सिस्ने गाउँपालिकाद्वारा किसानलाई हाते ट्याक्टर वितरण

रुकुम पूर्व । सिस्ने गाउँपालिकाले किसानलाई हाते ट्याक्टर (मिनी पावर टिलर) वितरण गरेको छ । ८० प्रतिशत अनुदानमा पाचँ जना किसानलाई हाते ट्याक्टर वितरण गरिएको कृषि शाखाले जनाएको छ ।

सोमबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले र प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाहले किसानलाई ट्याक्टर वितरण गरेका हुन् ।

चालु आर्थिक वर्ष २०७९–०८० को वार्षिक स्वीकृत कार्यक्रमबाट किसानलाई ट्याक्टर वितरण गरिएको कृषि शाखा प्रमुख दिनेश ओलीले जानकारी दिए । गाउँपालिका भित्रका ५, ६ र ८ नम्बर वडाका पाचँ कृषि फर्मलाई ट्याक्टर वितरण गरिएको उनले बताए ।

किसानको माग र आवश्यकताको आधारमा कृषि प्रविधि वितरण गरिएको ओलीले बताए । उनका अनुसार ५ नम्बर वडाका शैलेन्द्र कृषि फर्म र विमल स्थानीय तरकारी तथा नर्सरी फर्म, ६ नम्बर वडाका सावित्रा बहुउदेश्यीय कृषि तथा पशुपन्छी फर्म र जस्विन कृषि फर्मलाई ट्याक्टर वितरण गरिएको छ ।

यस्तै ८ नम्बर वडाको विशाल स्याउ फर्मलाई पनि हाते ट्याक्टर वितरण गरिएको छ । उक्त फर्महरुलाई ५ देखि ७ हर्ष पावर क्षमताका ट्याक्टर वितरण गरिएको हो । ७५ देखि ८६ हजारसम्म बजार मूल्य रहेका ट्याक्टर किसानले अनुदानमा पाएका हुन् । २० प्रतिशत लगानी किसानको छ ।

झण्डै एक लाख रुपैयाँ पर्ने ट्याक्टर किसानले १५ देखि १७ हजार मूल्यमा पाएका छन् । कृषि यान्त्रिकीकरण गर्दै उत्पादन बढाउने र लागत घटाउने उदेश्यले किसानलाई अनुदानमा प्रविधि हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष रेग्मीले बताए । आधुनिक प्रविधिको प्रयोगले बाँझो जमिन खाद्यान्न उत्पादन भई हरियाली हुने उनले विश्वास व्यक्त गरे ।

प्रविधिको प्रयोगले कृषि उत्पादन बढ्ने उपाध्यक्ष रेउलेले बताए ।प्रविधिको भरपुर सदुपयोग गर्न उनले किसानलाई आग्रह गरेका छन् । जमिन जोत्न छिटो र सहज हुने भएपछि यहाँका किसानहरु प्रविधितर्फ आकर्षित हुन थालेका छन् ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया