हस्ताक्षर गराइएको पेपरमा उल्लेख गरिएको छ ।

‘त्यहाँ पुगेपछि करार अवधि नपुगी आफ्नो कारणले, आपूmखुसी नेपाल फर्किनु परेमा, भनेको काम नजानेमा, नेतागिरी गरेमा वा काम छोडेर साउदी अरेबियाको कानुनअनुसार लाग्ने जरिवाना दस्तुर १० हजार रियाल तिर्न तयार छु’ लेखिएको कागजमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएको र उक्त कागज मेनपावरले नै राखेको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया