एनआरएनए युएईले तीन नेपालीको उद्धार गरी स्वदेश पठायो

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईले तीन नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ । विगत नौ महिनाअघि भिजिट भिसामा युएई पुगेर दुबईमा बस्दै आएका मोरङ जिल्ला ग्रामथान गाउँपालिका–१ निवासी सफल पुरीलाई उद्धार गरी नेपाल फर्काएको छ । चार महिनादेखि भिसा सकिएर ओभरस्टे बापत १० हजार ८ सय दिराम युएई सरकारको जरिमाना आएको र आर्थिक स्थिति निकै कमजोर रहेकोले उक्त जरिमाना तिर्न नसक्दा नेपाल फर्कन पर्ने बाध्यताले ‘आउट पास’ बनाइसकेको तर नेपालसम्म जानका लागि हवाइ टिकट काट्ने पैसासम्म नभएको कारणले ‘नेपाल एसोसियसन–एनआरएनए युएई’का उपाध्यक्ष राहत तथा उद्वार समिति संयोजक भीम मल्ल ठकुरीमार्फत संस्थामा हवाई टिकटको लागि निवेदन दिएका थिए ।

उक्त निवेदन दिएपछि पुरीलाई नेपाल पठाउने बारे उद्वार समिति संयोजक तथा उपाध्यक्ष मल्लको टिमले नेपाल एयरलाइन्सको टिकट मल्ल तथा सामाजिक अभियन्ता भवानी नेपालले पीडितलाई विमानस्थल पठाउने व्यवस्था गरेको एनआरएनए युएईका अध्यक्ष विकाश शाहीले जानकारी दिए ।

यसैगरी, युएईको अबुधाबीमा रहेको Cleanco Trading Importing Service LLC कम्पनीमा सिन्धुपाल्चोककी लक्ष्मी पोख्रेल विकलाई पनि उद्धार गरी नेपाल पठाएको छ ।

कम्पनीमा काम सुरु गरेदेखि उनीलाई छारे रोगको पुरानो समस्याले पटकपटक ग्रसित बनाएको कारणले काम गर्न नसक्दा उनले कम्पनीसँग नेपाल पठाउन आग्रह गरेको, तर कम्पनीले भिसाको पैसा तिरेर मात्र नेपाल जान पाउँछौ नत्र मिल्दैन भनेपछि अलपत्र परेकी थिइन् ।

पटकपटक अनुरोध गर्दा पनि नेपाल जानको लागि पासपोर्ट नदिएको तथा स्वास्थ्य अवस्था दिनानुदिन नाजुक हुँदै गयो । केही उपाय नलागेपछि उनले चिनेजानेको व्यक्तिहरूसँग हारगुहार गरेपछि एनआरएनए युएईका सचिव कुमार श्रेष्ठको सम्पर्कमा पुगेकी थिइन् । एनआरएनए सचिव श्रेष्ठले लक्ष्मी पोख्रेल विकलाई पठाउने मेनपावरलाई नेपालमा सम्पर्क गरी पीडितलाई नेपाल फर्कन सहयोग गर्न अनुरोध गरेका थिए । मेनपावरले कम्पनीले सम्पर्क गरिसकेपछि कम्पनिले बल्लतल्ल पासपोर्ट त दियो तर नेपाल फर्किनका लागि हवाई टिकटको पैसा नभएपछि एनआरएनएले नै टिकट उपलब्ध गराएपछि नेपाल फर्किएकी छिन् ।

यस्तै, एनआरएनएका अनुसार कामको क्रममा दुर्घटनामा परेर घाइते भएका नवीन चन्दलाई पनि उद्धार गरी नेपाल फर्काइएको छ । युएईमा चन्दको उपचार खर्चिलो हुने तथा बिमाले कभर नगर्ने अवस्था देखेपछि एनआरएनएको पहलमा नेपाल फर्काइएको हो । पछिल्लो समय एनआरएनए युएईको निर्वाचनबाट नयाँ टिम निर्वाचित भएर आएसँगै राहत तथा उद्दार समितिले आपतमा परेका नेपालीहरुलाई उद्दार गर्ने कामलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया