असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले यस वर्षदेखि राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्, ‘ शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको प्रस्तावमा अबदेखि प्रत्‍येक वर्ष असोज २ गते शिक्षा दिवस मनाउने मन्त्रिपरिषदले निर्णय गरेको छ ।’

२०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइन्थ्यो । ०६२–०६३ को परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ मा मनाउने गरिएको थियो ।

बैठकले शिक्षा क्षेत्रकै लागि १२० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा र १९.७० मिलियन अमेरिकी डलर अनुदान सहायतासमेत स्वीकार गर्ने निर्णय गरेको छ ।

विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि विश्वव्यापी साझेदारीबाट प्राप्त १९.७० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने अर्थ मन्त्रालयको प्रस्ताव बैठकले स्वीकार गरेको हो ।

प्रतिक्रिया