लमजुङ । गत वर्ष साउन महिनाको दोस्रो सातासम्म देशैभर लगभग रोपाइँ सकिएको थियो । लमजुङ जिल्लामा पनि यतिखेर रोपाई लगभग सकिएको तथ्यांक छ । तर, यस वर्षको आँकडा पोहोरको छेउसम्म पनि पुग्दैन । समयमा पानी नपरेका कारण कतिपय स्थानमा रोपाईंँ ढिला भएको होला, तर मुख्य कारण हो लम्पी स्किन ।
गाई वस्तुमा लाग्ने यस रोगका कारण देशैभरका हजारौँ पशुचौपयाको मृत्यु भइसकेको छ भने लाखौँको संख्यामा बिरामी परेका छन् । लमजुङ जिल्लाको अवस्था हेर्ने हो भने गोरु र गाईमा बढी मात्रामा लम्पिस्किन रोगको प्रकोप बढेको छ । रोपाइँ गर्ने गोरु नै बिरामी परेपछि ग्रामिण किसानको रोपाइँ अझैसम्म पनि अनिश्चित बनेको छ ।
गाउँका खेतका गराहरुमा अग्ला कान्ला भएका कारण आधुनिक ट्याक्टर लैजान असम्भव छ । कतिपयले आफैंले गोरु पालेका कारण पनि ट्याक्टरको बन्दोवस्त गरेका छैनन र ट्याक्टरलाई तिर्ने पैसा पनि छैन उनीहरुसँग । एउटै आशा छ गोरुमा लागेको रोग सन्चो होला, गोरु तंग्रिएला र खेत रोपौँला ।
असारमा मकै भाँचेर धान खेती लगाउने खेतहरु यतिखेर रोप्न नपाउँदा किसानको व्यथामा मलम पट्टी लगाउने कोही छैन । यही पीडा बोकेर खेति लगाउने आशामा रहेका सयौँ किसानमध्ये एक हुन लमजुङका सुकमान चेपाङ । बैसीशहर नगरपालिका–११ चिति बरबोट निवासी उनको एक हल गोरुलाई अहिले लम्पी स्किनले सताएको छ । त्यही भएर खेत अहिलेसम्म नरोपिएको उनको भनाइ छ ।
सुकमान एकल पुरुष हुन् । उमेर उनको ७३ वर्ष । एक हल गोरुकै सहारामा खेतीपाती गर्दै, पेट पाल्दै आएका सुकमानलाई रोपाइँ कसरी गर्ने हो ? भन्ने प्रश्नले रातभर निदाउन दिँदैन । उनले यो उमेर सम्म वर्सेनि १७ हल लाग्ने खेत एक्लैले सम्हाल्दै आएका थिए । तर, यस वर्ष समयमै रोपाइँ सक्ने उनको चाहना भने गोरुको रोग निको होला भन्ने पर्खाइसँगै लम्बिँदै गएको छ । तर, गोरुको रोग निको हुने हो कि हैन अन्योल भने कायमै छ ।
लम्पी स्किनबारे थाहै नपाएका उनले गोरुमा रोग सरेको समेत पत्तै पाएनन् । उनी भन्छन्, ‘असारसम्म राम्रै खेत जोतिरहेको थिएँ, साउन लागेसँगै गोरूमा साना विविरा देखिन थाल्यो, नाक शरीरबाट रगत बग्न थाल्यो, पछि पो थाहा पाएँ यो त रोग पो लागेको रहेछ ।’ त्यसपछि उनले २५ सयको औषधि ल्याएको तर केही सुधार नदेखिएको बताए ।
१७–१८ वर्षकै कलिलो उमेरदेखि खेती किसानी गर्दै आएको सुनाउँदै उनले थपे भने, ‘सानै उमेरदेखि हलो किसानी गर्दै आएको हुँ, तर यस्तो रोगको बारेमा कहिल्यै थाहा पाइन, गरिबीमा हुर्कियौँ, एक छाक मिठो मसिनो खानको लागि असार साउन ताका एक्लैले दुःख गर्दै आएको छु, यसैले सबै खर्च र खान पुर्याउँथेँ ।’
ट्याक्टरबाट जोत्न आफ्नो तागत छैन अरूको ट्याक्टर लगाउन र नयाँ गोरु किन्न पैसा छैन’, उनले गुनासो गरे । बेसीशहर नगरपालिकाका पशु चिकित्सक सन्दिप विष्टले रोग लागिसकेपछि औषधि दिनेबाहेक अन्य केही गर्न नसकिने बताए ।
पालिकाको तर्फबाट १ हजार ३ सय खोप सबै वडामा पुगेर लगाइएको भन्दै उनले सबै कृषकले खोप लगाउन नमानेको यथार्थ सुनाए । यता चेपाङ आफूले रोग विरुद्धका खोप लगाउने कोही पनि आफ्नो घरसम्म आएको थाहा नपाएको बताउँछन् ।
लम्पी स्किन रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने र दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठा देखिन्छ । गिर्खा केही समयपछि हराउने वा कहिलेकाहीँ गिर्खा फुटेर घाउ हुने, किरा र औँसा पर्ने, नाक मुखभित्र, कल्चौँडा, थुनमा घाउ हुने, आँसु, र्याल, सिँगान बग्ने, चिप्रा कचेरा लाग्ने, खुट्टा जोर्नी सुन्निने जस्ता लक्षणहरू देखिने गरेको पाइएको छ ।
लमजुङ
प्रतिक्रिया