असारे झरीले किसानलाई राहत : भन्छन्– बल्ल यो पानीले माटो गलायो

अधिकांश जग्गा आकाशे पानीकै भरमा गरिनुपर्दा यसपालि किसानले दुई तिहाइ भागमा धान रोपाइँ गर्न पाएका छैनन् । पानी नपर्दा धानको बीउ ब्याडमै सुक्दै गएको थियो । अब भने यसअघि राखिएको बीउ पानीले फेरिने र रोपाइँ थाल्न पाइने किसान बताउँछन् ।

महोत्तरी । पानीबिना छटपटाएका महोत्तरीका किसानले बल्ल असारे झरीको महसुस गरेका छन् । असार तेस्रो साता बित्नै लाग्दा बल्ल गए राति झमझम परेको पानीले यहाँका बासिन्दालाई असारे झरीको महसुस गराएको छ ।

मटिहानीका अजिज राइनले भने, ‘पानीले बल्ल माटो गलाएको छ ।’ पानी परेपछि अब धानखेतीलाई मद्दत पुग्ने उनको भनाइ छ । ब्याडमै सुक्दै गएको बीउ अब यो पानीले जाग्ने र एक–दुई दिनभित्रै रोपाइँ थाल्ने राइन बताउँछन् ।

भंगाहा–४ का ७० वर्षीय जब्बार शेष भन्छन्, ‘अपुग हुने बीउ राखिहाल्दा हुन्छ, पानीले साथ दिइराख्यो भने १५ दिनमा रोप्न मिल्छ ।’ साउन मध्यअघि बीउ रोपे धान उत्पादन राम्रै हुने उनले बताए ।

अधिकांश जग्गा आकाशे पानीकै भरमा गरिनुपर्दा यसपालि किसानले दुई तिहाइ भागमा धान रोपाइँ गर्न पाएका छैनन् । पानी नपर्दा धानको बीउ ब्याडमै सुक्दै गएको थियो । अब भने यसअघि राखिएको बीउ पानीले फेरिने र रोपाइँ थाल्न पाइने किसान बताउँछन् ।

ढिलो पानी परेको हुँदा बीउ अपुग हुन सक्ने कुरामा अहिले नै अड्कल गरेर काम गरिँदा अबका २० दिनमा धानको शाही रोप (बीउरोप) सकिने र भदौ पहिलो सातासम्म खरुअन (रोपिएको बीउरोपको धान गाँजिएपछि त्यो उखेलेर दोस्रोपटक रोपिने) रोप्न मिल्ने अवस्था छ ।

जिल्लामा कुल खेतीयोग्य जग्गा ७१ हजार हेक्टरमध्ये करिब ५० हजार हेक्टर धानखेती गर्न सकिन्छ । यसमध्ये १० प्रतिशत मात्र सिञ्चित (कुलो, नहर लाग्ने) हुँदा बाँकीमा आकाशे पानीकै भर पर्नुपर्छ ।

धानखेतीका लागि जेठ मध्यसम्म बीउ राखिसक्ने (बीउ ब्याडमा राख्ने, छर्ने) असार मध्यभित्र बीउ रोप सक्ने र साउन मध्यअघि खरुअन रोपिसकिनुपर्ने किसानको परम्परागत तालिका छ । यसपालि पानी नपर्दा यो तालिका खजमजिएपछि धान रोपाइँमा ढिलाइ हुँदै गएको हो ।– रासस

प्रतिक्रिया