लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीले गरे दाबी पेश

लुम्बिनी । नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आज दाबी पेश गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम उहाँले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

नेकपा (एमाले) नेतृत्वको सरकारका मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट गत सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुखले मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले आज अपराह्न ४ बजेसम्म उपधारा २ बमोजिम सरकार गठन हुने विश्वासिलो आधारसहित आउन दललाई आह्वान गरेका छन् । कांग्रेस र माओवादी केन्द्रसहित आठ दल र एक स्वतन्त्र गरी ५३ सांसदले चौधरीलाई संविधान बमोजिम मुख्यमन्त्री नियुक्त गर्न निवेदन दिएका थिए ।

प्रदेश प्रमुखले तोकेको समय सीमाबमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न नेपाली कांग्रेससहित गठबन्धन दलका सदस्यले सरकारको दाबी पेश गरेका हुन् ।

उनलाई मुख्यमन्त्री नियुक्ति गर्न नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) को समर्थन छ ।

कुल ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११ सदस्य छन् । साथै राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार–चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन–तीन, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एक र एक स्वतन्त्र सदस्य छन् ।

प्रतिक्रिया