सुदूरपश्चिममा ‘लम्पी स्किन’बाट १३ हजारभन्दा बढी पशु मरे

धनगढी । सुदूरपश्चिम प्रदेशमा ‘लम्पी स्किन’ रोगबाट १३ हजार ७ सय ८३ पशु मरेका छन् । महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट हालसम्म प्रदेशका ९ वटै जिल्लामा सो संख्याका पशुहरु मरेका हुन् ।

प्रदेशभरी लम्पी स्किनबाट ५ हजार ५ सय ९५ गाई, ४ हजार ७ सय ८६ गोरु, ३ हजार ३ सय ४ बाच्छा–बाच्छी र ९८ वटा भैँसी मरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय डोटीका सूचना अधिकारी पुष्करराज नाथले जानकारी दिए ।

लम्पी स्किन रोगबाट सबैभन्दा बढी बैतडीमा १ हजार १ सय ९० बाच्छा–बाच्छी, १ हजार ३ सय ८० गाई, ८ सय ६५ गोरु, १४ भैँसी गरी ३ हजार ४ सय ४९, बझाङमा ६ सय ५४ बाच्छा–बाच्छी, १ हजार १९ गाई, ७ सय ४७ गोरु, ७ भैँसी गरी २ हजार ४ सय २७ र डोटीमा ५ सय ८९ बाच्छा–बाच्छी,६ सय ८९ गाई, ७ सय ८५ गोरु, १२ भैसी गरी २ हजार ७५ पशु मरेको सूचना अधिकारी नाथले जानकारी दिए ।

त्यस्तै अछाममा २ सय ७ बाच्छा–बाच्छी,५ सय ९८ गाई, ८ सय ६२ गोरु, १७ भैँसी गरी १ हजार ६ सय ८४, दार्चुलामा १ सय ३७ बाच्छा–बाच्छी, ७ सय ५ गाई, ६ सय ७२ गोरु, १७ भैँसी गरी १ हजार ५ सय ३१ र डडेल्धुरामा २ सय ५७ बाच्छा–बाच्छी, ७ सय २३ गाई, ५ सय ५० गोरु गरी १ हजार ५ सय ३० पशु लम्पी स्किनबाट मरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय डोटीले जनाएको छ ।

त्यस्तै बाजुरामा १ सय ३५ बाच्छा–बाच्छी, २ सय ९१ गाई, २ सय ५३ गोरु, १३ भैँसी गरी ६ सय ९३, कैलालीमा १ सय १६ बाच्छा–बाच्छी,९६ गाई, ४५ गोरु, १८ भैँसी गरी २ सय ७५ र कञ्चनपुरमा १८ बाच्छा–बाच्छी, ९४ गाई, ७ गोरु गरी १ सय १९ पशु लम्की स्किनबाट मरेको जनाइएको छ ।

प्रदेशभरी ६४ हजार ६ सय २५ बाच्छा–बाच्छी, १ लाख ४६ हजार ७ सय ८० गाई, १ लाख ९ हजार २ सय २४ गोरु, ५ हजार १ सय ५१ भैँसी गरी ३ लाख २५ हजार ७ सय ९९ पशु लम्पी स्किन रोगबाट संक्रमित भएको निर्देशनालयले जनाएको छ ।

कैलालीमा ३ हजार ६ सय ८२, कञ्चनपुरमा २ सय ९२, बेतडीमा ३ सय र बाजुरमा ३ सय २५ वटा लम्की स्किन संक्रमित पशुलाई खोप लगाइएको जनाइएको छ । लम्पी स्किन रोगबाट बढी प्रभावित क्षेत्रहरुमा औषधी र खोपका लागि योजना बनाएर अघि बढ्ने कार्य भइरहेको सूचना अधिकारी नाथले बताए ।

प्रतिक्रिया