सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत रोपाइँ, ४ जिल्लामा शतप्रतिशत

धनगढी । सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय डोटीका अनुसार हालसम्म प्रदेशभरी ९९ दशमलव सून्य ७ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा कुल ३ लाख ६० हजार ४ सय ६२ हेक्टर क्षेत्रफल जमीन खेतीयोग्य रहेको र कुल १ लाख ७७ हजार ७ सय ६७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा हालसम्म १ लाख ७६ हजार १ सय २० हेक्टर जमीनमा रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेयले जानकारी दिए ।

कृषि विकास निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशका ४ जिल्ला बझाङ,कैलाली,कञ्चनपुर र बाजुरामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

बझाङमा कुल १० हजार ३ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा शतप्रतिशत अर्थात १० हजार ३ सय क्षेत्रफलमा,कैलालीमा ६९ हजार ४ सय ४० हेक्टर क्षेत्रफलमध्ये शतप्रतिशत,कञ्चनपुरमा ४८ हजार ४ सय ९६ हेक्टर क्षेत्रफलको शतप्रतिशत र बाजुरामा धान रोपाइँ हुने कुल ६ हजार ९ सय १५ हेक्टर क्षेत्रफलको शतप्रतिशत रोपाइँ भएको सूचना अधिकारी पाण्डेयले जानकारी दिए ।

त्यस्तै डडेल्धुरामा धान रोपाइँ हुने कुल क्षेत्रफल ६ हजार १ सय २० हेक्टर जमीनमध्ये ५ हजार ९ सय ३६ हेक्टरमा अर्थात ९७ प्रतिशत, दार्चुलामा ४ हजार ४ सय ८० हेक्टरमध्ये ४ हजार ३२ हेक्टरमा अर्थात ९० प्रतिशत र डोटीमा ६ हजार ४ सय २६ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये ५ हजार ७ सय ४९ हेक्टरमा अर्थात ९६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालय डोटीले जनाएको छ ।

कृषि विकास निर्देशनालयका अनुसार अछाममा १६ हजार ५ सय ९० हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये १६ हजार ३ सय ४१ हेक्टरमा अर्थात ९८ दशमलव ५० प्रतिशत र बैतडीमा धान रोपाइँ हुने ९ हजार हेक्टरमध्ये ८ हजार ९ सय १० हेक्टरमा अर्थात ९९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

पहाडी जिल्लाका केही ठाउँहरुमा केही ढिला रोपाइँ भए पनि तराइका जिल्लाहरुमा ठिकै समयमा रोपाइँ सम्पन्न भएको सूचना अधिकारी पाण्डेयले बताए ।

प्रतिक्रिया