सिस्ने गाउँपालिकाद्वारा आफ्नै भवनबाट सेवा दिन सुरु

रुकुम पूर्व । सिस्ने गाउँपालिकाले नवनिर्मित प्रशासकीय भवनबाट सेवा दिन सुरु गरेको छ । सोमबारबाट पालिकाले आफ्नै भवनबाट प्रशासकीय सेवा शुभारम्भ गरेको हो । सोमबारबाटै पालिकाबासीले नयाँ भवनबाट सेवा पाउन थालेका छन् ।

पालिका केन्द्र रुकुमकोटमा पालिकाको प्रशासकीय भवन निर्माण गरिएको छ । ६ सय ३५ वर्गमिटर क्षेत्रफलमा भवन निर्माण गरिएको गाउँपालिकाका इन्जिनियर कर्ण केसीले जानकारी दिए । उनका अनुसार नवनिर्मित भवन ३ तल्लाको छ । भवनमा सुविधा सम्पन्न २६ वटा कोठा छन् ।

कुल ५ करोड २२ लाखको सम्झौता रकममा भवन निर्माण गरिएको केसीको भनाई छ । गाउँपालिका र संघीय सरकार अन्तर्गत स्थानीय पूर्वाधार विभागको लागत साझेदारीमा भवन निर्माण भएको हो ।

भवनका सवै तलामा सुविधासम्पन्न कोठा छन् । पहिलो र दोस्रो तल्लामा कार्यालयका विभिन्न शाखा राखिएको छ । यस्तै अध्यक्ष उपाध्यको कार्यकक्ष पनि दोस्रो तल्लामै राखिएको छ । तेस्रो तल्लामा सुविधासम्पन्न वैठक कक्ष र पुस्तकालयसहित कार्यालय प्रमुखको निवास छ ।

भवनका सवै तल्लामा अपांगमैत्री शैचालय सहित अन्य शौचालयको व्यवस्था छ । जिल्लाका तीन स्थानीय तह मध्य सिस्नेले जिल्लामै नमूना पालिका भवन निर्माण गरेको हो ।

सहज र थप गुणस्तरीय सेवा नयाँ भवनबाट प्रवाह हुने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताए । नयाँ भवनबाट पालिकाबासीले छिटो छरितो र सहजरूपमा सेवा पाउने उनले बताए । गाउँपालिकाबाट प्रवाह हुने सेवा हिजोको भन्दा सुदृड र व्यवस्थित हुने रेग्मीले विश्वास व्यक्त गरे ।

२०७७ फागुन ११ मा दिवा यति नायग्रा जेभी ललितपुरले २०७९ फागुन १० गतेसम्म भवन निर्माण गरि सक्ने गरि भवन निर्माणको जिम्मा लिएको थियो । निर्माण सुरु गरिएको दुई वर्षमा भवन निर्माणको सवै काम सकिएको हो ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया