मुख्यमन्त्री शाहले गरे धनगढी उपमहानगरको सेवाग्राही प्रतिक्षालयको उद्घाटन

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढी उपमहानगरपालिकाको सेवाग्राही प्रतिक्षालय भवनको उद्घाटन गरेका छन् । मंगलबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री शाहले उपमहानगरपालिकाको नवनिर्मित सेवाग्राही प्रतिक्षालयको उद्घाटन गरेका हुन् ।

सेवाग्राही प्रतिक्षालयको उद्घाटनपछि बोल्दै मुख्यमन्त्री शाहले उपमहानगरपालिकाले निमार्ण गरेको प्रतिक्षालय प्रविधिमैत्री भएको भन्दै प्रशंसा गरे । उनले भने, ‘सूचनाको हक जनतालाई सहजरुपमा उपलब्ध गराउने काम उपमाहनगरपालिकाले गरेको छ, सेवाग्राहीहरुले कुन सेवा कसरी लिने भन्ने बारेमा सहजै जानकारी पाउने भएका छन् यो राम्रो कार्य हो ।’

त्यस्तै मुख्यमन्त्री शाहले पहिलो जनताको सरोकारको क्षेत्र स्थानीय तह भएको बताए । उनले भने, ‘जहाँ मान्छेले दैनिक जीवनयापनदेखि लिएर दैनिक कार्यहरु आफूले सम्पन्न गर्नको लागि त्यो निकायसँग ठोकिनै पर्छ, चाहे त्यो वडा तह होस् या नगर तह होस् या गाउँ तह होस् ।’

उनले थपे, ‘त्यकारण जनताका गुनासाहरुलाई सहज तरिकाले सम्बोधन गर्ने सन्दर्भमा हामी अगाडि बढ्न सक्यौँ र एउटा विश्वासमा लिएर विश्वासको वातावरण बनाएर हामी अगाडि बढ्न सक्यौँ भने अहिले जे जति गणतन्त्र,संघीयता,संविधानका बारेमा कुरा उठिरहेका छन् ती न्यूनिकरण भएर जान्छन् ।’

धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले उपमहानगरले सेवाग्राही प्रतिक्षालय निर्माण गरेर अव नागरिक सर्वोत्तम हुन् भन्ने सन्देश दिन खोजेको बताए । ‘हिजोका दिनमा सेवाग्राहीहरु रुखमुनि बस्नु हुन्थ्यो, यो हामी सबैलाई थाहा छ’, उनले भने, ‘हाम्रो कार्यपालिका आइसकेपछि सुरुमै प्रतिक्षालय निर्माण गर्ने निर्णय गरेका हौँ, बन्न अलि ढिला भयो ।’

हमालले भने, ‘सेवाग्राही आएपछि कमसेकम सेवाग्राहीले सम्मान महसुस गरोस,आत्मसम्मान महसुस गर्नुपर्छ भन्ने उदेश्यले यो बनाइएको हो ।’ नवनिर्मित सेवाग्राही प्रतिक्षालय २२ लाख ५१ हजार लागतमा निर्माण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

सगरमाथा आरोहण गरेकी संगीताकुमारी रोकाया सम्मानित हुँदै

प्रतिक्षालय सुविधायुक्त, भूकम्प प्रतिरोघी हुनुका साथै अपांगमैत्री समेत रहेको जनाइएको छ । प्रतिक्षालयमा डिजिटल वडापत्र राखिएको छ जसबाट सेवाग्राहीले आफूले लिन चाहेको सेवा कुन फाँटबाट,आवश्यक कागजपत्र, कति समयमा काम हुनेलगायतका जानकारी सहजै पाउने जनाइएको छ ।

सोही कार्यक्रममा उपमहानगरपालिकाले सगरमाथा आरोही बझाङको साइपाल गाउँपालिका–४ की संगीताकुमारी रोकायालाई सम्मान गरेको छ ।

उपमहानगरले नेपालको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराउने साहसिक र प्रेरणात्मक कार्य गरेको भन्दै सफल सगरमाथा आरोही रोकायालाई सम्मान गरेको हो । रोकायालाई मुख्यमन्त्री शाहले सम्मान पत्र प्रदान गरेका थिए । रोकायाले यही जेठ ३ गते सगरमाथा आरोहण गरेकी थिइन् ।

प्रतिक्रिया