कुवेत भनेर साउदी पुगेका चार नेपाली चेलीको उद्धार

दोहा । साउदी अरबबाट चार नेपाली चेलीको उद्धार गरी नेपाल फर्काइएको छ । उनीहरूलाई दलालले कुवेतमा कम्पनीको कामको प्रलोभन देखाई गैरकानुनी बाटो हुँदै घरेलु काममा साउदी पु¥याएको थियो । रियादस्थित नेपाली दूतावासका अनुसार उनीहरूलाई साउदीमा घरेलु काममा विभिन्न हिंसा र दुव्र्यवहार भोगिरहेको जानकारी पाएपछि उद्धार गरी तीन महिना दूतावासको सेल्टरमा राखेर स्वदेश फर्काइएको हो ।

कम्पनीमा काम लगाउने भनेर सरकारसँग श्रम स्वीकृति नै नलिई उनीहरूलाई भारत हुँदै कुवेत पु¥याइएको थियो । कुवेतमा केही महिना काम गरेपछि कुवेतका स्थानीय एजेन्टले उनीहरूलाई साउदी अरब पु¥याइएका थिए । साउदीमा उनीहरूलाई झण्डै सात वर्षसम्म घर मालिकले बिनातलब काम लगाएको र बिरामी हुँदासम्म उपचार नगराउने, तलब माग्दा कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिने गरेको दूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

दैनिक १८ घण्टासम्म आफूले काम गर्न परेको र तलब नपाएपछि घर फर्कन्छुभन्दा उल्टो कुटपिटका साथै अमानवीय र अभद्र व्यवहार भोग्न परेको उनीहरूले बताएका छन् । लामो समयदेखि साहुको यातना सहेका उनीहरूको अवस्था गम्भीर थियो । तीन महिनासम्म चारै जनालाई दूतावासले खाने बस्ने सुविधासहित सेल्टरमा राखेको थियो । यसबीचमा दूतावासले साउदीको घरेलु कामदार कार्यालयसँग समन्वय गरी उनीहरूको स्वदेश फिर्तीको लागि कानुनी प्रक्रिया मिलाएर बहिर्गमन भिसा लगाएको थियो ।

नेपाल फर्कन मिल्ने बहिर्गमन भिसा लागेपछि हिमालय एयरलाइन्समार्फत दूतावासले बुधबार उनीहरूलाई नेपाल फर्काएको छ । प्रवासी नेपाली मञ्च साउदीले उनीहरूलाई फर्किने हवाई टिकटको व्यवस्था गरेपछि हिमालय एअरलाइन्सबाट स्वदेश फिर्ता पठाइएको दूतावासले जनाएको छ ।

सरकारले प्रतिबन्ध लगाएको काममा महिलाहरूलाई विभिन्न तरिका र माध्यमको प्रयोग गरी एजेन्टहरूले गैरकानुनी रूपमा खाडीका विभिन्न देशमा पु¥याउने गरेका छन् । कतिपयलाई कम्पनीकै काममा भनेर लैजाने र गन्तव्यमा पुगेपछि प्रतिबन्धित घरेलु काममा लगाउने गरेको समेत पाइएको छ ।
पीडित महिलाहरू र पीडक (दलाल÷एजेन्टहरू)को नाम नखुलाइएको यो उद्धार प्रकरणमा टिकट सहयोग दिएर प्रवासी नेपाली मञ्च साउदी अरबले सघाएको दूतावासको विज्ञप्तीमा उल्लिखित छ । पछिल्लो समय यसरी लैजाने क्रम बढेको भन्दै गैरकानुनी रूपमा एजेन्टको भर परी नआउन दूतावासले अनुरोध गरेको छ ।

नेपालबाट साउदी अरब, कुवेतलगायत खाडीमा घरेलु कामदार पठाउन इजाजत नभए पनि विभिन्न म्यानपावर तथा एजेन्टहरूले कुवेत, भारत, बंगलादेश, दुबई तथा श्रीलंकालगायत अन्य देशको बाटो प्रयोग गरेर नेपाली महिला कामदारहरू पठाउने गरेका छन् । यसरी गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न देशहरूमा पुग्ने कामदारको श्रम स्वीकृति हुँदैन र त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासहरूले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शवहरू अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कारसमेत गर्ने गरेका छन् ।

प्रतिक्रिया