कांग्रेसलाई सुधार गर्न सबै गुटहरू भत्काउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनः निर्माणका लागि गुटको अन्त्य हुनुपर्ने बताएका छन् ।

कांग्रेसको शुभेच्छुक संस्था नेपाल छापाखाना तथा सञ्चार सम्बद्ध श्रमिक संघले आज यहाँ आयोजना गरेको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठीमा उनले पार्टी रूपान्तरणका लागि गुटहरू भत्काउनुपर्ने बताएका हुन् ।

‘कांग्रेसलाई सुधार्नका लागि सबै गुटहरू भत्काउनुपर्छ, कांग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेबीच प्रतिस्पर्धा हुनुपर्छ’, उनले भने । उनले कांग्रेसले युवालाई भविष्यप्रति आशावादी बनाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । कांग्रेस बनाउने जिम्मा कांग्रेसको काँधमा आएको उनको भनाइ थियो ।

‘कांग्रेसले आजका दिनमा कुशासन, बेथिति र भ्रष्टाचार म हटाउँछु, मुलुकलाई आजभन्दा भोलि राम्रो बनाउँछु, राम्रो अवसर दिन्छु भनेर आश्वस्त पार्न सक्नुपर्छ’, महामन्त्री थापाले भने । कांग्रेस कमजोर नभएको र पुनः निर्माण सम्भव भएको उनको भनाइ थियो ।

प्रतिक्रिया