किसानलाई चार हजार केजी मकैको बिउ वितरण सुरु

रुकुम पूर्व । सिस्ने गाउँपालिकाले चार हजार केजी मकैको बिउ वितरण सुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बिउ वितरण कार्यको शुभारम्भ गरेका हुन् । रेग्मीले गाउँपालिका केन्द्र समेत रहेको ५ र ६ नम्बर वडाका किसानलाई बुधबार बिउ वितरण गरेका हुन् ।

मकै उत्पादनमा वृद्धि गर्न कृषकलाई नयाँ प्रजातिको बिउ वितरण सुरु गरिएको कृषि शाखा प्रमुख दिनेश ओलीले जानकारी दिए । गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम र किसानको मागबमोजिम गाउँपालिकाले उन्नत जातको बिउ वितरण गर्न थालेको छ ।

बिउ वितरण गर्न किसानबाट निवेदन संकलन गरिएको थियो । किसानले दिएका निवेदनको आधारमा बिउ खरिद गरी वितरण सुरु गरिएको कृषि शाखा प्रमुख ओलीले जानकारी दिए । उनका अनुसार कृषकलाई ८० प्रतिशत अनुदानमा ‘मनकामना’ प्रजातिको बिउ वितरण सुरु गरिएको छ ।

अहिले गाउँपालिकाबाट मकैको बिउ धमाधम वितरण भइरहेको छ । पालिकाको केन्द्र रुकुमकोटका दुई वडाका लागि एक हजार ८ सय ३३ केजी बिउ वितरण गर्न थालिएको छ । बाकी वडामा सम्बन्धित वडा कार्यालयबाट बिउ वितरण हुनेछ ।

जसको लागि १ नम्बर वडाबाहेक अन्य सबै वडामा बिउ पठाइसकिएको छ । १ र २ नम्बर वडाको लागि २ नम्बर वडाको केन्द्र नायगाडमा बिउ पठाइएको कृषि नायव प्राविधिक सहायक दिपक विष्टले जानकारी दिए । दुई वडाको लागि त्यहाँ ७३० केजी बिउ पठाइएको छ ।

विष्टले दिएको जानकारी अनुसार ३ नम्बर वडामा २०० केजी, ४ नम्बर वडामा ८३५ केजी, ७ नम्बर वडामा ३३० केजी र ८ नम्बर वडामा ८२ केजी बिउ पठाइएको छ । पालिभरका झण्डै एक हजार किसानले बिउ मागको निवेदन दिइएका थिए ।

माग गरेका सबै किसानलाई बिउ उपल्बध गराउने गाउँपालिकाले जनाएको छ । हाल प्रति किसान ५ देखि १५ केजीसम्म बिउ वितरण भइरहेको छ । पालिकाभरका अधिकांश क्षेत्रमा मकै खेती हुँदै आएको छ । तर, परम्परागत बिउ भएका कारण कृषकले चाहेजस्तो मकै उत्पादन गर्न सकेका छैनन् ।

उत्पादन बढाई मकैमा सिस्ने गाउँपालिकालाई आत्मनर्भर बनाउन पालिकाले उन्नत जातको बिउ वितरण गर्न सुरु गरेको हो । गाउँपालिकाले समयमै बिउ उपलब्ध गराएको भन्दै किसानहरु खुसी भएका छन् ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया