‘लम्पी स्किन’ रोगले किसान चिन्तित

दैलेख । ‘लम्पी स्किन’ रोगका कारण किसानहरू चिन्तित छन् । पछिल्लो समय यस रोगले महामारीको रूप लिने संकेत देखिन थालेपछि दैलेखका किसानहरू चिन्तित बनेका हुन् । कर्णालीका सात जिल्लामा गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ नामक रोग फैलिएको छ । सुरुमा गाई र गोरुमा मात्रै देखिएको ‘लम्पी स्किन’ पछिल्लो समय भैँसीमा समेत देखिएको छ । कर्णालीका १० जिल्लामध्ये सात जिल्लामा यो रोग महामारीका रूपमा फैलिरहेको छ । दैलेख, सुर्खेत, जाजरकोट, सल्यान, रुकुम पश्चिम, कालिकोट र हुम्लामा ‘लम्पी स्किन’को प्रकोप देखिएको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । यसमध्ये पनि सबैभन्दा बढी सल्यान र दैलेख जिल्ला प्रभावित बनेको छ । हुम्लामा पनि पछिल्लो चरणमा यो रोग देखिएको जानकारी आएको छ । संक्रामक यो रोगका कारण किसानले पालेका दुधालु गाई र भैँसी बिरामी पर्ने गरेका छन् । कतिपय ठाउँमा चौपाया मरेको रिपोर्ट मन्त्रालयमा आएको जनाइएको छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय, दैलेख अनुसार दैलेखका ११ वटै पालिकामा यसको प्रकोप देखिएको छ । जिल्लाको नौमुले, भगवतीमाई, महाबु, भैरवी, डुंगेश्वर गाउँपालिका नारायण नगरपालिका, दुल्लु नगरपालिकामा रोगको प्रकोप अत्यधिक बढेको छ । रोगको प्रकोप बढ्दै गएकोले यसको नियन्त्रण गर्नको लागि विभिन्न पालिकाका प्रमुख र प्राविधिकहरू यसबारेमा जानकारी गराउँदै यसको नियन्त्रणको लागि प्राविधिकहरूलाई सम्बन्धित क्षत्रमा पठाउने तयारी भएको पशु अस्पताल दैलेखका प्रमुख भीमबहादुर विष्टले बताए । ‘लम्पी स्किन’ रोग क्याप्रिपक्स भाइरसका कारण गाईभैँसीमा लाग्ने संक्रामक रोग हो । यस रोगका मुख्य लक्षणमा घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा गिर्खा देखिन्छन् । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, कचेरा र सिँगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने, बाँझोपन हुने र गर्भ तुहिने सम्भावना बढी रहने पशु चिकित्सक बताउँछन् ।

चिकित्सकका अनुसार पशुले घाँस पानी नखाने, नाक, खुट्टा सुन्निने र पशु हिँडडुल गर्न नसक्ने यसका लक्षण हुन् । पशुहरू दुब्लो हुने, निमोनिया हुने र छालामा धब्बा वा प्वाल हुने गर्दछन् । विशेष गरी यो रोग लामखुट्टे, टोक्ने झिँगा, किर्ना आदिको टोकाइबाट बढी सर्ने गर्छ । यस रोगका कारण दूध उत्पादनमा ८० प्रतिशत ह्रास आउने आँकलन गरिएको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विज्ञ टोली फिल्डमा खटिरहेको र त्यसको यथेष्ट रिपोर्टपछि भ्याक्सिन खरिदका लागि पहल थालिने जनाएको छ । दैलेखका स्थानीय तहहरूले यसबारेमा आमपशुपालक किसानलाई सचेतनामूलक सूचना जारी गर्दै यसबारेमा सचेत रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया