नगरपालिका आफैँले खुला ठाउँमा जलाउँछ फोहोर

रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगरपालिकाले बजार क्षेत्रमा संकलित फोहोर खोलामा बगाउँदै तथा बजार क्षेत्रमै जलाउँदै आएको छ । डम्पिङ साइटको व्यवस्था नहुँदा पालिकाले फोहोर व्यवस्थापनका लागि नगर अस्पताल नजिकै जलाउँदै, ठुलीभेरी नदी र स्थानीय गिजागाड खोलामा फोहोर बगाउँदै आएको हो ।

लाखौँ रुपैयाँ खर्च गरेर गिजागाड खोला नजिकै बनाइएको डम्पिङ साइट प्रयोगमा नआउँदा बजारबाट संकलित फोहोर नगरपालिका आफैँले बजार छेउमा जलाउँदै नदी÷खोलामा फाल्दै आएको छ । आठबिसकोट नगरपालिकाको केन्द्रसमेत रहेको वडा–९ को राडीर वडा–११ को सिम बजारका विभिन्न ठाउँबाट संकलित सबै फोहोर जथाभावी फाल्ने गरिएको छ । डम्पिङ साइटका लागि पालिकाले १३ सय १० बर्ग मिटर राजस्वसहित १७ लाख रुपैयाँमा चार वर्ष पहिले खरिद गरेको थियो ।

नगरपालिका आफैँले फोहोर व्यवस्थापन गर्न नसक्दा स्थानीयवासीले पनि घरघरमा संकलन गरेको फोहोर मनोमानी ढंगले खोला र सडक छेउको नालामा फाल्दै आएका छन् । २२ लाख १७ हजार लागतमा ०७६ सालमै डम्पिङ साइट र ३३ लाख ९६ हजार ६ सय २७ रुपैयाँमा रिटेनिङ वालअन्तर्गत समितिमार्फत उक्त निर्माण कार्य सम्पन्न भइसकेको छ ।

तर, निर्माण भएको डम्पिङ साइट प्रयोगमा नआउँदा फोहोर व्यवस्थापनको लागि डम्पिङ साइटको व्यवस्था नहुँदा खोलामा बगाइएको र बिभिन्न ठाउँमा थुपारिएको फोहोरले बजार क्षेत्र दुर्गन्धित हुँदै गएको छ । आठबिसकोट नगरपालिकाले बनाएको ल्यान्डफिल्ड फोहोरफाल्नकै लागि प्रयोगमा नआउने भएको छ । सो ठाउँको नजिकै विद्यालय भवन रहेको र नगरपालिकाको भवनसमेत सोही ठाउँमा बन्ने भएकाले त्यसलाई अन्य प्रयोगमा ल्याइने तर के लागि प्रयोगमा ल्याउने भन्ने निर्णण भइनसकेको र फोहोर व्यवस्थापनकै लागि उपयुक्त ठाउँ हेर्दै गरेको नगरपालिकाले जनाएको छ ।

खुला क्षेत्रमा फोहोर जलाउँदा÷फाल्दा सडकमा पैदल हिँड्दा फोहोरको गन्धले नाक थुनेर हिँड्ने अवस्था आएको स्थानीय बासिन्दा बताउँछन । लाखौँ खर्चेर चार वर्ष पहिले निर्माण भएको डम्पिङ साइटमा फोहोर व्यवस्थापन गर्न नसक्नुको कारण नगरपालिकाको लापरबाही भएको छ । यहाँका बासिन्दा फोहोर नहरमा बगाउँदा र जथाभावी थुपार्दा दुर्गन्ध फैलने र जलाउँदा वायुप्रदषणको असर खेप्न बाध्य छन् । दिनहुँ खोलामा फोहोर फाल्दा यस क्षेत्रको वातावरण दुर्गन्धित हुनाका साथै खोला किनार, सडक छेउमा फोहोरको थुप्रोसमेत बढ्दै गएको छ ।

तर, जनताको चासो अहिलेको रकमको खर्च अनुसारकै प्रयोगमा आउँछ कि थप रकम खर्च गरेर नयाँ प्रयोजनमा आउँछ त्यो भने हेर्न बाँकी छ । नगरपालिकाले आफैँ खुला क्षेत्रमा फोहोर फाल्ने, जलाउने गरेपछि यहाँका बजारबासीसमेत आफूखुसी पुलबाट फोहोर फाल्ने, नहरमा बगाउने र जथाभावी थुपार्दै आएका छन् । ‘स्वस्थ सफा’ नगरको नारालाई समेत फोहोरले लत्याएर राडीबजार प्रदूषित बन्दै गएको छ ।

पालिकाले फोहोर व्यवस्थापन नगर्दा बजारको विभिन्न क्षेत्र, किसानको खेतबारीमा थुप्रिँदै आएको छ । निर्माण भएको डम्पिङ साइट प्रयोगमा नआउने भएपछि बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि उचित जग्गा खोजिरहेको र त्यसपछि मात्र फोहोरको उचित व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया