रौतहटका सात पालिकामा उपसचिवको आगमन हुँदै

रौतहट । जिल्लाको सात पालिकामा कार्यालय प्रमुखको रूपमा उपसचिवको आगमन हुँदै छ । जिल्लामा निमित्तको भरमा सञ्चालनमा रहेको पालिकाहरूमा एकैपटक उपसचिव आउन लागेको हो । जिल्लाको कटहरिया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, गढिमाई नगरपालिका, राजपुर नगरपालिका, बौधीमाई नगरपालिका र गौर नगरपालिकामा उपसचिवलाई पठाइएको हो ।

यस्तै जिल्लाको बृन्दावन नगरपालिका र बौधीमाई नगरपालिकामा उपसचिवको पदस्थापन भएको छ । कटहरिया नगरपालिकामा निमित प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहको ठाउँमा उपसचिव योगेन्द्रप्रसाद दुलाल, फतुवा विजयपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादवको ठाउँमा उपसचिव धर्मराज रोकाय आउँदैछन् ।

त्यस्तै राजपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरको ठाउँमा उपसचिव राजेन्द्रप्रसाद आचार्य, गौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरको ठाउँमा उपसचिव लक्ष्मीभक्त कलौनी, गढिमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवको ठाउँमा उपसचिव एकनारायण शर्मा आउने भएका छन् ।

त्यसैगरी बौधीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद राय यादवको ठाउँमा उपसचिव दीपक ढकाल र वृन्दावन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रासनारायण पटेलको ठाउँमा उपसचिव कृष्णप्रसाद खनाल आउन लागेका हुन् । बौधीमाईका यादव र वृन्दावनका पटेललाई एक महिनाको लागि मात्र निम्ति प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरको विभिन्न स्थानीय तहमा रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृतहरूलाइ शून्यमा झार्ने निर्णय गरेको थियो । सोही अनुरूप निमित्त कार्यालय प्रमुख भएको ठाउँमा उपसचिव पठाएको हो ।

तर रौतहटको दुई पालिका भने अझै निमित्तकै भरमै सञ्चालनमा रहेको पाइएको छ । जिल्लाको मौलापुर नगरपालिकामा इन्जिनियर रामबाबु साह र परोहा नगरपालिकामा अधिकृत छैठौं स्तरका कर्मचारी मो.महफुज आलमले कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् । यसतर्फ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यान जान सकेको छैन । यसको चौतर्फी आलोचना हुन थालेको छ । मौलापुरका स्थानीय कृष्ण तिवारीले सामाजिक संजालमा यसको खुलेर विरोध गरेका छन् ।

यता जिल्लाको राजदेवी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा शाखा अधिकृत प्रलव कायस्थ, यमुनामाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा ओमप्रकाश यादव, दुर्गाभगवती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा नितेशकुमार झा, माधवनारायण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा देवनाथ यादव रहेका छन् । उनीहरू सबै प्रशासनतर्फका शाखाअधिकृत हुन् ।

यस्तै जिल्लाको केही पालिकाहरूमा पहिलादेखि नै उपसचिवले प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्दै आएका छन् । जिल्लाको गुजरा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा राजकुमार अधिकारी, चन्द्रपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा किरण निधी तिवारी, गरुडा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा हेमराज फुयाल, देवाहीगोनाही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा शम्भुप्रसाद यादव रहेका छन् ।

यसअघि रौतहटको विभिन्न पालिकाहरूमा खटाइएका उपसिचवहरू कार्यालयमा हाजिर नहुँदै बीच बाटोबाटै फर्किएका थिए । कोही आउन मानेका थिएनन् भने कोही रकमी चलखेलमा परी बीच बाटोबाटै फर्केको बुझिएको थियो । यसपालि पनि त्यस्तै हुने हो कि भन्ने आमजनताको चासो रहेको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया