रौतहट । पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न कारागारलाई भ्याइनभ्याइ छ । कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय रौतहट तथा कारागार विभागलाई समस्याबारे जानकारी गराउँदै आए पनि सुनवाइ नभएको बताइन्छ । जिल्ला कारागार रौतहटमा क्षमताभन्दा करिब दोब्बर कैदीबन्दी राखिएपछि व्यवस्थापनमा ठुलो समस्या देखिएको छ । जिल्ला कारागार गौरको क्षमता दुई सय जनाको मात्र भए पनि हाल उक्त कारागारमा ३ सय ६८ जना कैदीबन्दी रहेका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कारागार व्यवस्थापनमा समस्या आएको जिल्ला कारागार कार्यालय गौरका प्रमुख (जेलर) मणिभुषण साहले बताएका छन् ।
सबैभन्दा ठूलो समस्या शौचालयको रहेको उनीहरूको भनाइ छ । बिहान शौचालय जाँदा घण्टौँसम्म पालो कुर्नुपर्ने अवस्था रहेको उनीहरू बताउँछन् । यस्तै खाना खानको लागिसमेत घण्टौँ लाइनमा बस्नुपर्ने र सुत्नलाई समेत पालो कुर्नुपर्ने अवस्था रहेको कैदीहरूको गुनासो छ । भवन अभाव हुँदा क्षमताभन्दा लगभग दोब्बर कैदीबन्दी राख्नुपर्ने बाध्यता रहेको छ । प्रयाप्त भवन नहुँदा कैदीबन्दीहरूले एउटै कोठामा क्षमताभन्दा धेरै बस्नुपर्ने बाध्यता रहेको कारण उनीहरूको व्यवस्थापन गर्न समस्या भइरहेको जेलर साहले बताए ।
क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कैदीबन्दीहरूलाई खाने, बस्ने, सुत्ने, लत्ताकपडा, शौचालयको अभाव छ भने रासन, विद्युत्, खानेपानी र स्वास्थ्य उपचारमा समस्या हुने गरेको जेलर साहले बताए । जेनतेन गरेर केही स्थानीय तहको सहयोगमा आफूले जीर्ण भवनलाई थोरै व्यवस्थित गरे पनि अझै सुधार तथा मर्मतका काम धेरै गर्न बाँकी रहेको उनले बताए । वर्षाको पानीको निकास नहुँदा वर्षाको समयमा कारागार कार्यालयभित्र पानी जम्ने गरेको र त्यही जमेको पानीमा कैदीबन्दी बस्न बाध्य हुँदै आएको समेत उनले बताए ।
क्षमताभन्दा बढी कैदीबन्दी राखिएकोले पानी खान र नुहाउनसमेत समस्या हुने गरेको कैदीबन्दीहरूको गुनासो छ । कारागार भवन धेरै जीर्ण भएकोले आफूहरू वर्षाको समयमा रातीमा राम्ररी सुत्नसमेत नपाउने गरेको कैदीबन्दीहरू बताउँछन् । कैदीको संख्या क्षमताभन्दा बढी हुँदा कोचिएर बस्नुपर्ने बाध्यताका कारण कैदीबन्दीमा विभिन्न किसिमका सरुवा रोगहरूको संक्रमण हुन सक्ने खतरासमेत उत्तिकै छ । आजभन्दा ९१ वर्षअघि १९८९ सालमा स्थापना भएको जिल्ला कारागार कार्यालय रौतहट अहिले संरक्षणको अभावमा दिनप्रतिदिन जीर्ण बन्दै गएको छ ।
यस आर्थिक वर्ष २०७९÷०८० मा स्थानीय सरकार र विभिन्न दातृ निकायको सहयोगमा कैदीबन्दीको सुविधाका लागि थप तीन वटा शौचालय निर्माण गरिएको छ भने कैदीबन्दीको फोन गर्ने ठाउँ, खाना खाने ठाउँलाई मर्मत गरी व्यवस्थित गरिएको छ । त्यस्तै १५ थान पंखा, दुई वटा पानी तान्ने मोटर, हाते पम्प एक थान र २० वटा त्रिपाल कैदीबन्दीहरूलाई विभिन्न स्रोतबाट उपलब्ध गराइएपछि उनीहरूलाई थोरै राहत भएको जिल्ला कारागाार कार्यालयले जनाएको छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया